महान्यायाधिवक्ता कँडेलले सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल समक्ष आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
काठमाडौँ — नवनियुक्त महान्यायाधिवक्ता नारायणदत्त कँडेलले शपथ लिएका छन् ।
महान्यायाधिवक्ता कँडेलले सर्वोच्च अदालतकी कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल समक्ष आइतबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । कँडेललाई प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
त्यस अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, न्यायाधीशहरू र न्याय सेवाका उच्च अधिकारीको उपस्थिति रहेको थियो ।
बागलुङको काठेखोला गाउँपालिका-५ का कँडेलले बेलायतबाट ‘अभिव्यक्ति स्वतन्त्रता’मा विद्यावारिधि गरेका छन् ।
सविता बराल भण्डारीले राजीनामा दिएपछि रिक्त पदमा कँडेललाई नियुक्त गरिएको हो । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकारका रुपमा रहने गर्छन् । सरकारवादी मुद्दामा प्रतिरक्षा गर्ने मुख्य जिम्मेवारी महान्यायाधिवक्ताको हो । उनी रास्वपा सभापति रवि लामिछानेका कानुन व्यवसायी थिए ।
