केएमजीअन्तर्गतका कान्तिपुर पब्लिकेशन्स लिमिटेड र कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड सोसाइटीका संस्थापक सदस्य थिए ।
What you should know
काठमाडौँ — कान्तिपुर मिडिया ग्रुप (केएमजी) नेपाल मिडिया सोसाइटीबाट अलग भएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत महेश स्वाँरले मंगलबार सोसाइटीसँगको आबद्धता अन्त्य गर्ने निर्णय लिएका हुन् ।
केएमजीले २०८२ चैत २४ गतेदेखि लागू हुने गरी सोसाइटीको सदस्यता त्याग गरेको जनाएको छ । सोसाइटीका संस्थापक सदस्यका रूपमा आबद्ध रहँदै आएको केएमजीले पछिल्लो समय सोसाइटीबाट भएका केही निर्णयप्रति असहमति जनाउँदै सदस्यका रूपमा निरन्तर रहन नसकिने निष्कर्षमा पुगेको हो ।
'सरकारी विज्ञापन निजी क्षेत्रका सञ्चारमाध्यमलाई नदिने सरकारको निर्णयविरुद्ध मिडिया सोसाइटीले मुद्दा हाल्ने जुन निर्णय गर्यो, त्यसमा हाम्रो प्रत्यक्ष असहमति छ,' महेश स्वाँरले भने, 'हाम्रो सहमति नहुँदा नहुँदै पनि संस्थाले मुद्दा हाल्ने प्रक्रिया अगाडि बढाएपछि, त्यस्तो अवस्थामा संस्थामा बसिरहनु भन्दा बाहिरिनु नै सही हुन्छ भन्ने ठानेर मैले संस्थागत र व्यक्तिगत रूपमा राजीनामा दिएको हुँ ।'
सरकारले गत १८ गते सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन/प्रसारण गर्न भन्दै परिपत्र जारी गरेको थियो । यस विषयप्रति मिडिया सोसाइटीले असहमति जनाउँदै विरोध गरेको थियो । त्यस्तै, सिइओ स्वाँरले सोही पत्रमार्फत सोसाइटीको कार्यसमिति उपाध्यक्ष पदबाट समेत राजीनामा दिएको उल्लेख गरेका छन् । केएमजी अन्तर्गतका कान्तिपुर पब्लिकेशन्स लिमिटेड र कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड सोसाइटीका संस्थापक सदस्य थिए ।
'पछिल्लो समय सोसाइटीबाट भएका केही निर्णयहरूप्रति हाम्रो संस्थाको असहमति रहेको छ,' राजीनामामा उनले लेखेका छन्, 'यी असहमतिका बाबजुद हामी नेपाल मिडिया सोसाइटीको सदस्यका रूपमा बसिरहन नसक्ने अवस्था भएको हुँदा आजैदेखि लागू हुने गरी सदस्यबाट अलग भएको जानकारी गराउँदछु ।'
केएमजीका कार्यकारी निर्देशक सम्भव सिरोहियाले सरकारको पछिल्लो निर्णयले भ्रष्ट प्रणाली अन्त्य गरेको आश्वासनसहित आफूहरु सरकारी विज्ञापनमा निर्भर नरहेको जनाएका थिए । 'सरकारले निजी मिडियाको विज्ञापन आम्दानी अन्त्य गरिदिएको छ । राम्रो भएको छ,' सिरोहियाले सामाजिक सञ्जालमा लेखेका थिए, 'यो ३ अर्बको भ्रष्ट प्रणाली थियो, जसको ७० प्रतिशत रकम बिचौलियाले खाने गरेका थिए । हामी यसमा निर्भर थिएनौं, हामी बाँचिरहन्छौं, सधैंझैं ।'
