आजको सुनुवाइले उनीहरुलाई थुनामा राखेर थप अनुसन्धान अघि बढाउने कि धरौटीमा राख्नेबारे निर्णय हुनेछ ।
काठमाडौँ — पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकको तर्फबाट गएको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै छ । उनीहरुको पेसी न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासमा पेसी तोकिएको हो ।
उक्त मुद्दा घ नम्बरमा पेसी रहेको छ । जेन-जी आन्दोलनको छानबिन गर्न गठिन पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिसका आधारमा सरकारले ओली र लेखकलाई पक्राउ गरेको थियो । उनीहरुको बयान जिल्ला सरकारी वकिल कार्यालयमा चलिरहेको छ ।
उनीहरुका तर्फबाट परिवारले दर्ता गराएको बन्दीप्रत्यक्षीकरणको निवेदनमा आजबाट दुई पक्षीय सुनुवाइ हुन लागेको हो । यसअघि सर्वोच्चले कारण देखाउ आदेश जारी गर्दै तीन दिनभित्र लिखित जवाफ पेस गर्न आदेश गरेको थियो । आज हुने सुनुवाइले उनीहरुलाई थुनामा राखेर थप अनुसन्धान अघि बढाउने कि धरौटीमा राख्नेबारे निर्णय हुनेछ ।
भदौ २३ र २४ मा जेन-जी आन्दोलनको क्रममा भएको मानवीय क्षतिमा ओली र लेखक समेतमाथि अनुसन्धान गर्न सिफारिस गरेको प्रतिवेदनका आधारमा प्रहरीले उनीहरुलाई चैत १४ मा पक्राउ गरेको थियो ।
