लगानी प्रवर्द्धन तथा निजी क्षेत्र विकासमा अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्य अत्यावश्यक : अध्यक्ष ढकाल

महासंघ र कूटनीतिक समुदाय तथा विकास साझेदारहरूसँगको सहकार्यले नेपालको निजी क्षेत्र सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको अध्यक्ष ढकालको भनाइ छ ।

चैत्र १८, २०८२

कान्तिपुर संवाददाता

Collaboration with international community essential for investment promotion and private sector development: Chairman Dhakal

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय समुदायसँगको सहकार्यले लगानी प्रवर्द्धन तथा निजी क्षेत्र विकासमा उल्लेखनीय उपलब्धि हासिल भएको बताएका छन् ।

कूटनीतिक समुदाय तथा विकास साझेदारहरूसँग मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले विगतका वर्षहरूमा महासंघ र वैदेशिक साझेदारहरूबीचको सम्बन्धले नयाँ उचाइ लिएको उल्लेख गरे । उनले नेपालको आर्थिक विकास र निजी क्षेत्रको सशक्तीकरणका लागि अन्तर्राष्ट्रिय विकास साझेदार तथा कूटनीतिक निकायको सहयोग अपरिहार्य रहेको समेत बताए ।

महासंघ र कूटनीतिक समुदाय तथा विकास साझेदारहरूसँगको सहकार्यले नेपालको निजी क्षेत्र सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । 

उनले भने, ‘नीति संवाददेखि लगानी प्रवर्द्धन र क्षमता अभिवृद्धिसम्मका क्षेत्रमा तपाईंहरूको सहकार्यले हामीलाई अघि बढ्न ठूलो मद्दत गरेको छ । महासंघको नयाँ नेतृत्वले पनि कूटनीतिक तथा विकास साझेदारहरूसँगको सम्बन्ध अझ सुदृढ बनाउने छ ।’

अध्यक्ष ढकालले व्यापार, लगानी तथा व्यवसाय–देखि–व्यवसाय सम्बन्ध प्रवर्द्धनमा उनीहरूको योगदानले नयाँ अवसर सिर्जना गरेको बताए । उद्यमशीलता प्रवर्द्धन तथा संस्थागत सुदृढीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताएका थिए । 

हरित विकास, सीप विकास, नवप्रवर्तन र समावेशी व्यवसायका क्षेत्रमा भएका संयुक्त प्रयासले सकारात्मक परिणाम देखाउन थालेको ढकालले बताए । ‘डिजिटल अर्थतन्त्र र हरित व्यवसायजस्ता उदीयमान क्षेत्रमा पनि महासंघले ध्यान केन्द्रित गरेको छ,’ उनले भने, ‘चुनौतीपूर्ण समयमा समेत अन्तर्राष्ट्रिय समुदायले नेपाललाई निरन्तर साथ दिएकाले नेपालप्रतिको विश्वास र प्रतिबद्धता झल्काएको छ ।’

कान्तिपुर

Link copied successfully