चितवनका पहाडी गाउँमा अफिम खेती फडानी बर्सेनि बढ्दै गएको छ, प्रहरीका अनुसार यो वर्ष मात्रै १४ बिघामा फैलिएको अफिम खेती नष्ट गरिएको छ ।
चितवन — जिल्ला प्रहरी कार्यालय चितवनले चैत ५ मा अफिम खेती नष्ट गरेको बारेमा जानकारी सार्वजनिक गर्यो । जिल्लाको उत्तरी पहाडी भेग राप्ती नगरपालिकाको वडा नम्बर १०, ११ र १२ का विभिन्न ठाउँमा गरेर अन्दाजी १० कट्ठामा लगाएको अफिम खेती प्रहरीले नष्ट गरेको थियो । पुसयता हालसम्म चितवन प्रहरीले १४ बिघामा लगाएको अफिम खेती नष्ट गरिसकेको छ ।
विगत पाँच वर्षयताको गतिविधि विश्लेषण गर्दा प्रहरीले नष्ट गर्ने अफिम खेतीको आकार बढ्दो छ । पाँच वर्षअघि आर्थिक वर्ष ०७८/७९ मा ४८ बिघा १२ कठ्ठा जमिनमा लगाएको गाँजा खेती प्रहरीले नष्ट गरेको थियो । त्यस वर्ष अफिम नष्ट नभएको प्रहरी विवरणमा देखिन्छ । त्यसयता पाँच कठ्ठाबाट बढ्दै-बढ्दै १४ बिघासम्म आइपुगेको छ । फडानी नभएको र प्रहरीले नदेखेको खेतीको लेखाजोखा नै छैन ।
चितवन सदरमुकाम भरतपुरबाट लगभग २० किलोमिटर पूर्वमा पूर्व-पश्चिम राजमार्गको आडमा छ भण्डारा बजार । भण्डाराबाट उत्तर लागेपछि आउँछन् अति सीमान्त वर्गमा पर्ने आदिवासी समुदाय चेपाङको बसोबास भएका पहाडी गाउँहरू । गत चैतमा प्रहरीले यिनै गाउँमा नै अफिम फाँडेको हो । राप्तीको यी इलाकासँग जोडिएको कालिका नगरपालिकाको पहाडी भेगमा पनि प्रहरीले अफिम नष्ट गरेको छ ।
सदरमुकामबाट पर रहेका पहाडी इलाका मात्रै होइन, भरतपुर महानगरपालिकाको वडा नम्बर २९ मा पर्ने पहाडी भेगमा पनि अफिम खेती हुने गरेको छ । प्रहरीले गत वर्ष पागुन १० गते चौकीडाँडा, ढोडेनी, भोर्ले क्षेत्रमा ६ बिघामा लगाएको अफिम फाँडेको थियो । महानगरको वडा भए पनि झट्ट कसैको आँखा नपर्ने, सडक सञ्जालभन्दा अलि भित्र रहेका गाउँमा अफिम खेती गरिन्थ्यो ।
सडक नहुँदा खेती लुकाउन सजिलो
राप्ती नगरपालिकाको उत्तरी भेग लोथरमा पर्ने एक पहाडी गाउँ । यहाँ सडक पुगेको छैन । गाडी चढ्न आधा घण्टाभन्दा बढी पैदल हिँड्नु पर्छ । भिरालो परेको पाखो जमिनमा हरियै देखियो । प्याजको बिरुवा जस्ता बोटको टुप्पामा छ दाना । स्थानीयहरू ठट्टा गर्दै यसलाई टुप्पामा फल्ने प्याज भन्छन् । यसको यो फल होइन, फलबाट चोप निकाल्दै धुलो बनाएर बिक्री गर्न अफिम खेती गरिन्छ ।
फलमा ब्लेड जस्तो तिखो वस्तुले सर्र चिरा पारेपछि चोप निस्कन्छ । त्यो चोप सुकेपछि खुर्केर संकलन गरिन्छ । यसरी चोप बटुल्दै थिए अन्दाजी २५/३० वर्षका एक युवक । बारीमा अचानक नौला मान्छे देख्दा उनी अलि झस्के । लुक्न खोजे जस्तो देखिन्थ्यो । तर वरपर लुकिहाल्न मिल्ने कुनै ठाउँ थिएन । खेतीको फोटो खिच्न लागेको देखेर उनी प्रतिवाद गर्ने तरिकाले आए । उनी यो खेती लुकाउन चाहन्थे । बिस्तारै उनले केही कुरा गरे ।
लागुऔषध (नियन्त्रण) ऐन २०३३ अफिम खेतीमा रोक लगाएको छ । तर उनी यही खेतीमा व्यस्त छन् । सो ऐनको दफा चारको ‘ख’मा अफिम या कोकाको खेती गर्न निषेध गरेको उल्लेख छ । यो दफाको दरकार उनलाई छैन । ‘यहाँ आउने मोटर बाटो छैन । बाटो नभएपछि खोज्दै फाँड्न को आउँछ ? त्यसैले हामीलाई सजिलो छ,’ उनले सुनाए ।
भिरालो बारीको लभभग पाँच कठ्ठामा उनले अफिम लगाएका छन् । असोजमा अफिमको बीउ तोरी छरेजसरी बारीमा छर्ने उनले बताए । त्यसपछि माघको अन्तिममा फुल्न सुरू हुन्छ । फूल झरेपछि दाना देखिन्छ । फागुनको मध्यतिरबाट दानामा हल्का चिरा लगाएर त्यसबाट निस्कने चोप सुकाउँदै खुर्कन सुरू गर्ने उनले बताए । फागुन अन्तिम हप्ता उनीसँग बारीमा भेट भएको थियो ।
त्यो बेलासम्म तीन-चार पटक चोप संकलन भइसकेको थियो । दाना पुष्ट र राम्रो भए, पानी नआए १२ पटकसम्म चोप निकाल्न मिल्ने उनले बताए । तर बादल लाग्न गरेको हुँदा उनी ‘फसल’ पूरा लिन पाइँदैन कि भन्ने चिन्तामा थिए । स्थानीय बासिन्दा यसको पात तरकारी पकाएर खाने रहेछन् । फलमा चिरा पारेर निकालेको चोप सुकेपछि संकलन गरेर एक किलो पुर्याएर अर्को मान्छेलाई हस्तान्तरण गर्नु पर्ने रहेछ । 'एक किलो धुलोको डेढ लाख रुपैयाँ पाइन्छ,' उनले भने । ‘यो गाउँबाट डेढ लाख रुपैयाँ आउने अरु केही बेच्न परे कति दिक्दारी गर्नु पर्दथ्यो । यसमा त्यस्तो केही छैन,’ उनले भने ।
गैरकानुनी कामले बढाएको चिन्ता
सुनिमाया चेपाङ पहाडी भेगमा अफिम खेती बढ्दै जानु चिन्ताको विषय बताउँछिन् । नेपाल चेपाङ संघको पूर्व वरिष्ठ उपाध्यक्षसमेत रहेकी उनले यस्तो काम रोक्नुपर्ने बताउँछिन् । ‘पैसा आउँछ भनेर गैरकानुनी काम गर्दा पछि समाजलाई धेरै हानि नोक्सानी हुन्छ । व्यक्तिलाई पनि गाह्रो हुन्छ । यस्तो काम रोक्न चेतना जगाउने अभियानमा हामी सबै लाग्नुपर्ने हुन्छ,’ उनले भनिन् ।
लागुऔषध नियन्त्रण ऐनको दफा १४ मा दण्ड सजायको व्यवस्था छ । दफा १४ को ‘च’मा अफिम वा कोकाको खेति गर्ने व्यक्तिलाई २५ बोटसम्म भए एक वर्षदेखि तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । २५ बोटभन्दा माथि जतिसुकै बोटहरू भए तीन वर्षदेखि १० बर्षसम्म कैद र २५ हजार रुपैयाँदेखि दुई लाख रुपैयाँसम्म जरिवाना हुन्छ ।
चितवन जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी गोविन्द पुरी प्रहरीले सूचना पाएसम्म गाँजा र अफिम खेती नष्ट गर्दै आए पनि खेती गर्नेहरू भने नसमातिएको बताए । ‘गाँजा अफिम उत्पादन र बिक्री वितरण गर्न पाइँदैन । लुकिछिपी गरे पनि कुनै बेला समातिए जिन्दगीभर पछुतो हुन्छ । गैरकानुनी काममा लाग्नु हुँदैन भन्ने भावना बढाउन हामी प्रयासमा छौं,’ पुरीले भने ।
स्थानीय बासिन्दालाई आयआर्जन र रोजगारीको भरपर्दो विकल्प दिन सके मात्र अवैधानिक काम रोक्न सकिने पनि एसपी पुरीले बताए ।
अफिम बढी फडानी गरेको क्षेत्र भनेर प्रहरीले उल्लेख गरेको राप्ती नगरपालिका–१२ का वडाध्यक्ष अर्जुन चेपाङले यस भेगमा अफिम खेती हुने गरेको जानकारी आफूलाई नभएको बताए । ‘यो विषय हामीलाई जानकारी भएन । प्रहरीले हेर्ने काम हो । प्रहरीले थाहा पायो होला । आएर कतै कतै नष्ट गरेको छ भन्ने सुनेको हुँ । तर मैले यतातिर यस्तो खेती देखेको छैन,’ वडाध्यक्ष चेपाङले भने ।
एसपी पुरी राप्ती नगरपालिकाको उत्तरी भेगलाई समेट्ने गरेर प्रहरी चौकी नै राख्ने योजना भएको बताउँछन् । यसले यस्ता खाले अवैधानिक खेतिहरु रोकिन सक्ने उनको भनाइ छ । चितवन प्रहरीबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष ०७९/८० मा राप्ती नगरपालिका–११, १२ र १३ का विभिन्न ठाउँहरुमा लगाएको पाँच कठ्ठाको अफिम प्रहरी लगाएर नष्ट गरिएको थियो ।
त्यसपछि आर्थिक वर्ष ०८०/८१ मा राप्ती नगरपालिकाकै १, २, १०, ११, १२ र १३ नम्बर वडाका विभिन्न ठाउँमा १६ कट्ठाको अफिम प्रहरीले नष्ट गरेको थियो । आर्थिक वर्ष ०८१/८२ मा राप्तीका विभिन्न वडामा तीन विघा सात कट्ठा र भरतपुर महानगरपालिकामा ६ बिघामा गरेर कुल नौ बिघा सात कठ्ठामा लगाएको अफिम नष्ट गरेको प्रहरीले जानकारी दिएको छ ।
यो आर्थिक वर्षमा चैत पहिलो हप्तासम्म १४ बिघाको अफिम फडानी भएको छ । यो वर्ष प्रहरीले राप्ती नगरपालिकाभित्र पुसमा १५ कठ्ठा, माघमा पाँच बिघा १० कठ्ठा, र चैतमा १५ कठ्ठा गरेर कुल सात विघामा र कालिका नगरपालिकाको पहाडी भेगमा माघमा तीन बिघा र फागुनमा चार बिघा गरेर सात बिघा गरी कुल १४ बिघामा अफिम खेती नष्ट गरेको छ ।
रुखो जमिनमा राम्रोसँग अन्न नफल्ने भएका कारण पहाडी भेगमा चैत लागेसँगै अनिकाल पर्ने खतरा रहन्थ्यो । चैत वैशाखमा छरेको मकै भदौ लागेपछि पाक्थ्यो । भदौपछि अरू खेती खासै नहुने चेपाङ गाउँमा असोजमा छरिने अवैधानिक अफिम खेती कतिसम्म फस्टाउने हो ? र यसले कति व्यक्ति र घर परिवार कसूरदार करार हुने हुन् भन्ने डर पनि बढेको छ ।
