परियोजनाअन्तर्गत ग्रेटर लुम्बिनी क्षेत्र विकासका नाममा बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्त्विक स्थल रहेका रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा विभिन्न काम गरिनेछ ।
काठमाडौँ — सरकारले बृहत्तर लुम्बिनी क्षेत्र विकास परियोजनाको लागि विश्व बैंकबाट ८५ मिलियन अमेरिकी डलरबराबर( करिब १२ अर्ब ६३ करोड नेपाली रुपैयाँ-आजको रेटअनुसार)को सहुलियतपूर्ण ऋण लिने भएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले लुम्बिनी क्षेत्रको बृहत्तर विकासका लागि विश्व बैंकले दिने उक्त ऋण स्वीकार गर्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन् ।
यही मार्च १३ मा अमेरिकाको वासिङ्टन डीसीमा बसेको विश्व बैंकको बोर्ड बैठकले लुम्बिनीलाई आध्यात्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सहुलियत ऋण दिने निर्णय गरेको थियो ।
परियोजनाअन्तर्गत ग्रेटर लुम्बिनी क्षेत्र विकासका नाममा बुद्धसँग सम्बन्धित ऐतिहासिक तथा पुरातात्त्विक स्थल रहेका रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीमा विभिन्न काम गरिनेछ ।
परियोजना सहरी विकास र पर्यटन मन्त्रालयबाट सञ्चालन हुनेछ । सहरी विकासको परियोजना कार्यान्वयन इकाई भैरहवामा रहेको छ । उक्त सहरी विकास तथा भवन कार्यालय र पर्यटन मन्त्रालयको परियोजना कार्यान्वयन इकाई लुम्बिनी विकास कोषमा राखेर काम गरिने तयारी रहेको छ ।
