सन्तुलित र व्यवहारिक परराष्ट्र नीतिलाई निरन्तरता दिइने छ : प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले बुधबार सिंहदरबारमा राजदूतहरूसँग सामूहिक भेटका छन् ।

चैत्र २५, २०८२

राजेश मिश्र

Balanced and pragmatic foreign policy will be continued: Prime Minister

What you should know

काठमाडौँ — प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले सन्तुलित र व्यवहारिक परराष्ट्र नीतिलाई निरन्तरता दिने बताएका छन् । विश्व कुटनीतिमा शान्ति साझा प्राथमिकता हुनुपर्ने विषयलाई उनले जोड दिएका हुन् ।

काठमाडौंस्थित विभिन्न देशका राजदूत तथा कुटनीतिक नियोगका प्रमुखहरूसँग बुधबार भएको सामूहिक भेटमा प्रधानमन्त्री शाहले छिमेकी, मित्रराष्ट्र तथा विकास साझेदारहरूसँग विश्वास, आपसी सम्मान र साझा समृद्धिमा आधारित सम्बन्ध सुदृढ बनाउनेमा जोड दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सबै देशका राजदूतहरूसँग शाहले एकैसाथ भेटेका हुन् ।

१३ चैतमा प्रधानमन्त्री भएपछि उनले पहिलोपटक कुटनीतिक नियोगका प्रमुखहरूलाई भेटका हुन् ।  राजदुतहरूलाई सम्बाेधनका क्रममा उनले विदेशमा रहेका नेपाली कामदार तथा प्रवासी नेपालीहरूको सुरक्षा र हितलाई सरकारले विशेष महत्व दिएको बताएका थिए । उनले मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन सरकार उत्सुक रहेको बताएका थिए ।

नेपाल सरकार सबै देशसँगको सम्बन्धलाई उच्च महत्व दिने, विश्वास गर्ने र पारस्परिक लाभमा आधारित साझेदारी सुदृढ गर्न प्रतिबद्धता रहेको उनले उल्लेख गरे । सरकारले लगानीका लागि अनुकुल वातावरण निर्माण गर्ने, उद्यमशिलतालाई प्रोत्सान गर्ने तथा दिगो विकासलाई समर्थन गर्न प्रतिबद्ध रहेको बताएका थिए ।

भेटमा १७ कुटनीतिक नियोगका प्रमुखहरू उपस्थित थिए । भारत, पाकिस्तान, गणतन्त्र कोरिया, बेलायत, कतार, स्विट्जरल्यान्ड, फ्रान्स, इजरायल, जापान, बंगलादेश, जर्मनी, इजिप्ट, श्रीलंका, साउदी अरेबिया, चीन, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघका प्रतिनिधिहरूको सहभागिता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

राजदूतहरूले प्रधानमन्त्रीलाई बधाईं दिँदै आ-आफ्ना राष्ट्राध्यक्ष र सरकार प्रमुखका तर्फबाट शुभकामना समेत दिएका थिए । नयाँ सरकार र नेपाली जनताको हितमा काम गर्न, सहयोग तथा सहकार्य जारी राख्ने प्रतिबद्धता पनि उनीहरूले व्यक्त गरेका थिए । उक्त भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाह, मुख्यसचिव सुमनराज अर्याल र परराष्ट्र सचिव अमृतबहादुर राईको उपस्थिति थियो ।

राजेश दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय मिश्र कान्तिपुर दैनिकका संवाददाता हुन्। उनी राजनीति, कुटनीति, निर्वाचन प्रणाली र संघीयताका बिषयमा लेख्छन् ।

Link copied successfully