कर्णालीका ३ हजार ३४ सामुदायिक विद्यालयमध्ये माध्यमिक तहमा १ हजार ७ सय ४९ शिक्षक अपुग, दुर्गमका विद्यालयमा शैक्षिक सत्र सुरु भएको २–३ महिनापछि मात्र पुग्छ पाठ्यपुस्तक।
What you should know
सुर्खेत र कालीकोट — देशभर माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबार सुरु हुँदै छ । तर, शिक्षक र पुस्तक अभावका कारण कर्णालीका विद्यार्थी आधा कोर्स पढेर एसईई दिनुपर्ने बाध्यतामा छन् ।
कालीकोटको शुभकालिका गाउँपालिका–१ छातीस्थित जनता माध्यमिक विद्यालयकी कक्षा १० की छात्रा जमुना रोक्काले यस वर्ष अधिकांश विषयको कोर्स पूरा नभएरै एसईई दिँदै छिन् । ‘अंग्रेजीको ७, विज्ञानको १३, गणितको १० युनिटसम्म मात्र पढाइ भएको थियो, त्यसपछि जाडो बिदा भयो,’ उनले भनिन्, ‘त्यसयता धेरै साथी ट्युसन पढ्न सुर्खेत र सदरमुकाम मान्म गएपछि नियमित पढाइ नै भएन, स्कुलले कोचिङ पढायो, तर पनि सबै कोर्स सकिएन ।’
जनता माविमा कक्षा ९ र १० मा स्थायी दरबन्दीको शिक्षकको संख्या शून्य छ । पालिका र संघीय अनुदानबाट माध्यमिक तहमा अंग्रेजी र गणितका दुई शिक्षक राखिएका छन् । प्राथमिक तहका शिक्षक दीपेन्द्र अधिकारीले विज्ञान विषय पढाउँदै आएका छन् । ‘असार–साउनमा बर्खे बिदा भयो, लगत्तै जेन–जी आन्दोलनले दुई साता पढाइ रोकियो,’ अधिकारीले भने, ‘असोजमा दसैं–तिहार र पुस–माघमा जाडो बिदाले पनि असर पार्यो ।’ यो विद्यालयबाट २८ जनाले एसईई दिँदै छन् ।
पालिकाका शिक्षा शाखा प्रमुख नवराज आचार्यका अनुसार शुभकालिकाका ७ माविमध्ये ५ वटामा कक्षा ९ र १० मा दरबन्दी शून्य छ, जसका कारण अधिकांश प्राथमिक तहका शिक्षकले एसईई दिने विद्यार्थीलाई पढाउनुपर्ने बाध्यता छ । यही कारण विद्यार्थी ट्युसन पढ्न मान्म र सुर्खेत जाने गरेको उनको भनाइ छ ।
विद्यार्थीले समयमै पाठ्यपुस्तक नपाएको पनि गुनासो गरेका छन् । दुर्गमका विद्यालयमा शैक्षिक सत्र सुरु भएको २–३ महिनापछि मात्र पुस्तक पुग्ने गरेको गुनासो छ । वैशाख पहिलो साता पुग्नुपर्ने पाठ्यपुस्तक गतवर्ष शिक्षक आन्दोलनका कारण असारमा पाइएको कालीकोटको दुर्गा मावि रतडाका विद्यार्थी पारस बोहराले बताए । पालिकाका शिक्षा शाखा प्रमुख आचार्यले जनक शिक्षा सामग्री केन्द्रले समयमै किताब दिन नसकेकाले दुर्गमका विद्यालयमा पाठ्यपुस्तक पुग्न नसकेको जानकारी दिए । ‘पाठ्यपुस्तक किन्न ७५ प्रतिशत रकम वैशाखअघि नै विद्यालयलाई दिने गर्छौं । रकम अपुग भए पनि बिलको आधारमा असार मसान्तसम्म भुक्तानी दिने गर्छौं,’ उनले भने ।
कालीकोटकै तिलागुफा–२ सादास्थित दुर्गा माविको कक्षा १० की नविना बोहरासहित १३ विद्यार्थी ट्युसन पढ्न ५ महिनाअघि सुर्खेत आएका थिए । नविना परीक्षा दिन कालीकोट फर्किसकेकी छन् । ‘दसैं–तिहार बिदासम्म विद्यालय गयौं, कोर्स सकिने अवस्था देखिएन, त्यसैले ट्युसन पढ्न कात्तिकदेखि सुर्खेत आएका हौं,’ उनले भनिन् ।
दुर्गमका सामुदायिक विद्यालयमा कोर्स पूरा नहुँदा त्यसको मार अभिभावकले पनि भोगिरहेको तिलागुफा–२ का अभिभावक मानबहादुर शाहीले बताए । उनका छोरा प्रकाशले पनि यो वर्ष एसईई दिँदै छन् ।उनका अनुसार कात्तिकसम्म गणितको ज्यामितिको इकाइ नै सुरु भएको थिएन भने अंग्रेजीको व्याकरण तथा विज्ञानतर्फ रसायन विज्ञानका पाठ सुरु भएका थिएनन् । उनले प्रतिमहिना ३ हजार रुपैयाँका दरले तीन विषयको ट्युसन लिएको र खान–बस्नमा मासिक १० हजार रुपैयाँसम्म खर्च भएको जानकारी दिइन् । यो विद्यालयमा प्राथमिक र निम्न माध्यमिक तहका ७ स्थायी शिक्षक छन् । दुई शिक्षकलाई पालिकाले खर्च व्यहोर्ने गरी राखिएको छ ।
विद्यालयकी सामाजिक विषयकी शिक्षिका दुर्गा शाहीले सामाजिक, नेपाली, स्वास्थ्य–शारीरिकजस्ता विषयको कोर्स पनि आधा पूरा नहुँदै विद्यार्थी बाहिर गएपछि पठनपाठनमा समस्या भएको बताइन् । ‘ट्युसन पढ्न बाहिर जाने त यहाँका लागि फेसनजस्तै भइसक्यो,’ उनले भनिन्, ‘अत्यधिक चिसो हुने भएकाले हिउँदमा जाडो बिदा दिन्छौं, तर विद्यार्थी त्यसअघि नै ट्युसन पढ्न बाहिर गइहाल्छन्, उनीहरू नभए कसरी पढाउने ?’
दुर्गमका सामुदायिक विद्यालयमा कोर्स पूरा नहुँदा त्यसको मार अभिभावकले पनि भोगिरहेको तिलागुफा–२ का अभिभावक मानबहादुर शाहीले बताए । उनका छोरा प्रकाशले पनि यो वर्ष एसईई दिँदै छन् । ‘सुर्खेत पठाउँदा कोठाभाडा र खानाखर्चसहित महिनामा कम्तीमा २० हजार रुपैयाँ खर्च हुन्छ,’ उनले भने, ‘कर्जा गरेरै भए पनि बालबालिकालाई एसईईको तयारीका लागि बाहिर पठाउनुपर्ने बाध्यता भयो ।’
कर्णाली प्रदेशको शिक्षा विकास निर्देशनालयले २०८० मा १ सय १० विद्यालयमा गरेको अध्ययनअनुसार शैक्षिक सत्रको अन्त्यसम्ममा मुस्किलले ६० प्रतिशत कोर्स पूरा हुने गरेको छ । शिक्षक तथा भौतिक पूर्वाधार अभाव, समयमै पाठ्यपुस्तक नपुग्नु, विद्यार्थी र शिक्षक नियमित कक्षामा उपस्थित नहुनुलगायत कारण कर्णालीको शैक्षिक गुणस्तर खस्किँदै गएको निमित्त शिक्षा निर्देशक दीपा हमालले बताइन् ।
कर्णालीबाट गत वर्ष एसईईमा ३५ हजार ६१ परीक्षार्थी सहभागी भएकामा २० हजार ३ सय ८४ जना उत्तीर्ण भएका थिए । प्रदेशभरि ७ सय ३० सामुदायिक तथा निजी विद्यालयबाट परीक्षार्थी सहभागी भएकामा ४६ विद्यालयबाट एक जना विद्यार्थी पनि उत्तीर्ण हुन नसकेको निर्देशनालयको तथ्यांक छ । कर्णालीबाट गत वर्ष ३.६१ देखि ४ जीपीएसम्म ल्याउने विद्यार्थीको संख्या ४ सय २ मात्र थियो ।
कर्णालीमा बर्सेनि एसईई नतिजा घट्दो क्रममा छ । गत वर्ष कर्णालीबाट ५८.१३ प्रतिशत उत्तीर्ण भएकामा २०८० को एसईईमा ६४ र त्यसअघि ६४.८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । कर्णालीमा अंग्रेजी, गणित र विज्ञान विषयका मात्रै ६ सय ५४ शिक्षकको अभावले एसईई नतिजामा बर्सेनि असर परिरहेको प्रदेशको सामाजिक विकास मन्त्रालयको शिक्षा महाशाखा प्रमुख बलवीर सुनारले बताए । उनका अनुसार ३ हजार ३४ सामुदायिक विद्यालयमध्ये माध्यमिक तहमा ३ हजार १ सय ९ शिक्षकको दरबन्दी कायम गरिएको छ । तर माध्यमिक तहमा १ हजार ७ सय ४९ शिक्षक अपुग छन् । अहिलेसम्म स्थायी, अस्थायी र राहतमा १ हजार ३ सय ६० शिक्षक मात्र कार्यरत छन् ।
हुम्ला, डोल्पा, मुगु र कालीकोटमा अत्यधिक हिमपात हुने भएपछि माथिल्लो बस्तीका स्थानीय बर्सेनि कात्तिक पहिलो सातादेखि फागुन अन्तिमसम्म बेंसीतिर बसाइ सर्छन् । झन्डै ५ महिना अभिभावकसँगै विद्यार्थी पनि बाहिर जाने भएकाले पढाइ रोकिन्छ ।दुर्गमका विद्यालयमा धेरै पटक विज्ञापन गर्दा पनि आवेदन नपर्ने समस्या छ । हुम्लाको सर्केगाड गाउँपालिका–१ जैरगाउँस्थित सरस्वती माध्यमिक विद्यालयले विज्ञान र गणित विषयका लागि गत भदौदेखि आवेदन खुलाए पनि अझै शिक्षक पाएको छैन । ५ भदौमा पहिलो पटक एक साताको सूचना प्रकाशित गरेको विद्यालयले ३ चैतमा नवौं पटक फेरि दरखास्त आह्वान गरेको विद्यालयका प्रधानाध्यापक जयबहादुर बमले बताए । ‘विज्ञान र गणित विषयमा मावि तहको शिक्षक पाउनै सकिएन,’ उनले भने, ‘शिक्षक नै नपाएपछि विद्यार्थीले आफैं एसईईको तयारी गरेका छन् ।’
त्यस्तै, गत ३० कात्तिकमा गणित शिक्षकका लागि १९औं पटक विज्ञापन गर्दा मात्र कालीकोटको नरहरिनाथ–७ स्थित रूपादेवी माध्यमिक विद्यालयले शिक्षक पायो । विद्यालयमा अहिले मीनबहादुर बुढा संघीय मावि अनुदानमा कार्यरत छन् । ‘शैक्षिक सत्रको आधाभन्दा बढी समय त शिक्षक खोज्दै गयो,’ विद्यालयका प्रधानाध्यापक दानबहादुर बुढाले भने, ‘मंसिरदेखि पढाउँदा कोर्स पूरा गर्नै मुस्किल भयो, विद्यार्थी ट्युसनका भरमा एसईई दिन बाध्य भए ।’ २०३५ मा स्थापना भएको यो विद्यालयमा ३ सय ७५ विद्यार्थी छन् । तीन प्रावि स्थायी दरबन्दीको भरमा विद्यालय चलेको छ । पठनपाठनमा समस्या भएपछि विद्यालयमा गाउँपालिका अनुदान र निजी स्रोतमा १३ शिक्षक राखिएको छ । विद्यालयबाट यो वर्ष ३५ विद्यार्थीले एसईई दिँदै छन् ।
हुम्ला, डोल्पा, मुगु र कालीकोटमा अत्यधिक हिमपात हुने भएपछि माथिल्लो बस्तीका स्थानीय बर्सेनि कात्तिक पहिलो सातादेखि फागुन अन्तिमसम्म बेंसीतिर बसाइ सर्छन् । झन्डै ५ महिना अभिभावकसँगै विद्यार्थी पनि बाहिर जाने भएकाले पढाइ रोकिन्छ । मुगुको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले दुर्गम ठाउँका विद्यालयमा शिक्षक नै आउन नमान्ने र आए पनि नियमित विद्यालयमा उपस्थित नहुँदा सिकाइस्तर कमजोर बन्दै गएको बताए । ‘शिक्षक नभए विद्यार्थीले कसरी सिक्छन्, कसरी कोर्स पूरा हुन्छ ?’ उनले भने, ‘हाम्रा लागि वैशाखदेखिको शैक्षिक सत्र नै अव्यावहारिक छ ।’
यार्सागुम्बुको सिजन, विभिन्न चाडबाड, जिल्लाबाहिरका शिक्षक बढी समय बिदा बस्दा र नियमित विद्यालय नआउँदालगायत कारण पनि कोर्स सकिन मुस्किल हुने गरेको लामाको भनाइ छ । ‘यार्साको सिजनमा त २ महिनासम्म अभिभावकसँगै विद्यार्थी पाटन जान्छन्, खेतीपातीका काम र विभिन्न चाडपर्वले पनि विद्यार्थीलाई १/२ साता विद्यालय जान डिस्टर्ब हुन्छ,’ उनले भने, ‘शिक्षक, विद्यार्थी, व्यवस्थापन समिति सबैको लापरबाहीले हाम्रो पढाइ खस्किँदै गएको छ ।’
कर्णालीमा यो वर्ष ३८ हजार ३ सय ७९ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै छन् । प्रदेशभरिका १ सय ६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २ सय ५५ र ग्रेड वृद्धितर्फ ६ हजार १ सय २४ विद्यार्थी एसईईमा सहभागी हुने शिक्षा विकास निर्देशनालयका परीक्षा शाखा प्रमुख खिमप्रसाद ढकालले बताए । उनका अनुसार सबैभन्दा बढी सुर्खेतबाट ९ हजार ७ सय ७० र सबैभन्दा कम डोल्पाबाट ६ सय ७४ विद्यार्थी एसईईमा सहभागी हुन थालेका हुन् । सुर्खेतमा सबैभन्दा बढी ३४ र सबैभन्दा कम डोल्पामा चार परीक्षा केन्द्र कायम गरिएको छ ।
एसईईमा ५ लाख १२ हजार परीक्षार्थी
माध्यमिक शिक्षा परीक्षा (एसईई) बिहीबारदेखि सञ्चालन हुँदै छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी परीक्षामा सहभागी हुँदै छन् । परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य छन् ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार जापानको एभरेस्ट स्कुलसहित १ हजार ९ सय ६६ परीक्षा केन्द्रमा एसईई हुनेछ । एभरेस्ट स्कुल जापानमा २३ परीक्षार्थी छन् । परीक्षा सञ्चालनका लागि केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी करिब ७३ हजार जनशक्ति परिचालन गरिँदै छ । ‘सबै जिल्लाका सदरमुकाममा प्रश्नपत्रलगायतका परीक्षा सामग्री पुर्याइसकिएको छ । प्रदेश तहबाट परीक्षा व्यवस्थापनको काम हुन्छ,’ परीक्षा नियन्त्रक अधिकारीले भने ।
राष्ट्रिय परीक्षा बोर्डले ७ माघमा समयतालिका सार्वजनिक गरेको थियो । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ । पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ ।
२० चैतमा अनिवार्य नेपाली, २२ मा अनिवार्य गणित, २३ मा विज्ञान तथा प्रविधि, २४ मा सामाजिक अध्ययन, २५ मा ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ मा ऐच्छिक द्वितीय खण्डका सबै विषयको परीक्षा हुनेछ । २७, २८ र २९ चैतमा प्राविधिक धारका बाँकी विषयको परीक्षा हुनेछ ।
