राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जेनजी आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गर्नुपर्नेमा पनि जोड दिए ।
काठमाडौँ — राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सरकारलाई जनताप्रति उत्तरदायी बन्न र विधिको शासन प्रभावकारी रूपमा लागू गर्न आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उनले सरकार जनताप्रति उत्तरदायी बनेर मुलुकको समृद्धिमा अगाडि बढ्न सुझाव दिनुभयो ।
सांसद शाहीले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा भएका घटनाको सत्यतथ्य छानबिन गर्नुपर्नेमा जोड दिए । प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित शासन सञ्चालन हुनुपर्ने उल्लेख गर्दै उनले जनताको आशा र भरोसाको दियो निभ्न नदिई त्यसलाई अझ मजबुत बनाउनुपर्ने बताए । 'नेपालमा धेरै पटक व्यवस्था परिवर्तन भए पनि जनताको अवस्था अपेक्षाअनुसार परिवर्तन हुन सकेको छैन,' उनले भने, 'देशमा भएका सबै भ्रष्टाचारका फाइल खोलिनुपर्ने र पछिल्लो समय दल परिवर्तन मात्र नभई पुस्ता परिवर्तनसमेत भएकाले सोहीअनुसार काम हुनुपर्छ ।'
उनले निर्मला पन्त र इनिशा विकजस्ता घटनाका पीडितले समयमै न्याय पाउनुपर्नेमा जोड दिए । युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने पनि उनले बताए ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का सदस्यलाई नागरिकता उपलब्ध गराउनुपर्ने माग गर्दै सांसद शाहीले सुशासन र विधिको शासन कायम गर्न सबै पक्ष एकजुट हुनुपर्ने बताए ।
