प्रतिनिधिसभाको शून्य समयमा सांसद क्रान्तिशिखा धितालले मनोसामाजिक स्वास्थ्यमा नीति निर्माण गर्न आग्रह गरेकी हुन् ।
काठमाडौँ — प्रतिनिधिसभा सदस्य क्रान्तिशिखा धितालले मानसिक स्वास्थ्य समस्यालाई गम्भीर रूपमा लिन सरकारसँग आग्रह गरेकी छन् ।
मंगलबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले पछिल्लो राजनीतिक परिवर्तन युवाहरूको आन्दोलनको उपलब्धि भएको उल्लेख गर्दै त्यसका असरहरू अझै समाजमा देखिएको बताइन् ।
उनले आन्दोलनमा सहभागी सहिद परिवार, घाइते, सुरक्षाकर्मी तथा कर्मचारीहरू मानसिक रूपमा प्रभावित हुन सक्ने भन्दै यस विषयलाई नजरअन्दाज गर्न नहुने बताइन् । उनले भनिन्, ‘हामीमध्ये जो कोही पनि मानसिक स्वास्थ्य समस्याबाट प्रभावित हुन सक्छौं, व्यक्तिको पद वा हैसियतले पीडालाई निर्धारण गर्दैन ।’
धितालले मानसिक स्वास्थ्यलाई अझै पनि समाजमा या त समस्या नै नठान्ने वा लुकाउने प्रवृत्ति रहेको उल्लेख गरिन् । उनले मानसिक समस्या झेलिरहेका व्यक्तिहरूले परिवारबाट समेत पर्याप्त साथ सहयोग नपाउने बताइन् ।
स्पष्ट नीति अभाव र जनचेतनाको कमीका कारण समस्या झन् जटिल बन्दै गएको भन्दै उनले राज्यले अब मनोसामाजिक परामर्शदाताको भूमिका र उपयोगिताबारे ठोस नीति निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइन् । धितालले सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउँदै मानसिक स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न आग्रह गरिन् ।
