सडक विस्तारसँगै हात्ती, गैंडा, बाघलगायतका वन्यजन्तु संरक्षणका लागि नेपालमै पहिलोपटक फराकिलो एनिमल पाससमेत बनाइँदैछ ।
चितवन — पूर्व-पश्चिम राजमार्गको नारायणगढ-पथलैया खण्ड विस्तार हुँदैछ । हाल दुई लेनको रहेको सय किलोमिटर दूरीको सडकलाई चार लेनको बनाउने योजनाका साथ प्रक्रिया अगाडि बढेको छ । यो दूरीभित्र चितवन राष्ट्रिय निकुञ्जलाई चुरे र महाभारत पर्वतसँग जोड्ने महत्त्वपूर्ण जैविक मार्ग बरण्डाभार जंगल पर्दछ । साथै पर्सा राष्ट्रिय निकुञ्जको महत्त्वपूर्ण आधाभार जंगल पनि यहीभित्र पर्दछ ।
दुई लेनको सडकलाई चार लेनको बनाउँदा आवतजावत पक्कै सहज हुने छ । तर वन्यजन्तुलाई के होला ? वन्यजन्तुलाई पनि असर पर्ने भएका कारण यो खण्डको दुई ठाउँमा दुई-दुई किलोमिटरको लामो फराकिलो एनिमल पास (जनावर ओहरदोहर गर्न मिल्ने संरचना, भायडक्ट) बन्दै छ । यस्तो ठूलो संरचना नेपालमै पहिलो हो । साथै निर्माणकै बेलामा पनि जीव जनावर र चरालाई समेत असर नगर्ने योजना छ ।
यो योजनामा ठूला जंगली जनावर हात्ती, गैंडा, बाघदेखि गिद्धको गुँडसम्म जोगाउने उपाय अवलम्बन हुनेछन् । पथलैया-हेटौंडा-नारायणगढ सडक स्तरोन्नतिको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन सडक विभागले चैत्र १६ मा सार्वजनिक गर्दै त्यसलाई अन्तिम रूप दिन राय सुझाव आह्वान गरेको छ । सो प्रतिवेदनमा वातावरण र जीवजनावरमा पर्ने असर र कम गर्ने उपाय उल्लेख छन् ।
राजमार्गको नारायणगढ-पुलचोकदेखि भरतपुर गोन्द्राङसम्म ६ किलोमिटर सडक ६ लेनको बनाउने क्रममा २०७८ सालको माघमा दु:खद् घटना भएको थियो । नालाका लागि खनेको खाल्डोमा परेर गैंडा मरेपछि संरक्षणकर्मीहरूले विकास निर्माणको काममा हेलचक्र्याइँ भएको भन्दै विरोध गरेका थिए । सम्बन्धित पक्षलाई कानुनी कारबाही हुनुपर्ने माग उठेको थियो ।
कारबाही हुने सम्भावना बढ्दै गएपछि निर्माण व्यवसायी पनि प्रतिवादमा उत्रेका थिए । उक्त ६ लेनको सडक जहाँ पुगेर टुङ्गिएको यिथो त्यसैको ठीक पूर्वबाट राजमार्ग विस्तारको काम हुन लागेको हो । विस्तारका बेला राष्ट्रिय निकुञ्ज, बरण्डाभार करिडोर (जैविक मार्ग) र बफरजोन हुँदै जाने सडकमा काम गर्दा कामदार र वन्यजन्तुको सुरक्षालाई पनि ख्याल राखिने ईआईए प्रतिवेदनमा उल्लेख छ ।
वन्यजन्तु सक्रिय हुने बिहान र बेलुकाको समयमा निकुञ्ज क्षेत्रमा काम नगर्ने भनिएको छ । गर्मीयाममा बिहान ८ देखि साँझ ६ बजेसम्म र हिउँद याममा बिहान ९ देखि साँझ ५ बजेसम्म काम गर्ने योजना छ । निर्माण तालिका निकुञ्ज कार्यालय र सम्बन्धित अन्य कार्यालयहरूलाई पनि उपलब्ध हुने छ । सोअनुसार समन्वय गरेर काम हुने छ । काम रोकिएपछि खाल्डो र खाली स्थान ढाकेर छाड्नु पर्ने छ ।
‘यो वन्यजन्तु र निर्माण टोलीको सदस्यहरूका लागि अनिवार्य अभ्यास हुने छ,’ ईआईए प्रतिवेदनमा उल्लेख छ । कर्मचारीको शिविर निकुञ्ज र वन क्षेत्रमा नराख्ने, काम गर्दा समूहमा रहने, वन्यजन्तु भेटिएमा सुरक्षित रहने विधिका बारेमा प्रशिक्षण पनि दिनु पर्ने छ । मान्छेसँग टकराव हुने ठूला जीव जनावरका साथै प्रतिवेदनमा चराका बारेमा पनि चासो उल्लेख भएको छ ।
वन क्षेत्रमा सडकको चौडाइ अन्यत्रको भन्दा कम २४ मिटर कायम गरिएका कारण चराहरूमा कम असर पर्न जाने भनिएको छ । महत्त्वपूर्ण वन र सिमसार क्षेत्रमा कुनै निर्माण सामग्री भण्डारण नगर्ने प्रतिबद्धता आयोजनाको छ । यदि पन्छी (गिद्धसमेतको) प्रजनन् समय अक्टोबर अप्रिलभित्र वनस्पति सफा गर्नुपर्ने समय आएमा रुख र ढुंगा काट्नुअघि संवेदनशील बाज र ठूला पन्छीको गुँड जाँच हुने छ ।
‘सक्रिय गुँड फेला परेमा त्यहाँ वरपर निषेध क्षेत्र स्थापना गरी साना पन्छी उडेर जान नपाउँदासम्म कुनै बाधा वा असुविधा पुर्याइने छैन,’ प्रतिवेदनमा भनिएको छ । त्यस्तै गरी पानीमा बस्ने माछालगायतका जीवलाई जोगाउने उपाय पनि आयोजनाले अपनाउनुपर्ने छ । विस्तारको काममा खटेका कामदारले माछा मार्न पाउने छैनन् । माछाको प्रजनन् समयमा पुल, क्रस ड्रेनेजको काम नगर्ने भनिएको छ ।
‘वन तथा निकुञ्ज क्षेत्रमा वातावरण र जनावरको हितलाई ध्यान दिएर विशेष नीति पालाना गर्नुपर्ने हुन्छ । यसअघि पनि यस्तो हुँदै आएको हो । र बेलाबेलामा केही खास विषय उठ्छन् त्यसलाई पनि ख्याल राखेर काम गर्ने भएका छौं,’ सडक विभागका उपआयोजना निर्देशक प्रदीपराज शाक्यले भने । गोन्द्राङमा गैंडा जस्तै मुग्लिन-पोखरा सडक विस्तारमा गिद्धको गुँडको विषय आएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुखसमेत रहेका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले जनावरको हितका लागि यस्तो प्रवधान राखेको झैँ लागे पनि मानवीय हितका लागि नै यसो गर्नु परेको बताए । ‘जीवजनावरको संरक्षणको विषय मानवीय हितका लागि नै हो । विकास निर्माणले उनीहरूलाई दिने बाधा हटाउनु मान्छेका लागि पनि राम्रो हुन्छ । त्यसैले विकास निर्माणमा जनावरको पनि हित हेर्नुपर्ने हुन्छ,’ उनले भने ।
बरण्डाभार जंगल चितवन निकुञ्जलाई महाभारत र चुरेसँग जोड्ने महत्त्वपूर्ण जैविक मार्ग भएका कारण यसमा बन्ने संरचनाले वन्यजन्तु ओहर दोहरलाई बाधा दिन नहुने उनले बताए । ‘साथै निर्माणका क्रममा पनि जीवजनावरलाई असर नहोस् भनेर प्रावधान राखिएको हो भने त्यसको पूर्ण कार्यान्वयन हुनुपर्छ । यसतर्फ पनि हाम्रो चासो कायम छ,’ पन्तले भने ।
पूर्व-पश्चिम राजमार्ग नेपालको प्रमुख आन्तरिक तथा अन्तर्राष्ट्रिय व्यपारिक राजमार्ग हुनुका साथै एसियाली राजमार्ग–२ (एएच–२) को खण्ड पनि रहेको छ । दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (एसएसीईएसी) सडक सुधार आयोजनाले पूर्व-पश्चिम राजमार्गमा पर्ने पुलसहित २७० किमी सडकखण्ड स्तरोन्नति गर्दैछ । जसमध्ये काँकाडभिट्टा-लौकाही सडक खण्ड १२० किमी, बुटबल-गोरुसिंगे सडक खण्ड ५० किमी तथा पथलैया-हेटौंडा-नारायणगढ सडकखण्ड १०० किमी रहेको छ ।
यस प्रस्तावित आयोजनाले पथलैया-हेटौंडा-नारायणगढ सडकखण्डका सबै पुल पुलेसासहित दुई लेनको सडकलाई चार लेनमा स्तरोन्नति गर्ने छ । यो सडक खण्डले मधेश प्रदेशको बारा जिल्ला र बागमती प्रदेशको मकवानपुर र चितवन जिल्लालाई छोएको छ । पथलैया–हेटौंडा–नारायणघाट सडक, स्तरोन्नतिपश्चात ट्राफिक जाम कम हुने, यात्राको गुणस्तर बढ्ने र सडक सुरक्षामा सुधार ल्याउने आशा छ । यस सडकखण्डको पथलैयादेखि अमलेखगञ्ज खण्डमा पर्सा निकुञ्जको आधारभार घना जंगल, त्यसपछि शिवालिक क्षेत्र, रजैया जंगल खण्डका साथै मनहरि लोथर क्षेत्रमा पनि वन क्षेत्र पर्दछ । अनि चितवनमा बरण्डाभार करिडोर पनि पर्दछ । सडकको चौडाइ सहरी क्षेत्रमा ५० मिटर सहरोन्मुख तथा अर्धसहरी क्षेत्रमा ३७ दशमलव चार मिटर, गाउँ र वन क्षेत्रमा २४ मिटर हुने छ ।
सहरी क्षेत्रमा पैदलयात्रु क्रसिङका लागि ६ स्थानमा आकाशे पुल र १२ स्थानमा अण्डरपास हुने छ । वन क्षेत्रमा पर्सा निकुञ्जको आधाभार जंगल र भरतपुर टिकौलीबीचको बरण्डाभार जंगलसहित दुई ठाउँमा गरेर चार किलो मिटरको भायडक्टसहित २१ स्थानमा वन्यजन्तु क्रसिङ रहने छन् । सडक र पुल निर्माणका लागि ५४ अर्ब २९ करोड ३६ करोड ४७ लाख ५२६ रुपैयाँ अनुमानित लागत रहेको छ ।
साढे तीन वर्षमा सक्ने लक्ष्य राखेको यो आयोजना सन् २०२६ मा सुरू गर्ने भनिएको छ । यो प्रतिदिन १२ देखि २५ हजारसम्म गाडी ओहोरदोहोर गर्ने सडक हो । सडक विस्तारको चरणमा २३ हजार ३२६ रुख काट्नुपर्ने हुन्छ । जसमध्ये बारामा ९ हजार ६४६, मकवानपुरमा १० हजार २७८ र बाँकी ३ हजार ४०२ रुख चितवनमा काट्नु पर्ने हुन्छ ।
वर, पिपल र समी गरी ४०४ रुख काट्नुपर्छ । विस्तार हुने सडक क्षेत्रमा २२ वटा खोला र नदी छन् । जंगली हात्ती, गैंडा, पाटो बाघ जस्ता दुर्लभ जंगली जनावरहरूसहित ५९ प्रजातिका स्तनधारी, चारवटा अत्यन्त सक्रिय जैविक मार्ग छन् भने ३१ प्रजातिका चरा, राजगोमन, सुनगोहोरो, भ्यागुता जस्ता, २३ प्रजातिका सरिसृप तथा उभयचर र खोलाहरूमा १५ प्रजातिका माछाहरू भेटिएको छ ।
विस्तारको क्षेत्रभित्र एक महानगरपालिका, दुई उपमहानगरपालिका, तीन नगरपालिका र एक गाउँपालिका गरी तीन जिल्लामा ९ लाख ५७ हजार ६९९ जनसंख्या बसोबास गर्ने एक हजार ८६७ घरधुरी रहेको प्रतिवेदनमा उल्लेख छ । ईआईए स्वीकृतपछि डिजाइन पास गरेर ठेक्का आह्वान गर्ने उपआयोजना निर्देशक प्रदीपराज शाक्यले बताए । सन् २०२६ भित्रै ठेक्का सम्झौता हुने उनको भनाइ छ ।
मानिसको घना बसोबास र सहरी क्षेत्र पर्ने यो आयोजनाभित्र दुर्लभ वन्यजन्तुको बासस्थलका साथै ओहोदोहोर गर्ने करिडोरहरू पनि छ । त्यसैले पनि वन्यजन्तुमैत्री तरिकाले विकास निर्माण गरिनुपर्ने संरक्षणकर्मी डोमा पौडेल बताउँछिन् । ‘विकास नगर भन्न भएन तर विकासको प्रभाव वन्यजन्तुमा पर्न भएन । घटाउन सक्ने उपाय अपनाऔँ । कागजमा लेखेर मात्रै भएन, कार्यान्वयनमा पनि जाऔँ,’ उनले भनिन् ।
