उहिल्यैको 'महिलाको काम' अर्थात 'तथ्य जाँच' कसरी बन्यो विश्वव्यापी अभियान ?

दशकौँसम्म 'महिलाहरूको मात्र कार्यक्षेत्र' भनेर हेपिएको यो विधामा सन् १९७१ मा एउटा ठूलो क्रान्ति भयो । 'न्युजविक' का महिला कर्मचारीहरूले आफूहरूलाई सधैँ 'रिसर्चर/फ्याक्ट चेकर' मै सीमित राखेर रिपोर्टर बन्न नदिएको भन्दै लैंगिक विभेदविरुद्ध उजुरी नै हाले ।

चैत्र १९, २०८२

दया दुदराज

How did what used to be 'women's work', or 'fact checking', become a global campaign?

What you should know

काठमाडौँ — विश्वभर अप्रिल १ लाई 'अप्रिल फुल डे' अर्थात् मानिसलाई झुक्याउने र ठट्टा गर्ने दिनका रूपमा मनाइन्छ । तर, ठट्टा र झुटको त्यो दिन सकिएलगत्तै भोलिपल्ट अर्थात् अप्रिल २ मा भने 'अन्तर्राष्ट्रिय तथ्य जाँच दिवस' मनाइन्छ ।

सामाजिक सञ्जालको बढ्दो प्रयोग र सूचनाको तीव्र प्रवाहसँगै फैलने भ्रामक तथा मिथ्या सूचना रोक्न विश्वभरका तथ्य जाँचकहरूले आजको दिनलाई एउटा विशेष अभियानका रूपमा लिने गरेका छन् । 'अप्रिल फुल' को भोलिपल्ट यो दिवस मनाउनुको सांकेतिक अर्थ छ । अघिल्लो दिन जिस्किएर वा झुक्याएर फैलाइएका भ्रमको पर्दाफास गरी सत्यलाई पुनः स्थापित गर्नु ।

तथ्य जाँचको सुरुवात र अवधारणा सुन्दा आधुनिक लागे पनि यसको जरा पत्रकारिताको इतिहासजत्तिकै पुरानो र रोचक छ । पुस्तकालयका धुलाम्मे किताब पल्टाउने 'महिलाहरूको काम' भनी चिनिने विधादेखि आजको अत्याधुनिक डिजिटल फरेन्सिकसम्म आइपुग्दा यसको पृष्ठभूमि रोचक छ ।

सन् २०१९ डिसेम्बर ६ मा प्रकाशित 'कोलम्बिया जर्नालिज्म रिभ्यु' (सिजेआर) को लेखअनुसार, सुरुवाती चरणमा अखबारहरू वस्तुनिष्ठताभन्दा पनि सम्पादक र प्रकाशकका व्यक्तिगत विचार, आग्रह र भावनामा बढी केन्द्रित हुन्थे । समाचार भन्नु नै एउटा पक्षको वकालत गर्नु जस्तै थियो ।

तर सन् १८५४ मा, एसोसिएटेड प्रेस (एपी) का तत्कालीन प्रमुख ड्यानियल एच. क्रेगले एउटा ऐतिहासिक पहल गरे । उनले आफ्ना सहकर्मीहरूलाई एउटा परिपत्र पठाउँदै भने-'समाचारमा आफ्ना भावना र आग्रह नमिसाउनू, 'मेटेरियल फ्याक्ट्स' (तथ्य) लाई मात्र प्राथमिकता दिनू ।' यो एउटा सानो निर्देशन मात्र थिएनपत्रकारितालाई भावनाको भूमरीबाट निकालेर सत्यको धरातलमा उभ्याउने पहिलो संस्थागत प्रयास थियो । त्यसपछि मात्रै अखबारहरूमा विशुद्ध सूचना र तथ्यहरू छापिन थाले । 

सीजेआरकै लेखअनुसार, तथ्यतर्फ उन्मुख भए पनि कामको चटारोले समाचारमा गल्तीहरू प्रशस्तै हुन्थे । सन् १९१३ मा 'न्यु योर्क वर्ल्ड' का प्रकाशक राल्फ पुलित्जरले आफ्नो पत्रिकामा छापिएका गल्तीहरूप्रति चिन्ता व्यक्त गरे । पाठकहरूलाई गलत सूचना दिएकोमा प्रायश्चित गर्दै उनले 'ब्युरो अफ एक्युरेसी एन्ड फेयर प्ले' स्थापना गरे । यसलाई तथ्य जाँचको संस्थागत इतिहासको पहिलो इँटा मानिन्छ । यद्यपि, यो ब्युरोको काम समाचार छापिनुअघि जाँच्ने नभई, छापिसकेपछि भएका गल्तीहरू सुधार्ने, माफी माग्ने र पाठकका गुनासा सुन्नेमा मात्र सीमित थियो ।

समाचार छापिसकेपछि पछुताउनुभन्दा छापिनुअघि नै जाँच्नु पर्छ भन्ने आधुनिक र व्यावसायिक पद्धतिको श्रेय भने 'टाइम' म्यागजिनलाई जान्छ । टाइम म्यागजिनको अभिलेखअनुसार, सन् १९२३ मा टाइमले आफ्नो अंक प्रकाशन गर्दा नान्सी फोर्डलाई 'रिसर्चर' (अनुसन्धानकर्ता) का रूपमा नियुक्त गर्‍यो । उनलाई विश्वकै पहिलो पूर्णकालीन 'फ्याक्ट चेकर' भनेर पनि चिनिन्छ । 

त्यतिबेला नान्सी फोर्ड र उनका महिला सहकर्मीहरू समाचारमा लेखिएका मिति, नाम, र घटना जाँच्न पुस्तकालय धाउँथे । मोटा-मोटा सन्दर्भ ग्रन्थ र विश्वकोश पल्टाएर समाचारका शब्द-शब्दको सत्यता परीक्षण गर्थे । त्यतिबेला समाज र मिडिया हाउसको सोचाइ कस्तो थियो भने । रिपोर्टिङ गर्ने, बाहिर घुम्ने र नाम कमाउने काम पुरुषहरूको हो । तर, धैर्य  चाहिने, भित्र बसेर मिहीन रूपमा गल्ती खोज्ने, र पर्दापछाडि रहने यो झन्झटिलो काम 'महिलाहरूको क्षेत्र' हो । सीजेआरले उल्लेख गरेअनुसार, सन् १९७० को दशकसम्म पनि तथ्य जाँचलाई कलेज पढेका महिलाहरूका लागि एउटा जागिरको रूपमा मात्र व्याख्या गरिन्थ्यो ।

तर सधैँ एकैनासको रहेन । सन् १९२७ मा 'द न्यु योर्कर' ले पनि तथ्य जाँच सुरु गर्‍यो । सन् १९३८ मा 'कोलियर्स' म्यागजिनमा छापिएको एउटा विज्ञापनमा पहिलोपटक आधिकारिक रूपमा 'फ्याक्ट-चेकर' शब्दको प्रयोग भयो ।

दशकौँसम्म 'महिलाहरूको मात्र कार्यक्षेत्र' भनेर हेपिएको यो विधामा सन् १९७१ मा एउटा ठूलो क्रान्ति भयो । 'न्युजविक' का महिला कर्मचारीहरूले आफूहरूलाई सधैँ 'रिसर्चर/फ्याक्ट चेकर' मै सीमित राखेर रिपोर्टर बन्न नदिएको भन्दै लैंगिक विभेदविरुद्ध उजुरी नै हाले । यो विद्रोहले न्युजरुमको संरचना नै हल्लाइदियो । अन्ततः, सन् १९७३ मा 'टाइम' म्यागजिनले ४ जना पुरुषलाई पनि तथ्य जाँचकका रूपमा नियुक्त गर्‍यो । 

इन्टरनेटको विकास र मिथ्या सूचनाको चुनौती

सन् १९९० को दशकमा इन्टरनेटको उदय भयो । सूचना जति सहज भयो, 'मिथ्या सूचना' त्यति नै खतरनाक बन्न थाल्यो । सन् १९९४ मा सुरू भएको 'स्नोप्स' र सन् २००३ मा स्थापित 'फ्याक्टचेक डट ओआरजी' जस्ता अनलाइन प्लेटफर्महरूले आधुनिक तथ्य जाँचको जग बसालेको मानिन्छ । 

आजभोलि हरेक जसो ठूला अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले आफ्नै छुट्टै तथ्य जाँच डेस्क खडा गरेका छन् । विश्वभर छरिएर रहेका यी तथ्य जाँचकहरूलाई एउटै छातामुनि ल्याउन पत्रकारिताको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको 'पोयन्टर इन्स्टिच्युट अफ मिडिया स्टडिज्' ले सन् २०१५ मा 'इन्टरनेसनल फ्याक्ट चेकिङ नेटवर्क' (आईएफसीएन) को स्थापना गर्‍यो । 

हाल आईएफसीएनमा विश्वभरका १७० भन्दा बढी तथ्य जाँच गर्ने संस्थाहरू आबद्ध छन् । यस विश्वव्यापी सञ्जालमा नेपालबाट 'नेपाल तथ्य जाँच' पनि आधिकारिक सदस्यका रूपमा जोडिएको छ, जसले नेपाली अनलाइन स्पेसमा फैलने भ्रमहरूलाई चिर्ने काम गरिरहेको छ ।

'विश्व तथ्य जाँच दिवस' मनाउने औपचारिक सुरुवात पनि आईएफसीएनले नै गरेको हो । सन् २०१६ मा यसको घोषणा भएपछि, सन् २०१७ देखि हरेक वर्ष अप्रिल २ लाई यस अभियानका रूपमा मनाउन थालिएको हो ।

दया दया कान्तिपुरका मिडिया रिपोर्टर हुन् ।

Link copied successfully