हृदयघातले श्रीमान् गुमाएको पीडा, १३ महिनाको छोराको जिम्मेवारी र ऋणको भारीले सजिना राईको जीवनमा थप चुनौती थपिएको छ ।
What you should know
खोटाङ — दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ३२ वर्षीय वसन्त राई र ३० वर्षीया सजिना राईको जोडीले यत्ति चाँडै छुट्टिनु पर्छ भन्ने सोचेका थिएनन् ।
वैदेशिक रोजगारीकै सिलसिलामा मलेसियामा रहेका बेला बसेको पिरतीलाई वसन्त र सजिनाले ३ वर्षअघि विवाहमा परिणत गरेका थिए । १३ महिनाका छोरा जोन, श्रीमतीलगायत घरपरिवार छाडेर गत असार २८ मा कुवेत पुगेका वसन्तको गत फागुन १५ मा (२७ फेब्रुवरी) को बिहान ५ बजे हृदयघातका कारण मृत्यु भएको हो ।
वसन्तले फागुन १४ को राति अबेरसम्म सजिनासँग घरमा कुरा गरेका थिए । ‘दिनमा ४–५ चोटी भिडियो कल गरेर नानी (छोरा)सँग कुरा गर्नु हुन्थ्यो, १४ गते राति नानी सुतिगयो, हामी कुराकानी गरेर छुट्टिएको भोलिपल्ट दिउँसो अशुभ खबर आयो,’ सजिनाले भनिन्, ‘छाँगाबाट खसेजस्तै भयो, अब यो नानी कसरी हुर्काउने–पढाउने ? कत्रो पिरलो छ ।’
सजिनालाई पति वियोगसँगै ऋणको चिन्ताले पनि एकैसाथ सताएको छ । कुवेत जानका लागि लिएको र त्यसअघिको ऋणले समेत भोकतिर्खा हराएको उनले बताइन् । कुवेत जाँदा मात्र २ लाख ३५ हजार मेनपावरलाई बुझाएको सजिनाले सुनाइन् । ‘कुवेत जाँदा र त्यसअघिको पनि ऋण छ, यो ८ महिनाको अवधिमा अलिअलि पठाउनु भयो, अझै १ लाख ४५ हजारजति बाँकी नै छ,’ सजिनाले भनिन्, ‘मर्ने त मरेर गइसक्यो, बाँचेकालाई पो गाह्रो छ ।’
कुवेतस्थित चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन कम्पनीमा प्लम्बरको रूपमा कार्यरत वसन्तलाई यसअघि कुनै पनि रोग लागेको थाहा थिएन । एकैचोटी हृदयघातले छोराको ज्यान गरेको खबर सुन्नु पर्दा बज्रपात परेको उनका बुवा ६९ वर्षीय टेकबहादुर राईले बताए । ‘दश मनमा एक मन थिएन त्यस्तो खबर आउँछ भन्ने, अहिलेसम्म कुनै रोग छ भन्ने थाहा थिएन,’ टेकबहादुरले भने, ‘नसोचेको भोग्नु पर्यो, ठूलो बज्रपात पर्यो ।’
फागुन १५ को बिहान ५ बजेतिर हदयघातबाट मृत्यु भएका वसन्तको पश्चिम एसियामा जारी युद्धका कारण मृत्यु बिहीबार ३४ दिनपछि घरमा शव आइपुगेको हो । त्यसैदिन किराती संस्कृति अनुसार अत्येष्टि गरिएको छ । ५ छोरा र ३ छोरीमध्ये वसन्त साइला हुन् । ७ वर्षसम्म मलेसिया बसेर ३ वर्षअघि घर फर्किएका वसन्तले विहे गरेपछि श्रीमती र छोरा धरानको बुद्धचौकमा डेरामा राखेर कुवेत गएका थिए ।
