५९ लाख ७० हजार पुगे स्वास्थ्य बिमामा आबद्ध हुने बिमित

स्वास्थ्य बिमा कार्यक्रम ७७ वटै जिल्लाका ७५० स्थानीय तहमा विस्तार भएको छ ।

चैत्र २५, २०८२

आरती पौडेल

The number of people joining health insurance has reached 5.97 million.

काठमाडौं — स्वास्थ्य बिमामा आबद्ध हुने बिमितको संख्या ५९ लाख ७० हजार पुगेका छन् ।

स्वास्थ्य बीमा बोर्डले बिमा दिवसका अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा बिमितको संख्या ५९ लाख ७० हजार पुगेको जाकारी दिइएको हो । 

स्वास्थ्य बिमा कार्यक्रम ७७ वटै जिल्लाका ७५० स्थानीय तहमा विस्तार भएको छ । साथै, हाल ५०५ वटा स्वास्थ्य सेवा प्रदायक संस्थाहरूले कार्यक्रमसँग आबद्ध रहेको बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले जनाएका छन् । 

बोर्डका अनुसार चालु आर्थिक वर्षमा १३ अर्ब रुपैयाँ भुक्तानी भइसकेको छ । त्यस्तै, चालु आर्थिक वर्षको अत्यसम्म २५ अर्ब रुपैयाँ आवश्यक पर्ने कार्यकारी निर्देशक पौडेलले जनाएका थिए । 

कार्यक्रममा बिमालाई व्यवस्थित र दिगो बनाउन सहकार्य अपरिहार्य भएको रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहले जनाएका छन् । उनले सामाजिक स्वास्थ्य सुरक्षा कार्यक्रमलाई एकद्धार प्रणालीमार्फत सञ्चालन गर्ने विषयमा प्रतिबद्धता पनि जनाए । 

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन सबै पक्षको समन्वय आवश्यक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डिल्लीराम शर्माले जनाएका थिए । 

यस्तै, कार्यक्रममा स्वास्थ्य बिमा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापा क्षेत्रीले पहुँच र सेवा उपयोगिताका हिसाबले कार्यक्रम सफल भए पनि वित्तिय रुपमा चुनौतीपूर्ण रहेको उल्लेख गरे ।

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully