भिक्षुमय लुम्बिनी

विभिन्न ३० जिल्लाका २ सय ५१ सामूहिक रूपमा प्रबज्या लिएर अल्पकालीन भिक्षु 'श्रामनेर' बनेका थिए । २३ दिनसम्म १० वटा शिल, ध्यान, साधना र धम्म शिक्षा लिएर उनीहरू फर्किएका छन् ।

चैत्र १७, २०८२

मनोज पौडेल

Monk-filled Lumbini

लुम्बिनी — विश्व शान्तिको प्रतीक लुम्बिनी अहिले भिक्षुमय बनेको छ । जता हर्‍यौं उता चिबर पहिरिएका पहेँला वस्त्रधारी देखिन्छन् । शान्ति र सद्भावप्रति समर्पित वातावरण बनेको छ  । 'बुद्धम्, शरणम् गच्छामी'को गुन्जायमान धुनले उल्लास छाएको छ ।

सन्ध्याकालमा भिक्षुको शान्ति पाठले गज्जबको शान्तिको अनुभूति र लुम्बिनी धपक्क बलेको देखिन्छ । मुलुकका विभिन्न ३० जिल्लाका २ सय ५१ सामूहिक रूपमा प्रबज्या लिएर अल्पकालीन भिक्षु 'श्रामनेर' बनेका थिए । २३ दिनसम्म १० वटा शिल, ध्यान, साधना र धम्म शिक्षा लिएर उनीहरू फर्किएका छन् ।

Monk-filled Lumbini

श्रामनेरलाई लुम्बिनीमा भारत नेपाल थाई धम्मदूत एसोसिएसनका अध्यक्ष फ्रा थान बोधीओङ, उपाध्यक्ष फ्रा राजबोधी वजिराशुद्धि, थाइल्यान्डबाट आएका भिक्षु फ्रोम सेनाबादी, अखिल नेपाल भिक्षु महासंघ अध्यक्ष धम्म शोभन महास्थवीर र लुम्बिनी बौद्ध विश्वविद्यालयका उपप्रध्यापक भिक्षु सिरी वजिरलगायतले चिबर प्रदान गरेका थिए । चिबर प्रदान गरेसँगै प्रव्रज्या ग्रहण गरेपछि श्रामनेर अर्थात् अल्पकालीन भिक्षु बन्ने गरेका छन् । सांसारिक दु:ख भवचक्रबाट मुक्ति पाएर चारघाटुपबाट बनेको जीवनलाई सार्थक बनाउने मार्ग बुद्ध शिक्षा भएकाले आफू श्रामनेर भिक्षु बनेको भक्तपुरबाट आएका शिवराम ख्याजुले बताए । 

Monk-filled Lumbini

उनीहरू भिक्षु जीवन प्रवेशको पहिलो खुटकिलो श्रामनेर बनेका हुन् । थेरबादी परम्परामा श्रामनेर बन्नु भिक्षु जीवनको शुभारम्भ गर्नु हो । भिक्षु जीवनमा प्रवेशसँगै उनीहरूले कपाल काटेर बुद्ध शिक्षा, शिल र चिबर लिएर भिक्षु जीवन धारण गरे । उनीहरू २३ दिनसम्म भिक्षु बने । उनीहरूलाई पारिवारिक सुख सुविधाबाट अलग बनाएर राखिएको थियो ।  मानिसका द्वेष, काम र लोभ चित्त हटाएर करुणा, सद्भाव, माया दयाभाव ल्याएर मानव जीवनलाई सार्थक बनाउन सहयोग पुग्ने हुनाले आफू श्रामनेर भिक्षु भएको कपिलवस्तुका पोमनारायण पौडेलले बताए ।                                       

७५ सेखिया, विनय शिक्षापद र १० शिल अनुशरण गर्न सिकाइएको थियो । तच पञ्चक ध्यान सिकाइएको थियो । बुद्धको जीवनी, लुम्बिनीको इतिहास, बौद्ध शिक्षाको महत्त्व र सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्दा पाएको कष्ट पीडाबारे जानकारी दिइएको थियो । त्यस्तै भिक्षु जीवन, करुणा, मैत्री सद्भाव र भाइचारालगायतका विषयमा पनि ज्ञान दिइएको छ ।

Monk-filled Lumbini

श्रामनेर हुँदा पालन गरेको शिल र धम्म शिक्षाले वास्तविक खुसी महसुस भएको पाल्पाबाट आएका समिर आलेमगरले बताए । 'अझ ध्यानको अभ्यास गर्दा आत्मादेखि नै खुसी भएँ,' उनले भने, 'यसको ऊर्जाले आफूलाई पूर्ण भिक्षु बन्न उत्पेरित गरेको छ ।' 

थाइल्यान्डमा एक दिनका लागि भए पनि भिक्षु बन्नु पर्ने थाई प्रचलन रहेको भिक्षु महास्थवीरले बताए । थाई राजा तीन महिनाका लागि भिक्षु बन्नै पर्ने नियम छ । 'शिल लिनु भनेको अनुशासनमा बाँधिनु हो,' उनले भने, 'यसले मानव जीवन राम्रो हुन्छ ।' 

थाई भारत–नेपाल धम्मदूत एसोसिएसन र अखिल नेपाल भिक्षु महासंघद्वारा लुम्बिनीमा प्रवज्या शिविर आयोजना गरिएको थियो । कार्यक्रममा १० देखि ७२ वर्ष उमेरसम्मका सहभागी थिए । कृषकदेखि शिक्षक, व्यवसायी, चित्रकार, वकिल, सञ्चारकर्मी र स्वास्थ्यकर्मीसमेत भिक्षु बनेका थिए । जीवनलाई सुधारेर सकारात्मक परिवर्तनको मार्गमा डोर्‍याउन सिकाउने यो कार्यक्रम प्रभाावकारी रहेको कार्यक्रमका कार्यकारी निर्देशक राजेश शाक्यले बताए । 

Monk-filled Lumbini

भिक्षुहरूलाई धम्म यात्रा गराउँदै लुम्बिनी, भैरहवा, देवदह र रामग्राम लगिएको थियो । त्यहाँ उनीहरूलाई ध्यानभावना, भिक्षाटन र परित्रान पाठ गर्न सिकाइएको थियो । सिद्धार्थ गौतम बुद्धत्व प्राप्तिपछि राजगिरबाट २० हजार भिक्षुसहित शाक्यवशीय राजधानी कपिलवस्तुसम्म गरेको ऐतिहासिक पदयात्राको स्मरणमा धम्मयात्रा आयोजना गरिएको थियो । उक्त पदयात्रालाई विश्वकै पहिलो आन्तरिक शान्ति पदयात्राका रूपमा समेत लिने गरिन्छ ।

‘धम्म’ र ‘यात्रा’ शब्द मिलेर बनेको धम्मयात्राको अर्थ ‘कुशल कर्मतर्फ उन्मुख यात्रा’ भन्ने रहेको छ । यात्राले धार्मिक तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्नुका साथै समाजमा सहिष्णुता, समानता, अनुशासन र शान्तिको सन्देश प्रवाह गर्ने अपेक्षा गरिएको छ । फागुन २६ गते सुरू भएको कार्यक्रम चैत्र १७ गते सकिएको छ । 

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully