अदालतमा विचाराधीन रहेका मुद्दा बचतकर्ताको हितमा छिटोभन्दा छिटो फैसला हुनुपर्ने उनीहरुको प्रमुख माग रहेको छ ।
What you should know
चितवन —
गितेन्द्रबाबु राई (जीबी राई) सञ्चालक रहेको देशका विभिन्न पाँच सहकारीमा जम्मा गरेको बचत रकम फिर्ता नपाएका पीडितहरूले बिहीबार काठमाडौंमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावललाई भेटेका छन् ।
यो सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सभापति तथा सांसद रवि लामिछाने पनि जोडिएका छन् । उनीविरुद्ध पनि अदालतमा मुद्दा दायर भएको छ ।
चितवनको साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था, बुटवलको सुप्रिम, वीरगन्जको सानो पाइला, पोखराको सूर्यदर्शन र काठमाडौंमा कार्यालय रहेको स्वर्णलक्ष्मीका पीडित बचतकर्ताले मन्त्रीलाई भेटेर १० बुँदे मागपत्र बुझाएका हुन् । अदालतमा विचाराधीन रहेका मुद्दा बचतकर्ताको हितमा छिटोभन्दा छिटो फैसला हुनुपर्ने उनीहरुको प्रमुख माग रहेको छ ।
स्थानीय बजारमा छरिएर रहेका ऋण उठाउन ऋणीलाई ३५ दिने सूचना जारी गर्नुपर्ने, मुद्दा अदालतमा चल्दै गर्दा सम्पर्कमा आएका केही प्रतिवादीले अपचलन गरेको भनिएको पैसा तिर्न तयार भएका कारण मुद्दा मिलापत्रको बाटो खोल्नुपर्ने लगायतका माग पीडितहरुको छ । यो प्रकणको मुख्य सूत्रधार मानिएका तर लामो समयदेखि फरार रहेका जीबी राईलाई तत्काल समाउन माग गरेका छन् ।
प्रतिवादीहरु राई लगायतका सहकारी ठग्नेहरुको सम्पति जफत गर्दै पीडितको रकम फिर्ता गर्नुपर्ने, सहकारीलाई संकटग्रस्त घोषणा गर्न प्रदेश कार्यालयले आनाकानी गरेको हुँदा यसतर्फ चासो दिएर तत्काल संकटग्रस्त घोषणा गर्नुपर्ने जस्ता माग लिएर आफूहरुले मन्त्रीलाई भेटेको साहारा चितवन बचतकर्ताले गठन गरेको संघर्ष समितिका संयोजक शालिकराम दुवाडीले बताए ।
सहकारीको रकम ठगी गर्नेहरुले लुकाएको रकम खोज्नका लागि नातागोता सात पुस्तासम्म सम्पति छानबिन गर्न उनीहरुले माग गरेका छन् । सरकारले तत्काल केही नगर्ने हो भने राज्यको ढुकुटीबाट पीडितलाई रकम फिर्ता गर्न र पछि सहकारी ठगहरुबाट सो रकम असुल गर्न माग गरेको पनि दुवाडीले बताए । बचत फिर्ताका लागि पीडितहरुले चार वर्षदेखि संघर्ष गर्दै आएको उनको भनाइ छ ।
‘अहिले त करिब दुई तिहाइ नजिकको सरकार छ । यस्तो बेलामा पनि हाम्रो माग पूरा नभए कहिले हुने,’ उनले भने । आफूहरुको माग सुनेपछि सहकारीमन्त्री प्रतिभा रावलले यो समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताएकी थिइन् । ‘मन्त्रीज्युले सहकारीको समस्या समाधान गर्न नै आफू लागि पर्ने बताउनुभएको छ । चुनौती भए पनि काम पूरा गर्छु भन्नु भएको छ,’ दुवाडीले भने ।
