अदालतले दुवै जनालाई सांसदको हैसियतमा काम नगराउन माग गरेकोमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै लिखित जवाफ माग गरेको हो
काठमाडौँ — सर्वोच्च अदालतले कांग्रेसका अर्जुननरसिंह केसी र एमालेकी पद्मा अर्याललाई सांसदको हैसियतमा काम गर्न नदिन माग गर्दै दायर भएको रिटमा कारण देखाऊ आदेश जारी गरेको छ ।
अदालतले दुवै जनालाई सांसदको हैसियतमा काम नगराउन माग गरेकोमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै लिखित जवाफ माग गरेको हो । साथै रिटलाई अग्राधिकारमा राखेर सुनुवाइ गर्न आदेश दिएको छ ।
रिट निवेदक खचान्जी महतोले दायर गरेको रिटमा बुधबार सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासले समानुपातिक सांसदमा दुई जनालाई निर्वाचित गराउनुको कारण पेस गर्न संघीय संसद् सचिवालय र निर्वाचन आयोगलगायतको नाममा आदेश दिएको हो ।
रिट निवेदक महतोले खस आर्य कलस्टरबाट पटक-पटक पदको लाभ लिएको भन्दै केसी र अर्यालविरुद्ध रिट दिएका थिए । महतोले दुई जनाले पटक-पटक मन्त्री पदको लाभ लिइसकेको र समानुपातिक प्रणालीको धज्जी उडाएको भन्दै सांसदको हैसियतमा काम नगराउन माग गर्दै अन्तरिम आदेश माग गरेका थिए ।
