विदेश गएको १९ वर्षपछि अशक्त भेटिए बागलुङका युवक

बागलुङको तमानखोला गाउँपालिका–२ भयरबोङगाका ४१ वर्षीय श्यामकुमार घर्ती सन् २००७ मा गैरकानुनी रुपमा बहराइन पुगेको ६ महिनादेखि सम्पर्कविहीन थिए ।

चैत्र २३, २०८२

प्रकाश बराल

Baglung youth found disabled 19 years after going abroad

What you should know

बागलुङ — कामको खोजीमा भौतारिरहेका बागलुङको तमानखोला गाउँपालिका–२ भयरबोङगाका श्यामकुमार घर्ती सन् २००७ मा गैरकानुनी तवरले बहराइन गए । बिचौलियाको सम्पर्कबाट १९ वर्षअघि बहराइन पुगेका उनीसँग श्रम स्विकृति थिएन । 

४१ वर्षीय घर्ती गैरकानुनी रुपमा बहराइन पुगेको ६ महिनापछि सम्पर्कविहीन भए । उनले त्यहाँ के–कस्तो काम गरे परिवारका सदस्यले खबर पाएनन् । छोरा बेपत्ता भए पनि सुस्तश्रवण (बहिरा) बाबु लालबहादुर घर्तीले छोराको खोजी गर्न सकेनन् । श्याम हिँडेको एक वर्षमै उनी आमा घरमा लालबहादुरलाई एक्लै छाडेर गइन् ।  

लालबहादुर लामो समय ज्याला मजदुरी गरेर गाउँमा बसिरहे । उनले छोराको थाहा पत्तो पाएनन् । गत वर्षको फागुनमा बहराइनस्थित नेपाली दुतावासबाट उनको परिवारमा श्याम कोमामा छन् भन्ने खबर आयो । परिवारले पहल गर्न नसक्ने भएपछि गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा, छिमेकी जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मालगायतले वैदेशिक रोजगार बोर्डमा जानकारी गराए । प्रमुख जिल्ला अधिकारीमार्फत आप्रवासी स्रोत केन्द्रकी परामर्शकर्ता गंगाकुमारी शर्माले आवश्यक कागजात दुतावासमा पठाउन सहयोग गरिन् ।  

गैरकानुनी तवरले काममा गएकोले दुतावासले श्यामको कम्पनी भेटेन । जसका कारण बिमा, राहत वा अन्य रकम उपलब्ध गराउने बाटो भेटिएन । प्रक्रियाबारे थाहै नपाएका लालबहादुरले छोराको खोजी गर्न सकेनन् । दुतावास र कुटनीतिक नियोगमा पनि खबर नभएकोले १९ वर्षसम्म के गरेर बसे भन्ने पनि थाहा हुन नसकेको हो। 

पछिल्लो दुई वर्षदेखि श्याम बिरामी परे । एक वर्षसम्म त उनी पहिचानविहीन भए । त्यहाँको अस्पतालमा उपचार त भयो तर गैरकानुनी रुपमा बसेकोले उपचार खर्च समेत नेपाल सरकारले तिर्नु पर्‍यो। पहिचान खुलेपछि भने उनलाई नेपाल पठाइयो । नेपालमा ल्याउनकालागि बहराइनको अस्पतालमा लागेको उपचार खर्च नेपाल सरकारले तिर्न बाध्य भयो । स्मरणशक्ति गुमेका उनी अशक्त अवस्थामा छन् । उनी आफू यस्तो अवस्थामा कसरी पुगे भन्ने सम्झन सक्दैनन् । अहिले उनी रातदिन 'बेड'मै हुन्छन् ।

घर फर्कँदा उनकी आमा छैनन् । बाबु बहिरा छन् । आमा घर छाडेर गएको र आर्थिक अवस्था कमजोर भएकोले बाबु छोरा बिचल्लीमा छन् । दिनभर ओछ्यानमा परिरहेका उनलाई गाउँपालिकाले खाने, बस्ने खर्च दिएको छ । अध्यक्ष बुढाले आफ्नै खर्चमा उनको घरमा टिभी जोडिदिएका छन्।

२०८१ फागुनमा दर्ता प्रक्रिया सुरु गरी कन्सुलर र दुतावासबाट माग भए अनुसारका कागजात पठाएपछि एक वर्षमा श्याम नेपाल आइपुगेका हुन् । तर उनको समस्या समाधान हुने अवस्था छैन । बहराइनस्थित नेपाली दुतावासमा कार्यरत कर्मचारी सुनिता थापाले गैरकानुनी अवस्थामा यहाँ बसेकाले उपचार खर्च समेत नेपाल सरकारले तिर्नु परेको बताइन् । राहत र बिमा रकम उपलब्ध गराउन नसकिने भएपछि स्थानीयसँग चन्दा उठाएर भए पनि उपचार कोष बनाउन पहल भएकोमा खाडी मुलुकमा भएको द्वन्द्वले असर परेको उनको भनाइ छ । 

बहराइन बागलुङ सम्पर्क समितिका महासचिव भवबहादुर कुँवरले श्यामलाई घर फर्काउने प्रयास सफल भए पछि अब उपचार खर्च जुटाउने प्रयास गर्ने बताए । तर पश्चिम एसियामा जारी द्वन्द्वका कारण घर बाहिर निस्कने अवस्था नभएपछि तत्कालकालागि असर परेको उनले बताए । 

बहराइनमा श्यामको उपचार खर्च बापत नेपाल सरकारले झण्डै १५ लाख रुपैयाँ तिरेको थियो । उक्त रकम तिराउन मन्त्रिपरिषद्को निर्णय गर्नु परेको अध्यक्ष बुढाले बताए । ‘यस्तो समस्या पर्ने हरेकलाई मन्त्रिपरिषद्को निर्णय गराइरहने काम सजिलो छैन,’ उनले भने, ‘वैदेशिक रोजगारीमा जाँदा कानुन सम्मत र विधि पुर्‍याएर जानुपर्छ ।’ हरेक वर्ष बिदेशमा मृत्यु हुनेमा धेरैजसो गैरकानुनी रुपमा गएका, तोकेको भन्दा फरक काम गर्ने, समयमा श्रम स्विकृति नवीकरण नगरेकाहरु बढी छन् ।

अहिले सदरमुकामदेखि १ सय २० किमी पश्चिमको तमानखोला–२ स्थित भएरबोंङगा गाउँको घरमा उनी बाबुको साथमा बस्छन् । ‘खोजी उद्धार गरेर ल्याउन समेत समस्या भयो, हामीले पनि धेरै प्रयास गरेपछि मात्र ल्याउन सकियो,’ गाउँपालिका अध्यक्ष जोकलाल बुढाले भने, ‘अहिले पालिककै सहयोगमा उनीहरुको दैनिकी चलेको छ ।’ सधैं पालिकाले साथ दिन नसक्ने उनले बताए । मानवीय नाताले सहयोग गरे पनि प्रक्रियागत रुपमा अप्ठ्यारो पर्दा उनीहरुको बिचल्ली हुने अवस्था रहेको बुढाले जानकारी दिए । 

गैरकानुनी काममा बसेकोले उनले के काम गरे, कति कमाए वा कमाएन् भन्ने यकिन नभएको आप्रवासी स्रोत केन्द्र बागलुङकी परामर्शकर्ता गंगा शर्माले बताइन् । ‘हामीले सुरक्षित रुपमा गाउँमा ल्याउन त सकियो, तर उनीहरुको परिवारको बिचल्ली छ,’ शर्माले भनिन्, ‘यस्तो अवस्थाका व्यक्तिलाई सहयोग गर्न अब राहत कोष बनाउन आवस्यक देखियो ।’ पछिल्लो समय गैरकानुनी रुपमा बिदेश जानेहरु यस्तै समस्यामा पर्दै गएको उनले सुनाइन् । गैरकानुनी रुपमा विदेश गएकाहरुको त्यहाँ उपचार समेत नहुने भए पछि नेपालबाट खर्च भराउनुपर्ने समस्या हुने गरेको उनले बताइन् ।  

केन्द्रको तथ्यांक अनुसार चालु आर्थिक वर्षमा गैरकानुनी रुपमा विदेशमा गएका बागलुङका मात्रै ७ जनाको मृत्यु भएको छ । १० जना श्रम स्विकृति भएकाहरुको ज्यान गएको छ । तीमध्ये एक जना महिला पनि छन् । चालु आर्थिक वर्षमा बागलुङका १ सय ३८ जना समस्यामा परेका कामदारमध्ये ५८ जनाको सकुशल उद्धार गरिएको छ। तीमध्ये २२ जनाको उद्धारमा जिल्ला प्रशासन कार्यालयले सहजीकरण गराएको थियो । 

आर्थिक वर्ष २०८०/८१ मा पनि बागलुङका १७ जना युवाको वैदेशिक रोजगारीमा मृत्यु भएको थियो । मृत्यु हुने अधिकांश ४० वर्ष भन्दा कम उमेरका छन् । मृत्यु हुनेमा सबैभन्दा बढी साउदी अरबमा छन् । २०८०/८१ मा बागलुङबाट वैदेशिक रोजगारीमा गएका थप १ सय ५६ जना बिभिन्न समस्यामा परेका थिए । तीमध्ये १ सय ३७ पुरुष र १९ महिला पीडित थिए । विदेशमा जाँदा समस्यामा नपरुन् भनेर केन्द्रले नियमित परामर्श सेवा दिने गरेको छ । चालु वर्ष पनि ९ हजार बढीलाई परामर्श दिइसकेको शर्माले जानकारी दिइन् ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully