खाडीमा रोकिएका नेपाली नागरिकका लागि विशेष उडान सञ्चालन गर्ने सरकारको निर्णय

विशेष उडान तालिका अनुसार ३ अप्रिलमा काठमाडौं-दुबई, ४ अप्रिलमा दुबई-काठमाडौं, ५ अप्रिलमा काठमाडौं-दमाम, ५ अप्रिलमा दमाम-काठमाडौं उडान हुने छन् ।

चैत्र १९, २०८२

कान्तिपुर संवाददाता

Government decides to operate special flights for Nepali citizens stranded in the Gulf

काठमाडौँ — खाडी क्षेत्रमा बढ्दो तनाव र नियमित हवाई सेवा स्थगित भइरहेका बेला नेपाल सरकारले त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार तथा आवागमन सहज बनाउन विशेष उडान सञ्चालन गर्ने बिहीबार निर्णय गरेको छ ।

परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वमा बसेको उच्चस्तरीय बैठकमा परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण तथा नेपाल वायुसेवा निगमका वरिष्ठ अधिकारीहरूसहितको सहभागिताले यो निर्णय गरेको हो । उक्त बैठकमा पश्चिम एसियामा रहेका नेपालीहरूको सुरक्षित उद्धार, आवागमन सहजता तथा आवश्यक हवाई सेवा सञ्चालनबारे विस्तृत छलफल गरिएको थियो ।

मन्त्री खनालको निर्देशनअनुसार नेपाल वायुसेवाले ३ देखि ५ अप्रिलसम्म विशेष उडान सञ्चालन गर्ने भएको छ । पश्चिम एसियाको विद्यमान सुरक्षा अवस्थाका कारण ती क्षेत्रमा नियमित उडानहरू २८ फेब्रुअरी २०२६ देखि स्थगित रहेका छन् ।

विशेष उडान तालिका अनुसार ३ अप्रिलमा काठमाडौं-दुबई, ४ अप्रिलमा दुबई-काठमाडौं, ५ अप्रिलमा काठमाडौं-दमाम, ५ अप्रिलमा दमाम-काठमाडौं उडान हुने छन् । 

सरकारले विदेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र हितप्रति प्रतिबद्ध रहेको जनाउँदै आवश्यक कदमहरू निरन्तर चाल्ने विज्ञप्तिमा जनाएको छ ।

कान्तिपुर

Link copied successfully