पहिलो चरणको शृंखलामा नेपालले अप्रिल २५ देखि यूएई र ओमानसँग तथा दोस्रो चरणको शृंखलामा मे १२ देखि स्कटल्यान्ड र अमेरिकासँग खेल्नेछ ।
काठमाडौँ — नेपालले अर्को महिना आईसीसी क्रिकेट विश्वकप लिग २ को दुई घरेलु शृंखला खेल्ने भएको छ । पहिलो चरणमा यूएई र ओमान तथा दोस्रो चरणमा स्कटल्यान्ड र अमेरिका लिग २ को शृंखला खेल्न नेपाल आउने नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार जनाएको छ ।
पहिलो चरणको शृंखलामा नेपालले अप्रिल २५ देखि यूएई र ओमानसँग तथा दोस्रो चरणको शृंखलामा मे १२ देखि स्कटल्यान्ड र अमेरिकासँग खेल्नेछ । नेपालले यूएई र ओमान तथा स्कटल्यान्ड र अमेरिकासँग २–२ एकदिवसीय अन्तर्राष्ट्रिय गरी कुल ८ खेल्नेछ । त्यसक्रममा नेपालमा कुल १२ खेल हुनेछ ।
सबै खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछ । नेपालले २०२४–२७ साइकलमा खेल्न लागेको यो दुई अन्तिम घरेलु शृंखला हो । २०२४ को फेब्रुअरीमै नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग कीर्तिपुरमा पहिलो घरेलु शृंखला खेलेको थियो ।
क्यानका अनुसार नेपालले अप्रिल २५ मा यूएई, अप्रिल २९ मा ओमान, मे १ मा यूएई र मे ५ मा ओमानसँग खेल्नेछ । मार्च १० देखि नेपाल, यूएई र ओमानसम्मिलित शृंखला खेल्नेक्रममा थियो । तर मध्यपश्चिमी मुलुकमा भइरहेको तनावका कारण स्थगित भएको यो शृंखला अर्को महिना खेलाउन लागिएको हो । त्यस्तै मे १२ मा स्कटल्यान्ड, मे १६ मा अमेरिका, मे १८ मा स्कटल्यान्ड र मे २२ मा अमेरिकासँग खेल्नेछ ।
लिग २ मा एउटा टोलीले घरेलु मैदानमा १२, अवेमा १२ र तटस्थ भूमिमा गरी कुल ३६ खेल खेल्नुपर्ने तालिका छ । लिग २ का शीर्ष चार टोली अर्को वर्ष हुने एकदिवसीय विश्वकप छनोटमा पुग्ने प्रावधान छ ।
अमेरिका २४ खेलमा ३६ अंक जोडेर शीर्षस्थानमा छ । स्कटल्यान्ड २६ खेलमा ३२ अंकसहित दोस्रो, नेदरल्यान्ड्स २४ खेलमा २८ अंकसहित तेस्रो, ओमान २२ खेलमा २७ अंकसहित चौथो, क्यानडा २४ खेलमा २१ अंकसहित पाँचौं, नामिबिया २६ खेलमा २० अंकसहित छैटौं, नेपाल २० खेलमा १२ अंकसहित सातौं र यूएई २० खेलमा १० अंकसहित आठौं स्थानमा छन् ।
अक्टोबर–नोभेम्बरमा दुबईमा भएको शृंखलामा नेपाली टोली सबै चार खेलमा पराजित भएको थियो । यूएई र अमेरिकासँग २–२ खेलमा पराजित भएपछि नेपालको लिग २ को यात्रा थप संकटमा परेको थियो । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउन नेपाल लिग २ मा कम्तीमा शीर्ष ६ भित्र पर्नुपर्ने हुन्छ ।
