दुई पटक मलेसिया गएर रित्तो फर्किएका सल्यान त्रिवेणी गाउँपालिका–१ का कृष्ण रामजा बुढाको कुवेत गएको एक महिनामै निधन भएपछि परिवार आर्थिक र मानसिक संकटमा परेको छ।
What you should know
सल्यान — सल्यान त्रिवेणी गाउँपालिका–१ काभ्राको किमिरेटोलका ३२ वर्षीय कृष्ण रामजा बुढा १० वर्षअघि दुई पटक मलेसिया गए । त्यहाँको कम्पनीमा भने जस्तो काम पाउन नसकेपछि उनी बीचैमा छाडेर घर फर्किए । ऋण लिएर दुई पटक मलेसिया जाँदा उनलाई ९ लाख ऋण लाग्यो ।
ऋण तिर्ने भन्ने दबाव बढेपछि उनी महिना दिनअघिमात्रै थप ३ लाख ऋण लिएर कुवेत गए । कुवेतमा सिनो हाइड्रो नामक कम्पनीमा काम गरिरहेका थिए । कुवेत गएको एक महिना नबित्दै गत फागुन २५ गते राति कोठामै झुन्डिएको अवस्थामा मृत फेला परे । परिवारले उनको मृत्युको खबर भोलिपल्ट पाए । बुधबार भैरहवा विमानस्थलमा ल्याइएको उनको शव बिहीर घर पुर्याएर अन्तिम संस्कार गरिएको छ ।
अन्तिम संस्कारको काम सकिए पनि श्रीमान्को मृत्युको पीडाले श्रीमती दुर्गाका आँखा ओभाएका छैनन् । ‘अब कमाएर पहिला र अहिलेको ऋण तिर्छु । परिवार बस्नका लागि गतिलो घर बनाएर मात्रै सन्तान जन्माउनुपर्छ भन्थे,’ दुर्गाले भनिन् ‘विदेश जानुअघि देखेका सपना अधुरै रहे । १२ लाख त ऋण नै छ ।’ कृष्णका बुवा खिमबहादुरको अवस्था पनि उस्तै छ । पुत्रवियोगको पीडामा रहेका खिमबहादुरले केही बोल्न सकेका छैनन् ।
कोठामा झुन्डिएको अवस्थामा फेला परेका कृष्णको पोष्टमार्टम रिपोर्टमा पनि आत्महत्या गरेको उल्लेख छ । ‘हाम्रो दैनिकजसो कुरा हुने गर्थ्यो । फागुन २४ को कुराकानीमा पनि ठिकै छु भन्नुभएको थियो । २५ गते पटक पटक फोन गर्दा उठेन । काममा ब्यस्त भएर होला भन्दै म सुते । २६ गते कोठामै झुन्डिएर मृत्यु भएको सुनियो,’ दुर्गाले भनिन् । अब विमा वापतको रकम पाइए श्रीमान्ले लिएको ऋण तिर्ने उनले बताइन् ।
