अप्रिल १ अर्थात् ‘अप्रिल फूल’को अवसर पारेर नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत अनौठो शैलीमा डिजिटल ठगीविरुद्ध सचेतना अभियान सञ्चालन गरेको छ।
काठमाडौँ — अप्रिल १ अर्थात् ‘अप्रिल फूल’को अवसर पारेर नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत अनौठो शैलीमा डिजिटल ठगीविरुद्ध सचेतना अभियान सञ्चालन गरेको छ।
प्रहरीले बुधबार दिउँसो १२:१५ बजे आफ्नो आधिकारिक फेसबुक पेजमा ‘तपाईंविरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन?’ भन्दै क्यूआर कोडसहितको पोस्ट सार्वजनिक गरेको थियो। पोस्टमा हत्कडी लगाइएको तस्वीरसमेत राखिएको थियो, जसले धेरै प्रयोगकर्तालाई आकर्षित गर्यो।
तर, क्यूआर कोड स्क्यान गरेपछि प्रयोगकर्ताले ‘अप्रिल फूल’सँग जोडिएको सन्देश देखे-‘आज हामीले मजाक गर्यौं, तर भोलि यस्तै क्यूआरबाट तपाईं स्क्याममा पर्न सक्नुहुन्छ।’
प्रहरीले यसमार्फत अज्ञात स्रोतबाट आएका क्यूआर कोड स्क्यान नगर्न र परिवारका सदस्यलाई पनि सचेत गराउन आग्रह गरेको छ।
डिजिटल ठगीका घटना बढिरहेका बेला सुरु गरिएको यो अभियान सामाजिक सञ्जालमा व्यापक चर्चामा आएको छ।
केहीले ‘झुक्याएरै भए पनि प्रभावकारी सन्देश दिएको’ भन्दै प्रशंसा गरेका छन् भने केहीले आधिकारिक निकायले यस्ता भ्रामक शैली अपनाउँदा विश्वासमा असर पर्न सक्ने टिप्पणी गरेका छन्।
