हिरासतमा रहेका ओली–लेखक घरकै खानेकुरा र पानी खान्छन्

प्रहरीका अनुसार एमाले अध्यक्ष केपी ओलीलाई पक्राउलगत्तै स्वास्थ्य परीक्षणका लागि शनिबार नै शिक्षण अस्पतालमा भर्ना गरिएको थियो ।

चैत्र १९, २०८२

विवेक पोख्रेल

Oli-author in detention eats home-made food and water

काठमाडौँ — जेन–जी आन्दोलनबारे जाँचबुझ गर्न गठित आयोगको प्रतिवेदनका आधारमा गत शनिबार पक्राउ परेका एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

स्वास्थ्य र सुरक्षा कारणले उनीहरूको आवश्यकताअनुसार प्रहरीले अलग–अलग स्थानमा राखी अनुसन्धान जारी राखेकाे छ । प्रहरीका अनुसार ओलीलाई पक्राउलगत्तै स्वास्थ्य परीक्षणका लागि शनिबार नै शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । वृद्धावस्था र मिर्गौला प्रत्यारोपण गरिसकेका ओलीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै अहिले पनि चिकित्सकको निगरानीमै राखेर अनुसन्धान भइरहेको छ । अदालतले पनि ओलीलाई बयान तथा अन्य अदालती प्रक्रिया भिडियो कन्फरेन्समार्फत गर्ने व्यवस्था मिलाएको छ ।  

लेखकलाई भने प्रहरी गणमै कडा सुरक्षाबीच राखिएको छ । उनी नेपाल प्रहरीको २ नम्बर गण, महाराजगञ्जमा छन् । पक्राउ परेका दुबै नेता वार्षिकी शोक अवधिमा रहेकाले उनीहरूको दैनिकी उस्तै देखिन्छ । प्रहरी स्रोतका अनुसार उनीहरूले हिरासतमा रहँदा पनि घरपरिवारबाट ल्याइएको खानेकुरा मात्र सेवन गरिरहेका छन् ।

‘उहाँहरू दुवैजना अभिभावक गुमाएको वार्षिकी शोकमा हुनुहुन्छ, त्यसैले खानादेखि पानीसम्म परिवारले ल्याएको मात्र प्रयोग गरिरहनु भएको छ,’ एक प्रहरी अधिकृतले भने, ‘प्रहरी गणमै भए पनि लेखकज्यूले पनि घरबाटै ल्याइएको खानेकुरा र पानी प्रयोग गरिरहनुभएको छ।’

सुरक्षाका दृष्टिले पनि उनीहरूसँग भेटघाटमा प्रहरीले कडाइ गरिएको छ । परिवारका सदस्य र कानुनी व्यवसायीबाहेक अन्यलाई भेटघाटमा सहज अनुमति नदिएको प्रहरीले जनाएको छ। 

विवेक विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully