प्रहरीमा ‘मिलापत्र’ गरेको तीन दिनमै श्रीमतीको ‘हत्या’

नरहरिनाथ–३ का काशीराम बुढाले मदिरा सेवनपछि पत्नी मनपुराको बन्चरो प्रहार गरी हत्या गरेका हुन् भने प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

चैत्र १९, २०८२

तुलाराम पाण्डे

Wife 'murdered' within three days of 'agreement' with police

कालीकोट — दिनहुँको कुटपिट सहन नसकेर न्याय माग्न गत चैत १३ गते इलाका प्रहरी कार्यालय पुगिन् । नरहरिनाथ–३, की २७ वर्षीया मनपुरा अधिकारी (बुढा) ले पतिसँग बस्न नसक्ने भन्दै न्याय दिन आग्रह गरिन् । प्रहरीले पती-पत्नीबीच ‘मिलापत्र’ गराइदियो । तर, ‘मिलापत्र’ भएको तीन दिन नबित्दै मनपुराले ज्यान गुमाइन् ।

स्थानीय भलादमी र वडाध्यक्षसहितको रोहबरमा चैत १३ गते साँझ फेरि कुटपिट नगर्ने र मिलेर बस्ने सर्तमा चौकीमा कागज गराएपछि मनपुरा पतिसँगै घर फर्किएकी थिइन । उनको १५ गते राति हत्या भएको हो । पति-पत्नीबीच झगडा परेपछि २९ वर्षीय पति काशीराम बुढाले टाउकोमा बन्चरो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । 

मदिरा सेवन गरेका पतिको प्रहारबाट मृत्यु भएपछि गत सोमबार बेलुका उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पुर्‍याइएको थियो । पोस्टमार्टम रिपोर्टमा टाउको, निधार, अनुहारलगायतका ठाउँमा गहिरो चोट भएको उल्लेख छ । हत्यामा संलग्न आरोपमा प्रहरीले मनपुराका पति काशीरामलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको जनाएको छ । 

Wife 'murdered' within three days of 'agreement' with police

सान्नीत्रिवेणी–१ लुसा माइती घर भएकी मनपुरालाई आफ्नै पति ‘काल’ बन्लान् भन्ने लागेको थिएन । आफन्तका अनुसार उनीहरूबीच लामो समयदेखि झगडा हुँदै आएको थियो । पति-पत्नीको झगडा सामान्य भन्ठानेर कसैले हस्तक्षेप गरेनन् । ‘ज्यानै लिने अपराधी मानसिकताको मान्छे रहेछ,’मृतकका आफन्त डबल अधिकारीले भने, ‘चित्त नबुझे सम्बन्धविच्छेद गर्नुपर्ने तर, हत्या नै गरिदियो ।’

प्रहरीका अनुसार पत्नीलाई परपुरुषले फोन गरेको निहुँ बनाएर चैत १५ गते राति काशीरामले तीन नाबालक छोराछोरी अर्को कोठाभित्र थुनेका थिए । त्यसपछि पत्नीलाई कुटपिट गर्दै टाउकोमा बन्चरो प्रहार गरेको खुलेको प्रहरी निरीक्षक बरमा यादवले बताए । उनका अनुसार पत्नीको हत्यापछि काशीरामले ४ सय मिटर दूरीमा रहेको डाडामाडु बजारस्थित वडाध्यक्ष कटकबहादुर बुढालाई भेटेर ४ जना अपरिचित व्यक्ति आएर श्रीमतीलाई कुटपिट गर्दैछन् भनेर बताएका थिए । आफू भागेर आएको र बचाउनुपर्‍यो भन्दै गुहार मागेका थिए । 

काशीरामको झगडा गर्ने बानी थाहा पाएका वडाध्यक्ष बुढाले तत्काल प्रहरीलाई खबर गरेपछि टोली घटनास्थल पुगेको थियो । ‘पहिले पनि बारम्बार झगडा र कुटपिट गर्थ्यो,’ वडाध्यक्ष बुढाले भने, ‘हत्या नै गर्ला भन्ने लागेको थिएन ।’ उनका अनुसार चैत १३ गते आफ्नो रोहबरमा प्रहरीले दोहोरो कागज गरेर मिलापत्र गराएर दम्पतीलाई घर पठाएको थियो । झगडा नगर्ने बाचासहित दम्पतीलाई स्थानीय धीर बुढा, गंगबहादुर बुढाले जिम्मा लिएर गएका थिए ।  

१६ वर्षको उमेरमा विवाह गरेकी मनपुराले एसएलसीसम्म अध्ययन गरेकी थिइन् । बिहे गरेको एक वर्षमै खटपट भएर माइती फर्किएकी थिइन् । त्यतिबेला उनको पेटमा गर्भ भएकाले पतिलाई लिन बोलाएर घर पठाएको उनकी भाउजू लक्ष्मी बुढाले सुनाइन् । ‘जहिल्यै मदिरा सेवन गरेर कुटपिट गर्थ्यो,’उनले भनिन्, ‘चित्त नबुझे सम्बन्ध विच्छेद गर्नुपर्ने, हत्या गरेर बालबालिकाको बिचल्ली बनायो ।’ लक्ष्मी कोटवाडा स्वास्थ्य चौकीकी अनमी हुन् । उनलाई चैत १३ गते इलाका प्रहरीबाट नन्द जिम्मा लिन आउनू भन्ने खबर आएको थियो । कोटवाडा स्वास्थ्य चौकीमा दुई वटा डेलिभरी केस आएकाले जान नपाएको उनले सुनाइन् ।

‘अवस्था जटिल भइसकेको रहेछ,’उनले भनिन्,‘त्यतिबेला गएर आफूसित ल्याएको भए यस्तो त हुन्थेन ।’ गत मंसिरमा मजदुरी गर्न भारत गएका काशीराम एक साताअघि फर्किएका थिए । घर बनाउँदा लागेको ऋण तिर्न ज्याला मजदुरीका लागि भारत गएका उनी घर फर्किएदेखि नै छिमेकीको कुरा सुनेर श्रीमतीलाई परपुरुषसँग लागेको आरोप लगाउँदै आएका थिए । त्यही निहुँमा दिनदिनै पत्नीलाई कुटपिट गर्ने गरेको स्थानीयले बताए । दम्पतीका १ र ४ वर्षका छोरा र ९ वर्षकी छोरी छन् । 

भाउजू लक्ष्मीका अनुसार त्यस भन्दा पहिले पनि दुई पटक कुटपिट गर्‍यो भनेर माइतीमा आएर बसेकी हुन् । ‘अदालतमा मुद्दा हालेर सम्बन्ध विच्छेद गराइदिने भनेका थियौँ,’उनले भनिन, ‘काशीरामले माफी मागेर लगेर गयो ।’ 

मनपुराले माइतीको इज्जत सम्झिएर हिंसा सहेर पनि घर चलाएर बसेको आफन्त बताउँछन् । ‘बालविवाह गरेर न पढ्न पाइन्, न सुख शान्ति भयो,’ लक्ष्मीले भनिन्, ‘हिंसा सहँदै अकालमा ज्यान गुमाइन् ।’ 

मदिरा र घरेलु हिंसाका कारण घटना भएको जिल्ला प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए । ‘मृतकको टाउको र निधारमा गहिरो चोट छ,’उनले भने, ‘बन्चरो प्रहार गरेको पतिले स्वीकारेको छ । घटनास्थलको मुचुल्कासहित छिमेकीको भनाइले पनि हत्या गरेको पुष्टि भइसकेको छ ।’ 

प्रहरीका अनुसार सोमबार बिहान सवा ४ बजे मृतकका पति काशीरामले प्रहरीमा आएर ४ जना अपरिचित व्यक्तिले श्रीमतीलाई कुटपिट गरी मारेको जानकारी गराएका थिए । त्यसपछि प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गर्दा पतिले हत्या भएको ठहर गरेर काशीरामलाई पक्राउ गरेको थियो ।

कालीकोटमा महिला हिंसाका घटना बढ्दै जानु चिन्ताको विषय भएको महिला अधिकारकर्मी अपेक्षासिंह बस्नेतले सुनाइन् । साउनयता मात्र यौन दुर्व्यवहार, कुटपिट, घरेलु हिंसा भोगेका ५४ महिला र २९ बालबालिका पीडित भएको उनले बताइन् । 

तुलाराम पाण्डे कान्तिपुरका कालिकोट संवाददाता हुन् ।

Link copied successfully