सर्वोच्च अदालतले सञ्‍चालमा ल्यायो ‘संवैधानिक इजलास पोर्टल

मुख्य रजिस्ट्रार पौडेलले अदालतलाई ‘लेस पेपर’ (न्यून कागज) बाट ‘पेपरलेस’ (कागजविहीन) बनाउने यात्रामा अगाडि बढ्नुपर्ने बताए ।

चैत्र २०, २०८२

कान्तिपुर संवाददाता

Supreme Court launches 'Constitutional Bench Portal'

काठमाडौँ — सर्वोच्च अदालतले संवैधानिक इजलासका कामकारबाहीलाई थप पारदर्शी, उत्तरदायी र प्रभावकारी बनाउने उद्देश्यले ‘संवैधानिक इजलास पोर्टल’ सुरू गरेको छ । 

अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले शुक्रबार एक कार्यक्रमबीच उक्त पोर्टल सार्वजनिक गर्दै न्यायपालिकालाई प्रविधिमैत्री बनाउने दिशामा यो एउटा महत्त्वपूर्ण उपलब्धि भएको बताए ।

कार्यक्रममा मुख्य रजिस्ट्रार पौडेलले संवैधानिक इजलास संविधानको विशिष्ट व्यवस्था भएको र यसको प्रभावकारितासँग नेपालको संवैधानिक विकासक्रम जोडिएको उल्लेख गरे । सर्वोच्च अदालतमा मुद्दाको कार्यचाप अत्यन्त उच्च रहेको स्वीकार गर्दै पौडेलले संवैधानिक इजलासमा विचाराधीन करिब २८० थान मुद्दाहरूको शिघ्र फर्छ्यौट हुनुपर्नेमा जोड दिए । अदालतका कामकारबाही जति बढी सार्वजनिक र पारदर्शी हुन्छन्, न्यायपालिकाप्रतिको जनविश्वास त्यति नै बढ्ने उनको तर्क छ । 

‘संवैधानिक इजलास कानुन र संविधानको व्याख्या गर्ने उपल्लो स्थान हो । संघीयतासम्बन्धी विवाद, संघ र प्रदेशको क्षेत्राधिकार तथा कानुनी संविधानवादको परिपालना सुनिश्चित गर्ने सशक्त माध्यम यही इजलास हो । त्यसैले यसको प्रभावकारिता देशको दिशा निर्देशका लागि आवश्यक छ । मुद्दाहरूको छिटो निरुपणले नै देशको संवैधानिक विकासक्रमलाई सही दिशा र गति दिनसक्छ भन्ने हाम्रो विश्वास छ,’ उनले भने । 

मुख्य रजिस्ट्रार पौडेलले अदालतलाई ‘लेस पेपर’ (न्यून कागज) बाट ‘पेपरलेस’ (कागजविहीन) बनाउने यात्रामा अगाडि बढ्नुपर्ने बताए । पछिल्लो समय विकास भएका आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का टुल्सहरूलाई स्रोत व्यवस्थापन र सूचना सम्प्रेषणमा प्रयोग गर्नुपर्ने चुनौती रहेको उनको भनाइ थियो । सूचना प्रविधिको प्रयोगमार्फत ‘ई–जस्टिस’ प्रणाली लागू गरी न्यायमा पहुँच अभिवृद्धि गर्ने र न्यायपालिकाप्रतिको आस्था जगाउन यो पोर्टलले सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ । 

कान्तिपुर

Link copied successfully