प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार उनलाई ललितपुरबाट पक्राउ गरिएकाे हो ।
काठमाडौँ — सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धानमा तानिएका व्यापारी दीपक भट्टलाई बिहीबार नेपाल प्रहरीले पक्राउ गरेकाे छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार उनलाई काठमाडौंको नक्साल* क्षेत्रबाट पक्राउ गरिएकाे हो ।
यसअघि सोमबार विभागको पत्रकै आधारमा अध्यागमन विभागले भट्टलाई कालाेसूचीमा राखेर विदेश जान समेत राेक लगाएकाे थियो । भट्ट र उनी आबद्ध कम्पनी तथा त्यस मातहतका सम्पत्तिमा विभागले अनुसन्धान गरिरहेकाे छ ।
को हुन दीपक भट्ट ?
सरकारी अभिलेखअनुसार डडेल्धुराको साविक भद्रपुर गाविस–२ (हाल अजयमेरु गाउँपालिका) मा २२ माघ २०३७ मा जन्मिएका भट्ट कसरी शक्ति र सत्ताको निकट पुगे भन्ने आफैंमा रोचक विवरण छ। काठमाडौंको सानेपामा बस्ने ४४ वर्षीय भट्ट पछिल्लो डेढ दशकयता निरन्तर सत्ता र शक्तिका प्रिय पात्रका रूपमा चिनिन्छन्। भट्टमाथी विगतमा सत्तापक्ष, प्रतिपक्ष, संसद्का राज्य व्यवस्था समिति र सार्वजनिक लेखा समितिलाई प्रभावमा पार्ने गरेको आरोप लाग्दै आएको छ ।
२०७७ साउन पहिलो साताको कुरा हो। तत्कालीन नेकपाभित्र विवाद चलिरहेको थियो। तर यो विवाद सल्टाउन एक गैरराजनीतिक व्यक्ति सक्रिय थिए। उनी अरू कोही नभएर यिनै दीपक भट्ट थिए।
साउन ३ मा तत्कालीन नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच एक समझदारी भयो। त्यतिबेला नेकपामा केही नेताहरूले अध्यक्षद्वयबीचको विवाद सल्टाउन दीपकको भूमिका रहेको कान्तिपुरसँग बताएका थिए। यहीबाट थाहा हुन्छ, दीपकको पहुँच र प्रभाव कहाँसम्म छ भन्ने।
डडेल्धुराबाट कैलाली हुँदै राजधानी आएका दीपक अहिले इन्फिनिटी होल्डिङ्समा प्रमुख हुन्। यही निजी कम्पनीमार्फत भट्टले जलविद्युत्, हतियार, हेलिकोप्टरलगायत विदेशी कम्पनीका एजेन्ट बनेर सत्ता र शक्तिसँगको मिलेमतोमा काम गर्दै आएको आरोप छ। रोचक त के छ भने इन्फिनिटी होल्डिङ्समा काम गर्ने धेरैजसो कर्मचारी विदेशी कम्पनीका एजेन्टका रूपमा देखिन्छन्। तिनै कर्मचारीलाई अघि सारेर दीपकले बिचौलियाको भूमिका खेलेको आरोप लाग्दै आएको छ।
ट्राभल एजेन्सी, होटल, घरजग्गा कारोबार, परामर्शदातालगायतमा पनि दीपकको कम्पनी जोडिएको छ। बीमा, लघुवित्तलगायतमा पनि उनको प्रत्यक्ष/परोक्ष साइनो देखिन्छ। यी भट्टलाई सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा विस्तृत अनुसन्धान सुरु गरेर अध्यागमनले कालोसूचीमा राखेको थियो।
*यसअघि उनलाइ पाटन क्षेत्रबाट पक्राउ गरिएको भएकोमा सच्याइएको छ । - सम्पादक
