१३ वर्ष जेल बसेका दीपबहादुर चेपाङ अनाहकमा थुनिए थप ६१ दिन

गैंडासम्बन्धी मुद्दामा १३ वर्ष जेल बसेका चिप्लेटीका दीपबहादुर सर्वोच्च अदालतको आदेशपछि ६१ दिन ढिला गरी रिहा भए।

चैत्र २५, २०८२

रमेशकुमार पौडेल

Deep Bahadur Chepang, who spent 13 years in prison, was unjustly detained for another 61 days

What you should know

चितवन — १३ वर्ष जेल सजाय पूरा गरेपछि गएको माघ २ मा कारागारमुक्त हुने पक्का थियो । तर उसै दिन थप सात वर्ष कैद बस्नु पर्ने भनिएपछि चितवन कोराक चिप्लेटीका दीपबहादुर प्रजा चेपाङ रुन मात्रै सकेनन् । यो विषय सर्वोच्च अदालत पुगेपछि दीपबहादुरको पक्षमा आदेश आयो । जसका कारण छुट्नुपर्ने दिनभन्दा ६१ दिनपछि चैत ३ गते उनी कारागारबाट रिहा भए । 

चितवन सदरमुकाम भरतपुरदेखि पूर्वमा छ खुरखुरे बजार । भरतपुरबाट करिब २० किलोमिटर दूरीमा रहेको पूर्वपश्चिम महेन्द्र राजमार्गआडको खुरखुरेदेखि उत्तरमा पर्छ राप्ती नगरपालिका–१० मा पर्ने कोराकको चिप्लेटी गाउँ । पहाडी भेग कोराकको तल्लो खण्डमा पर्ने चिप्लेटी पुग्ने बेलामा जंगल क्षेत्र आउँछ । जंगलपारिको गाउँका केही युवा कुनै बेला गैंडासम्बन्धी मुद्दामा परेका थिए । चिप्लेटी, त्यसपछिको समिटार र नजिकैको कालीखोला क्षेत्रबाट विगतमा गैंडा सिकारमा संलग्न रहेको आरोपमा केही व्यक्ति धमाधम समातिएका थिए ।

समातिएकाहरू छुट्न पनि सुरु भएका छन् । गैंडा मुद्दामा १३ वर्ष कारागार र ८० हजार रुपैयाँ जरिवानाको सजाय पाएका चिप्लेटीका दीपबहादुर सजाय पूरा गरेर गएको माघ २ गते रिहा हुँदै थिए । छुट्ने बेलामा कारागार प्रशासनले जिल्ला वन कार्यालय चितवनका थप दुई वटा मुद्दामा उनलाई कारागार बस्नुपर्ने खबर सुनायो । विस २०६९ को माघे संक्रातिका दिन पक्राउ परेका दीपबहादुर चितवन कारागार, नवलपरासीको परासी कारागार हुँदै डेढ वर्षअघि नुवाकोट कारागार पुगेका थिए ।

दीपबहादुरमाथि गैंडा मारेर खाग बिक्री गरेको आरोपमा चितवन राष्ट्रिय निकुञ्जले तीन वटा मुद्दा लगाएको थियो । दुई वटा मुद्दामा १५/१५ वर्ष कैद र एउटा मुद्दामा १३ वर्ष कैद र ८० हजार रुपैयाँ जरिवाना तय भएको थियो । निकुञ्जले लगाएकामध्ये १५/१५ वर्ष कैद हुने दुई वटा मुद्दामा सर्वोच्च अदालतले दीपबहादुरलाई सफाइ दियो । अर्को मुद्दाको कैद र जरिवाना कायमै रहयो । तर दीपबहादुर कुनै पनि घटनामा आफू संलग्न नभएको दाबी गर्छन् । उनी विस २०६३ माघ १० मा रोजगारीका लागि साउदी अरब गएका थिए । 

परिवारको जेठो छोरा दीपबहादुरको जन्म २०३९ सालमा भएको हो । उनी पहिलो पटक चार वर्ष विदेश बसेर घर फर्केका थिए । त्यसपछि छिटोछिटो आउजाउ गर्न थाले । २०६९ सालमा बिरामी भएर काम गर्न नसक्ने भएपछि घर फर्के । त्यही वर्ष उनी यता पक्राउ परे । ‘मलाई त २०६४/६५ सालतिर भएका घटनामा दोषी बनाएर मुद्दा दायर गरेको रहेछ । म नेपालमै नभएका बेला कसरी गैंडा मार्न जाने ? त्यसैले १५ वर्ष कैद भएको मुद्दामा सर्वोच्चबाट सफाइ पाएँ,’ दीपबहादुरले भने । उनले १३ वर्ष कैद पाएको मुद्दाको घटना भने २०६० सालतिरको हो । यसमा इन्कारी बयान गर्दागर्दै पनि सजाय कायम भएको उनको दाबी छ ।  

२०६० सालको घटनामा संलग्न भएर फरार रहेको भन्दै उनको खोजी भइरहेको थियो । त्यही क्रममा उनी समातिए । कारागार पुगेपछि थाहा भयो उनलाई चितवन जिल्ला वनले पनि दुई वटा मुद्दामा दोषी ठहर गर्दै एउटा मुद्दामा पाँच र एउटा मुद्दामा सात वर्ष कैद सजाय तोकेको रहेछ । वनले पनि दीपबहादुरलाई फरार सूचीमै राखेको थाहा भयो । त्यसपछि उनका कान्छा भाई अर्जुन जिल्ला वन गए । ‘म २०७४ सालमा जिल्ला वन गएर दीपबहादुर २०६९ सालदेखि भरतपुर कारागारमा रहेको कुरा गरेपछि कैदी पुर्जी बन्यो । यो भएपछि त उनी फरार रहेका छैनन् भन्ने देखियो । कैदी पुर्जी बनाएकै आधारमा वनको सजाय ८०/८१ सालमै सकियो,’ दीपबहादुरका भाई अर्जुनले भने ।

निकुञ्जले दीपबहादुरलाई पक्राउ गरेकै वर्षदेखि गणना गर्ने हो भने वनको कैद २०७६ सालमै पूरा हुन्थ्यो । उस्तै अपराधमा जति मुद्दा भए पनि कैद सजाय जुन धेरै छ त्यही कायम हुने प्रावधान छ । जिल्ला वनले दुई वटा मुद्दा लगाएर पाँच वर्ष र सात वर्ष कैद फैसला सुनाएको थियो । कानुन अनुसार वनको मुद्दामा दीपबहादुर सात वर्ष कैद बसे पुग्थ्यो । अझ चितवन निकुञ्जले पनि उहीखाले अपराधमा सजाय गरेको थियो । त्यसैले गएको माघ २ गते जेलबाट छुट्नेमा दीपबहादुर ढुक्क थिए । ‘तर २०७४ सालमा जिल्ला वनले कैदी पुर्जी बनाउँदा थुनामुक्त भए पश्चात गणना हुने गरी छोडिदिनु भन्ने रहेछ । त्यसको आधारमा माघ २ गते निकुञ्जको कैद पूरा भए पनि त्यसपछि वनको कैद सुरु हुने अर्थ लगाइयो,’ दीपबहादुरले भने । 

यो खबर चिप्लेटीमा रहेका भाई अर्जुनले थाहा पाएपछि उनी दाई भेट्न गए । यसमा अदालतबाट अर्को आदेश नआएसम्म केही गर्न नसक्ने जवाफ पाएपछि भाई अर्जुनले काठमाडौंमा वकिल खोज्न थाले । वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले दीपबहादुरको लागि मुद्दा लड्ने भए । दीपबहादुरको रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दर्ता भयो । 

फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ र त्यस अघिको पुरानो मुलुकी ऐनसँग पनि नमिल्ने प्रावधान अनुसार दीपबहादुरलाई थप थुनामा राख्न नमिल्ने जिकिर गरिएको वरिष्ठ अधिवक्ता घिमिरेले बताए । फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा ३६ मा विभिन्न कसुरमा भएको कैद सजायको कार्यन्वयन कसरी गर्ने भन्ने बारेमा व्यवस्था छ । 

दफा ३६ को १ मा सजाय पाएर कैद भोगिरहेका व्यक्तिलाई एकभन्दा बढी कसुरवापत कैद सजाय गर्नु पर्दा पहिले भएको फैसला बमोजिमको सजायको अवधि पछिल्लो फैसलाको भन्दा बढी वा बराबर भएमा पहिलेको सजाय कार्यान्वयन गर्नुपर्ने प्रावधान छ । त्यसैगरी पछि भएको सजायको अवधि पहिलेको भन्दा बढी भएमा पछिल्लो कैदको सजायको अवधि जति बढी हुन्छ सोही अवधिसम्म थप गर्नुपर्ने उल्लेख छ । यो व्यवस्थाले दीपबहादुरको हकमा निकुञ्जले गरेको कैद सजायबाहेक अरु सजाय नहुने जिकिर कानुन व्यवसायीहरूको थियो । अदालतले त्यही अनुसार आदेश गर्‍यो ।

सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाको चैत २ को आदेश अनुसार नुवाकोट कारागारले चितवन जिल्ला वन र चितवन निकुञ्जमा चलेको तीन वटै मुद्दामा दिफबहादुरलाई चैत ३ मा कैदमुक्त गरेको हो । कैदमुत्त हुनुपर्नेभन्दा ६१ दिन ढिला छुटेका दीपबहादुर अहिले घरमा छन् । नुवकोट कारागारका कारागार प्रशासक भेषबहादुर कुँवरले वन कार्यालयको पत्रको विवरणका कारण दीपबहादुरलाई तत्काल छोड्न नमिलेको बताए । ‘नियम अनुसार हुने विषयमा हामीले कुनै कैदीबन्दीलाई किन बढी समय राख्थ्यौं र वनको कैदी पुर्जी नै अरु मुद्दामा थुना मुक्त भएपछि थप राख्ने भन्ने थियो । त्यसलाई अदालतले सच्याएपछि उनी रिहा भएका हुन्,’ कुँवरले भने । 

१५ वर्षे जेल सजाय पूरा भयो, ११ लाख जरिवाना तिर्न नसकेर जेलमै  
दीपबहादुर प्रजा चेपाङको घर र काजीमान प्रजा चेपाङको आँगन नै जोडिएको छ । दुवै जनालाई गैंडा सम्बन्धी मुद्दा लाग्यो । काजीमानलाई त नौ वटा मुद्दा लाग्यो । उनलाई यी मुद्दाहरूमा गैंडा मुद्दामा हुने अधिकतम कैद सजाय १५ वर्ष तय भएको छ । विभिन्न मुद्दामा गरेर थप १० लाख ९० हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने देखिएको कारागार कार्यालय भरतपुरले जनाएको छ ।

काजीमान दीपबहादुर भन्दा दुई वर्ष पहिल्यै २०६७ फागुनमा पक्राउ परे । ‘चितवन निकुञ्जले गरेको सजाय अनुसार उनको १५ वर्षको कैद अवधि गएको फागुन १५ मा सकियो । तर जरिवाना नतिर्दा उनी कारागारमै छन्,’ भरतपुर कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले भने । काजीमानकी श्रीमती डिलमाया प्रजा चेपाङ जरिवाना तिर्ने कुनै उपाए नभएको बताउँछिन् । 

चितवन निकुञ्जले काजीमानसँगै डिलमायालाई पनि पक्राउ गरेको थियो । निकुञ्जले उनलाई १० वर्ष कैद गरेको थियो । तर सर्वोच्च अदालतले त्यसलाई पाँच वर्षमा झारेपछि उनी रिहा भएकी थिइन् । ‘छोराछोरी सानै थिए । घरमुली र म पनि समातियौं । मुद्दा मामिला गर्दा खर्च भयो । पुरानो ऋण त तिर्न सकेको छैन । अब जरिवाना कसरी तिर्ने ?’ डिलमायाले भनिन् ।

काजीमानलाई निकुञ्जले गैंडा सिकारका संलग्न भएको दाबी गरेको छ । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको थियो । ‘घर छाडेर कता कता बस्थे हामीलाई थाहा थिएन । त्यत्रो गैंडा मारेको खाग बेचेको भन्छन् हामीले केही देखेको हैन । कैद त पूरा गरे तर जरिवाना तिरेर छुटाउने उपाय छैन,’ उनले भनिन् ।

डिलमाया र काजीमानका दुई छोरा र एक छोरी छन् । छोरीको बिहे भएको छ । छोराहरू काम गर्न विदेश गएका छन् । छोराहरूले विदेशमा कमाए भने त्यही पैसाले जरिवाना तिर्ने डिलमाया बताउँछिन् । भरतपुर कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाले एक दिन कारागार बस्दा तीन सय रुपैयाँका दरले कटौती हुने बताउँछन् । जरिवाना नतिरी कारागार बसे काजीमान थप १० वर्ष छुट्ने छैनन् ।

जरिवाना नतिरे पनि १० वर्षभन्दा बढी कारागार राख्न नपाउने कानुनी व्यवस्था रहेको छ । ‘गैंडा मुद्दामा विगतका वर्षमा चेपाङ समुदायका व्यक्तिहरू धेरै नै कारागार पुगे । उनीहरू सजाय पूरा गरेर निस्कने बेलामा पनि परेका अप्ठ्याराहरू के हुन् ? हामी हेर्न बुझ्न लाग्दैछौं । गैंडा मारेर कसले कमायो थाहा भएन तर पक्राउ परेका चेपाङले धेरै कुरा गुमाएको छ,’ नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले भने ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully