ललितपुर महानगरपालिका–१४ गोदावरीका २४ वर्षीय मनिष शाक्य थारेपाटी क्षेत्रबाट कुटुमसाङ फर्कने क्रममा मंगलबार बाटो भुली ग्याङ्गस्थित पहाडको खोचमा फसेका थिए ।
सिन्धुपाल्चोक — पर्यटकीय पदमार्ग हेलम्बु–लाङटाङ–गोसाईकुण्ड ट्रेकिङ रुटमा हराएका एक युवकलाई संयुक्त सुरक्षा टोलीले १२ घण्टापछि सकुशल उद्धार गरेको छ ।
ललितपुर महानगरपालिका–१४ गोदावरीका २४ वर्षीय मनिष शाक्य थारेपाटी क्षेत्रबाट कुटुमसाङ फर्कने क्रममा बाटो भुली ग्याङ्गस्थित पहाडको खोचमा फसेका थिए ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मंगलबार दिउँसो उनको अवस्थाबारे सूचना प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरिएको थियो । उद्धारमा नेपाली सेनाको श्रीनाथ गण सुरक्षा गुल्म शेर्माथाङ, इलाका प्रहरी कार्यालय हेलम्बु र अम्बाथानस्थित सशस्त्र प्रहरी टोली सहभागी थिए।
जिल्ला प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार खोजतलासपछि बुधबार उनलाई सकुशल उद्धार गरिएको हो ।
उद्धारपछि नजिकैको स्वास्थ्य चौकीमा प्रारम्भिक स्वास्थ्य परीक्षण गरी घर पठाइएको प्रहरीले जनाएको छ । 'पुरानो ट्रेकिङ रुटमा उनी एक्लै थिए, मोबाइलमा नेटवर्क नभएपछि उनी खोचमा अलपत्र परेका थिए, लोकेसन पत्ता लगाउन धेरै गाह्रो भयो,' एसपी आचार्यले भने । उद्वारलगत्तै स्वास्थ्य परीक्षण गरेर काठमाडौं पठाएको उनले बताए ।
