सुकुम्वासी र भूमि समस्या समाधान गर्न शक्तिशाली आयोग गठनको तयारीमा सरकार

सर्वोच्च अदालतले १५ मंसिर २०८२ मा सुनाएको फैसलाले भूमिसहित सुकुम्वासी समस्या समाधानमा बाधा पुगेको दाबी गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधबार सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गराएको हो ।

चैत्र २५, २०८२

दुर्गा दुलाल

Government preparing to form a powerful commission to resolve squatter and land issues

What you should know

काठमाडौं — सर्वोच्च अदालतले १५ मंसिर २०८२ मा सुनाएको फैसलाले भूमिसहित सुकुम्वासी समस्या समाधानमा बाधा पुगेको दाबी गर्दै वालेन्द्र शाह नेतृत्वको सरकारले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका तर्फबाट सचिव मदन भुजेलले बुधबार सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गराएका हुन् ।

२३ असोज २०८२ मा सुशीला कार्की नेतृत्वको सरकारले तत्कालीन सुकुम्वासी समस्या समाधान आयोग र जिल्ला संरचना खारेज गर्ने निर्णय गरेको थियो । उक्त आयोग कार्यकर्ता भर्तीकेन्द्र बनेको र आर्थिक अनियमिततामा संलग्न भएको उजुरी मन्त्रालयमा परेपछि तत्कालीन भूमि सुधारमन्त्री अनिलकुमार सिन्हाले खारेज गर्ने प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेका थिए । सरकारको निर्णयविरुद्ध  आयोगका तत्कालीन अध्यक्ष हरिप्रसाद रिजालसहित ७ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमा सुरुमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो । गत १५ मंसिरमा न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले 'भूमि समस्या समाधान आयोग तथा त्यसअन्तर्गतका जिल्ला समिति, पदाधिकारी तथा कर्मचारीलाई यथावत रुपमा नेपालको संविधान, प्रचलित कानुन र गठन कार्यादेशको परिधिभित्र रही पारदर्शी र प्रभावकारी रूपमा कार्य सम्पादन गर्न दिनु' भनी परमादेश जारी गरेको थियो ।

सर्वोच्चको उक्त फैसलाले आयोग पुनर्स्थापित गरी काम गर्नुपर्ने भएपछि नयाँ मन्त्रीका रूपमा आएलगत्तै प्रतिभा रावलले पुनरावलोकनमा जान सचिव भुजेललाई निर्देशन दिएकी थिइन् । उनले रास्वपाको वाचापत्र, सरकारको १०० बुँदे कार्यसूची र सुशासन मार्गचित्रअनुसार पुरानै स्वरूप र पदाधिकारीलाई जिम्मेवारी दिएर काम गर्न नयाँ जनादेशपछिको सरकारले नसक्ने भएकाले पुनरावलोकनको तयारी गर्न भूमि, कानुन र महान्यायाधिवक्ता कार्यालयको टोली गठन गरेकी थिइन् ।

उक्त टोलीले तयार गरेको पुनरावलोकन निवेदनमा सर्वोच्चले गरेको यसअघिको फैसला बदर भई निस्सा पाउनुपर्ने दाबी गरिएको छ । सर्वोच्चले निस्सा प्रदान गरेमा नयाँ सरकारले यो समस्या समाधानका लागि एक शक्तिशाली आयोग वा प्राधिकरण गठन गर्ने भूमि सुधार मन्त्रालयले जानकारी दिएको छ ।

‘भूमि समस्या समाधान आयोगको पुनर्संरचनामार्फत भूमिहीन दलित, भूमिहीन सुकुम्वासीलाई जग्गा उपलब्ध गराउन र अव्यवस्थित बसोबासलगायत संविधानले सुनिश्चित गरेका अन्य विषयलाई व्यवस्थित गर्ने कार्यमा बृहत् लक्ष्य राखी दिगो समाधानको बाटोमा अघि बढिरहेको छ,’ निवेदनमा भनिएको छ, ‘मौलिक हक कार्यान्वयनसम्बन्धी कानुनको तर्जुमा, जग्गाको नाप-नक्सा, अभिलेखीकरण र वितरणसम्बन्धी समस्याको दिगो समाधान गर्न एक शक्तिशाली आयोग/प्राधिकरण गठन गर्न, सार्वजनिक, सामुदायिक र सरकारी जग्गा, संरचना, सम्पदा, वन क्षेत्र, निकुञ्ज आदिको अनधिकृत भोग तथा अतिक्रमणलाई नियन्त्रण र निरुत्साहित गरी उक्त क्षेत्रको संरक्षण, संवर्धन र व्यवस्थापन गर्न उल्लेखित कानुनहरूको प्रभावकारी कार्यान्वयन आवश्यक भएकाले फैसला पुनरावलोकन हुनु पर्नेछ ।’

भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ खारेज गर्दै परिवर्तित सन्दर्भअनुसार कानुनी तथा संरचनागत संयन्त्र निर्माण गर्न, प्रचलित कानुनी व्यवस्थाको अवलम्बन र कार्यान्वयन गर्न तथा भूमि समस्यालाई दीर्घकालीन रूपमा दिगो समाधान गर्न यसअघिको फैसला बदर हुनुपर्ने निवेदनमा जिकिर गरिएको छ ।

सरकारले शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीको बुँदा ९१ र ९२ समेत निवेदनसँगै पेश गरेको छ ।

मन्त्रिपरिषद्ले १३ चैतमा पारित गरेको उक्त कार्यसूचीमा देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको एकीकृत डिजिटल लगत संकलन तथा प्रमाणीकरण ६० दिनभित्र सम्पन्न गर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी, १०० दिनभित्र समस्या समाधान गर्न स्थानीय तहको समन्वयमा घरपरिवार सर्वेक्षण सञ्चालन गर्ने, वास्तविक लाभग्राही पहिचानका लागि स्पष्ट मापदण्ड लागू गर्ने, सार्वजनिक, ऐलानी तथा गुठी जग्गाको अभिलेख अद्यावधिक, नक्सांकन तथा जियोग्राफिक इन्फर्मेसन सिस्टममा आधारित डेटाबेस तयार गर्ने उल्लेख गरिएको छ ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully