'टिकटक'मार्फत नागरिकमा सचेतना अभिवृद्धि गर्ने उत्कृष्ट ३ जनालाई डिभिजन वन कार्यालयले पुरस्कृत गर्ने घोषणा गरेको हो ।
What you should know
अर्घाखाँची — डिभिजन वन कार्यालय अर्घाखाँचीले डढेलो नियन्त्रण गर्ने प्रचारात्मक सामाग्रीसहितको ‘टिकटक’ लाई पुरस्कृत गर्ने भएको छ । 'टिकटक'मार्फत नागरिकमा सचेतना अभिवृद्धि गर्ने उत्कृष्ट ३ जनालाई कार्यालयले पुरस्कार दिने घोषणा गरेको हो ।
बस्ती, वनपाखामा आगलागीको जोखिम नियन्त्रण गर्न सर्वसाधारणलाई एक मिनेटको टिकटक बनाउन वन कार्यालयले सूचना जारी गरेको छ । डढेलो नियन्त्रण तथा यसको प्रचार, कानुनी प्रावधान र यससम्बन्धी नागरिक सचेतना जस्ता विषयमा आधारित रहेर एक मिनेटको टिकटक भिडियो बनाउन कार्यालयले अपिल गरेको हो ।
उक्त भिडियो आफ्नो फेसबुक, टिकटक, युट्युब एकाउन्ट (च्यानल)मा राख्न र २५ चैतसम्म कार्यालयको इमेल ठेगाना डिएफओअर्घाखाँचीएटजिमेलडटकममा पठाउन भनिएको छ ।
३० चैतसम्म सबैभन्दा बढी ‘भ्युअर्स’ भएका उत्कृष्ट ३ भिडियो छनोट गरी पुरस्कृत गरिने कार्यालयका सूचना अधिकारी केशर खड्काले बताए । कार्यालयले प्रथम हुने टिकटकलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार रुपैयाँ दिने जनाएको छ ।
खड्काका अनुसार टिकटक बनाउँदा डढेलो नियन्त्रण तथा व्यवस्थापन, संवाद र सन्देशमुलक, मौलिक अडियोभिडियोलाई प्राथमिकता दिने जनाएको छ ।
कार्यालयले अघिल्लो वर्ष समुदायबाट पातपतिंगर संकलन, जिल्लाका ६१ वडाभित्र रहेको डढलो जोखिम क्षेत्रका गाउँमा दुईजना गन्धर्व लगेर सारंगी बजाएर सन्देश प्रवाह गरेको थियो ।
‘अहिले टिकटक, सामाजिक सञ्जाल धेरैले हेर्छन्,’ खड्काले भने, ‘सचेतनामूलक प्रचार बढी होस्, डढेलो नियन्त्रणमा सघाउ पुगोस् भनेर टिकटक भिडियो सन्देश बनाउनेलाई पुरस्कृत गर्न लागेका हौं ।’
अर्घाखाँचीमा ७३ हजार २०७ हेक्टर वन क्षेत्र छ । जसमा सामुदायिक वनको क्षेत्रफल ३४ हजार ३ सय ४२ हेक्टर छ । जिल्लामा ४६६ वटा वन समूह छन् ।
जिल्लाको ६ स्थानीय तहमध्ये शितगंगा नगरपालिकामा सबैभन्दा धेरै ४७ हजार ३६४ हेक्टर वन छ । सबैभन्दा कम मालारानी गाउँपालिकामा २ हजार ८७० दशमलव ३१ हेक्टर छ ।
डिभिजन वन कार्यालयका अनुसार सन् २०००–२०२४ सम्ममा जिल्लामा ३ हजार २९७ वटा डढेलोका घटना भएका थिए । जसमा ७५ हजार ४९० दशमलव ३२ हेक्टर वन जलेको थियो ।
