अधिवक्ता कँडेल संवैधानिक कानुन, मानव अधिकार, राजनीति र समाजशास्त्रका ज्ञाता मानिन्छन् ।
काठमाडौँ — महान्यायाधिवक्तामा नारायणदत्त कँडेल नियुक्त भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
बागलुङको काठेखोला गाउँपालिका-५ का कँडेलले बेलायतबाट ‘अभिव्यक्ति स्वतन्त्रता’मा विद्यावारिधि गरेका छन् ।
कँडेल २०५८ देखि २०६० सम्म तत्कालीन नेपाल पत्रकार महासंघ धौलागिरी शाखाका सभापतिसमेत बने । बागलुङबाट पत्रकारिता थालेका कँडेलले लामो समय पत्रकारिता र वकालतको अभ्यास गरेका थिए ।
२०६० साल असार ३० गते बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र लिएसँगै उनी कानुन क्षेत्रमा सक्रिय भएका हुन् । उनी पछिल्लो समय रास्वपा सभापति रवि लामिछानेको निजी कानुन व्यवसायी रहदै आएका थिए भने रास्वपाको कानुन विभागमा पनि रहेर काम गरेका थिए । उनले विगतमा फ्रिडम फोरम,मानव अधिकार शान्ति समाज,एम्नेस्टे इन्टरनेसनललगायतका संस्थामा समेत विभिन्न भूमिकामा रही काम गरे ।
पत्रकारितातर्फ रेडियो नेपाल, नेपालवाणी साप्ताहिक, राष्ट्रपुकार र राजधानी दैनिकमा काम गरे । २०६३ सालमा आइरिस सेन्टर फर ह्युमन राइट्सबाट छात्रवृत्ति प्राप्त गरी उनी उच्च शिक्षा अध्ययनका लागि गएका थिए । उनले विद्यावारिधि भने बेलायतको क्विन्स विश्वविद्यालयबाट गरेका हुन् ।
अधिवक्ता कँडेल संवैधानिक कानुन, मानव अधिकार, राजनीति र समाजशास्त्रका ज्ञाता मानिन्छन् । कँडेलले महान्यायाधिवक्ताका रूपमा आफूले निष्पक्ष र विवादरहित काम गर्ने प्रतिक्रिया दिए । उनले आफ्नो कार्यकालमा विधिको कानुन र कानुनको परिपालनामा केन्द्रित हुने दाबी गरे ।
