जिल्ला अस्पतालका डा. विदुर तिवारीका अनुसार सुत्केरी अवस्थामा नियमित स्वास्थ्य जाँच नहुँदा उनले ३१ हप्तामै 'प्रि-म्याचुवर' शिशु जन्माएकी थिइन् । सोही कारण शिशुको मृत्यु भएको उनले बताए ।
डोल्पा — त्रिपुरासुन्दरी नगरपालिका-७ पहाडाकी १७ वर्षीया रसकुमारी केसीले बाटोमै बच्चा जन्माएकी छन् । बुधबार बिहानदेखि सुत्केरी बेथाले च्यापेपछि उनलाई दुनैस्थित जिल्ला अस्पतालमा ल्याउँदा गर्दा बाटोमै सुत्केरी भएकी हुन् ।
शिशुको जन्मिएको केहीबेरमै मृत्यु भएको थियो । जिल्ला अस्पतालका एमडीजीपी डा. विदुर तिवारीका अनुसार सुत्केरी अवस्थामा नियमित स्वास्थ्य जाँच नहुँदा उनले ३१ हप्तामै 'प्रि-म्याचुवर' शिशु जन्माएकी थिइन् । सोही कारण शिशुको मृत्यु भएको उनले बताए ।
डाक्टर तिवारी भन्छन्, 'आमा र शिशुको उद्धारका लागि एक घन्टाभित्रै जिल्ला अस्पताल पुर्याइए पनि चेकजाँचका क्रममा बच्चा मृत रहेको पुष्टि भयो । आमाको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।
डा. तिवारीले गर्भवतीको क्रममा आवश्यक परीक्षण नगरेको पाइएको र यसले जोखिम बढाएको बताए ।
प्रमुख जिल्ला अधिकारी जुनु हमालले घटनाबारे जानकारी पाएलगत्तै उद्धारका लागि हेलिकोप्टरको पहल गरे पनि शिशुको जीवन जोगाउन नसकिएको भन्दै दु:ख व्यक्त गरिन् । दुर्गम क्षेत्रमा सुविधासम्पन्न अस्पतालको अभाव, सडक पहुँच नहुनु र जनचेतनाको कमी जस्ता कारणले यस्ता घटना पटक पटक हुनु दुःखद् भएको उनको भनाइ छ ।
यस घटनाले बालविवाह अझै पनि दुर्गम क्षेत्रको प्रमुख समस्या बनेको देखाएको छ । केही साताअघि त्रिपुराकोटमा पनि एउटी महिलाले बाटोमै बच्चा जन्माएकी थिइन् । सरकारले दुर्गम क्षेत्रमा सुविधासम्पन्न अस्पताल निर्माण गर्नुपर्ने, गाउँगाउँमा स्तरीय सडक पहुँच विस्तार र प्रभावकारी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनले बताइन् ।
