रेखा शर्मालाई हिरासतमुक्त गर्ने अदालतको आदेश 

घरेलु कामदारलाई यातना दिई दास बनाएर राखेको अभियोग यसअघि नै पुष्टि नहुने निर्णय भइसकेको भन्दै हिरासतमुक्त गर्ने आदेश गरेको छ ।

चैत्र २२, २०८२

दुर्गा दुलाल

Court orders release of Rekha Sharma from custody

काठमाडौँ — जिल्ला अदालत काठमाडौंले लुम्बिनी प्रदेशसभाकी सांसद रेखा शर्मालाई हिरासतमुक्त गर्नु भनी आदेश जारी गरेको छ । 

घरेलु कामदारलाई यातना दिई दास बनाएर राखेको अभियोग यसअघि नै पुष्टि नहुने निर्णय भइसकेको भन्दै हिरासतमुक्त गर्ने आदेश गरेको छ । न्यायाधीश जगतबहादुर पौडेलको इजलासले २०८२ जेठ १६ गते महान्यायाधिवक्ता कार्यालयबाट मुद्दा नचल्ने निर्णय भएको र उक्त निर्णय कानुन सम्वत नै भएको भन्दै थप थुनामा राख्न अस्वीकार गरेको हो । 

लुम्बिनी प्रदेश सांसद रेखा शर्मा चैत १६ गते पक्राउ परेकी थिइन्न् । एमालेबाट निर्वाचित उनी काठमाडौंको धुम्बाराहीबाट पक्राउ परेकी थिइन् । उनीमाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरूद्धको कसुरमा अनुसन्धानका लागि भन्दै जिल्ला अदालत म्याद थपका लागि पेश गरेको थियो । केही वर्ष पहिला उनको घरबाट एक बालिकालाई काठमाडौं महानगरपालिकाले उद्धार गरेको थियो ।

ती बालिकाबारे तत्कालीन काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाहले २९ माघ २०८१ मा आफ्नो फेसबुक वालमा 'सरी नानु ! तिम्रा पीडकका विरुद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनू । समय आउनेछ' भनेर लेखेका थिए । साथै उनले 'यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमीजस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्नुपर्छ' भन्ने पनि उल्लेख गरेका थिए ।

तर जिल्ला अदालतले मिसिल संलग्न कागजात हेर्दा पीडितको पढाइ निरन्तर रहेको र संरक्षकको भूमिका निभाएको भन्दै हिरासत मुक्त गर्न आदेश दिएको हो । जिल्ला अदालतको उक्त आदेश पछि अब शर्मालाई थुनामुक्त गर्नुपर्ने छ ।

दुर्गा दुर्गा दुलाल कान्तिपुरका पत्रकार हुन् । उनी कानुन, न्याय र संवैधानिक मामिलाबारे रिपोर्टिङ गर्छन् ।

Link copied successfully