चर्को ब्याज, कपाली तमसुक र कानुनी जटिलताले मिटरब्याजबाट पीडित रौतहटमा धेरै परिवार घरवारविहीन बनेका छन् । उनीहरु न्यायका लागि वर्षाैदेखि प्रशासन र अदालत धाइरहेका छन् ।
What you should know
रौतहट — चन्द्रपुर नगरपालिका–४ का ६१ं वर्षीय अर्जुन फुयालको चन्द्रनिगाहपुर चोकमै किराना पसल थियो । पसलमा सधैंजसो ग्राहकको भीड लाग्थ्यो । आम्दानी पनि राम्रै थियो । सबैकुरा ठिकठाक भएकै बेला छिमेकी कपडा व्यापारी रामबाबु साह कलवारसित उनको दोस्ती भयो । दोस्ती राम्रैसित अघि बढ्यो । दुबैबीच जग्गा किन्ने सहमति भयो । फुयालले कलवारसित २० लाख रकम सापट र १० लाख आफ्नो लगानी थपेर ०६६ सालमा चन्द्रपुर–५ मा साढे १० कठ्ठा जग्गा किने ।
एक कित्ता फुयालको र बाँकी दुईकित्ता कलवारको नाममा राखे । पछि किता नम्बर २०२७ र १०२८ को जग्गा सहमतिमै कलवारकै नाममा गरे । समय ढल्दै गए पछि कलवारले अन्यत्र जग्गा किन्ने सोचले फुयालको नामको दुईकित्ता जग्गा ०६८ सालमा आफ्नै नाममा पास गरे । सर्तअनुसार कलवारले फुयाललाई अन्यत्र जग्गा किन्न रकम दिनुपर्ने थियो । तर उनले त्यसो गरेनन् ।
फुयालको १० लाख पनि फिर्ता गरेनन् । उल्टै नगद र सुन लुटेको भन्दै ०८१ कात्तिकमा मुद्दा गरेपछि फुयाल झस्किए । जिल्ला अदालतले ०८१ वैसाख १ मा कलवारले दिएको लुटपाटको मुद्दामा दाबी नपुग्ने फैसला गरेको छ । फुयाल र कलवारबीच जग्गा खरिद–बिक्री गर्ने सहमति भएपछि फुयालले विश्वासमा परेर तीनवटै कित्ता कलवारको नाममा राखेका थिए । वर्षौंदेखिको कमाई बालुवामा पानी पटाए सरह भएपछि उनी यतिबेला गहिरो मानसिक र आर्थिक संकटमा छन् ।
व्यापारी कलवारलाई जग्गा खरिदका लागि बुझाएको रकम नै फिर्ता नै आयो न जग्गा आयो । पसिनाको कमाइ अर्कैको खल्तीमा पुगेपछि फुयाल न्यायका लागि विभिन्न निकाय धाउँदै थाकिसकेका छन् । जग्गा खरिद–बिक्री गर्ने सहमतिमा बेइमानी गरे पछि उनी १० वर्षदेखि न्यायका लागि भौतारिइरहेका छन् । ‘दसक बितिसक्दा पनि न जग्गा आफ्नो नाममा आयो, न दिएको पैसा नै फिर्ता पाइयो,’ उनी भन्छन्,‘म त सडकमा पुगे, न्याय माग्न कहाँ जाउँ ? सारा सम्पत्ति यहीँ जग्गामा लगाएको थिएँ, अहिले घर न घाटको भएको छु ।’
आफू ठगिएको महशुष गरेपछि फुयालले स्थानीय प्रशासन र जनप्रतिनिधिलाई गुहार्दै आएका छन् । ०८० मा चन्द्रपुर नगरपालिकाको न्यायिक समितिले समेत कलवारलाई बोलाएर फुयाललाई जग्गा फिर्ता गर्न भनेको थियो । तर कलवारले फुयालसित आफ्नो कुनै लेनदेन नभएको जिकिर गर्दै आएका छन् । ‘धेरै मानिसलाई कलवारले रकम दिएर चेक र तमसुक कागज गराउँथे । उनले साँवा र ब्याज नगदै बुझ्थे र चेक फिर्ता दिँदैनथे । त्यहीँ चेक बैंकबाट कालोसूचीमा पारेर मुद्दा गर्थे,’ फुयालले भने । अनुचित लेनदेनको मुद्दामा उनलाई प्रहरीले पक्राउ गरेर एक साताअघि अदालत बुझाएको थियो । उनी ५० हजार धरौटीमा छुटेका थिए ।
चन्द्रपुर–४ का नारायण घिमिरेले पनि कलवारसँग २०७६ मसिर ८ मा ब्याजमा ५ लाख रुपैयाँ लिएका थिए । तर त्यसको ब्याजसहित पटक–पटक गरी २७ लाख तिर्दा समेत धरौटीमा रहेको खाली चेकमा २३ लाख भरेर उल्टै अदालतमा मुद्दा गरेका छन् । उनी आफु पीडित भएको भन्दै न्यायका लागि प्रहरी–प्रशासन गुहार्दै आएका छन् । कलवारले ५ लाख ऋण दिए वापत घिमिरेबाट धरौटीको रुपमा खाली चेक लिएका थिए । त्यहीँ चेकमा रकम भरेर अदालतमा मुद्दा गरेको घिमिरले सुनाए । ‘हामीले अन्याय भयो भनेर प्रहरी गुहारेका थियौं । उल्टै व्यापारी कलवारले अदालतमा मुद्दा दियो,’ उनले भने । फुयाल र घिमिरेमात्र होइन जिल्लाभरी ७ हजार स्थानीयले साहुबाट पीडित भएको भन्दै जिल्ला प्रशासन कार्यालय गौरमा मिटरब्याज सम्बन्धी उजुरी दिएका छन् ।
बृन्दावन नगरपालिका–२ रामबाबु महतो र कलवारबीच लामो समय निकै राम्रो सम्बन्ध थियो । महतोले २०७४ सालमा कलवारसित पहिलो पटक सयकडा ६ प्रतिशत ब्याजमा ५ लाख ऋण लिए । ऋण वापत कलवारले महतोलाई चार गुना बढी २० लाखको तमसुक गराए । उक्त रकम महतोले १ लाख ४० हजार ब्याजसहित झण्डै ४ महिनापछि फिर्ता गरे । त्यसपछि पटक/पटक गरेर लिएको १६ लाख ऋण पनि महतोले तिरेको बैंक स्टेटमेन्टबाट देखिन्छ । पछिल्लो पटक २०७५ सालमा महतोले २४ लाख ऋण लिएका थिए । त्यसवापत उनले कलवारलाई ५ वटा खाली चेक धरौटीको रुपमा दिए । पुरानो २० लाखको तमसुक पनि कलवारले नै राखेका थिए । दुबैबीच ब्यवहार चलिनैरहेको थियो । २ वर्षको अन्तरालमा सावा र ब्याज गरी महतोले ५४ लाख बुझाए । तर चेक र तमसुक फिर्ता नगरे पछि उनी न्यायका लागि प्रहरी कहाँ पुगेका छन् ।
फुयाल, महतो र घिमिरले एक वर्षअघि अनुचित लेनदेलनमा प्रशासनमा उजुरी गरेका थिए । ‘एक त ७२ प्रतिशत ब्याज, त्यहीँ माथि तमसुक र चेक लिने धन्दामा कलवार माहिर छन्,’ महतोले भने,‘हामीलाई सडकमै ल्याउने काम गरेका छन् । यसको हिसाब हुनुपर्छ ।’ कलवारमाथि दोहोरो नागरिकता सम्बन्धी उजुरी समेत परेको छ । उक्त मुद्दाको छानबिन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
रौतहटमा यस्ता घटनाले स्थानीय स्तरमा भइरहेको ऋण कारोबारमा हुने ठगी र कानुनी जटिलतालाई उजागर गर्छ । धेरैजसो कारोबार लिखित कागज बिना वा सामान्य तमसुकका भरमा हुने भएकाले पीडितलाई कानुनी उपचार खोज्न कठिन हुने गरेको छ । ‘घरमा छोरीको विवाह पर्यो वा उपचार गर्नुपर्ने भयो, मधेशका ग्रामीण भेगका सर्वसाधारणका लागि पहिलो ढोका भनेकै गाउँका साहु, महाजन हुन् । यहीँ गर्जो टार्ने माध्यम अहिले रौतहटका सयौं परिवारका लागि पासो बनेको छ,’ एक स्थानीयले भने ।
ऋणभन्दा कयौं गुणा बढीको तमसुक
जिल्लामा मिटरब्याजीहरुले लगानी गर्दा नै ऋणीलाई दोब्बर, तेब्बर रकमको तमसुक बनाउन बाध्य पार्ने गरेको पाइएको छ । उदाहरणका लागि महतोले कलवारसित ५ लाख ऋण लिँदा २० लाखको कागज बनाएका थिए। कलवारले ७२ प्रतिशतसम्म ब्याज असुल्ने गरेको पीडितको भनाई छ । ऋणीले सावा, ब्याज तिरिसक्दा पनि साहुले तमसुक फिर्ता नगर्ने र मुद्दा हाल्ने धम्की दिँदै बार्गेनिङ गर्ने गरेका छन् ।
मिटरब्याजकै कारण जिल्लाका धेरै परिवार सुकुम्बासी बन्ने अवस्थामा पुगेका छन् । साहुले ऋणको वहानामा ऋणीको जग्गा आफ्नो वा आफन्तको नाममा पास गराइ लिने गरेका छन् । थोरै ऋणको ब्याज तिर्न नसक्दा पुस्तैनी सम्पत्ति साहुको नाममा पुगेपछि धेरै पीडितहरु अहिले अप्ठेरोमा परेका छन् । पैसा तिर्न ढिलाइ हुँदा साहुहरुले घरमै आएर गालीगलौज गर्ने र मानसिक तनाव दिने गरेको पाइएको छ ।
बैदेसिक रोजगारीका लागि श्रीमान् दुबई जाने भएपछि गरुडा नगरपालिका–४ शान्तीटोलकी मान्तीदेवी ठाकुरले गाउँकै अनिल साहसित २०६८ माघ ३ मा सयकडा तीन रुपैयाँ ब्याजमा ५० हजार ऋण लिइन् । ऋणको जमानी स्वरुप उनले ४ कठ्ठा जमिन र त्यसमा बनेको सानो झुपडी राजीनामा पास गरिदिइन् । दुवैबीच जुन दिन ऋण चुक्ता हुन्छ त्यसैदिन घरजग्गा फिर्ता गर्ने मौखिक सर्त थियो । तर, साहुले अहिले आएर ठाकुर परिवारको घरजमिन फिर्ता गरेन । उल्टै घर कब्जामा लिएर ठाकुर परिवारको उठीबास लगाइदियो । ऋण दिने साहुले घर भत्काएर लगिसकेको छ । मिटरव्याजी कलवारले उनीहरु सबैलाई आफूले व्याजमा ऋण दिए पनि कसैले अहिलेसम्म फिर्ता नगरेको दाबी गरेका छन् ।
सरकारले मिटरब्याजलाई अपराध घोषणा गर्दै अनुचित लेनदेन (मिटरब्याज)विरुद्धको जाँचबुझ आयोग गठन गरेपछि रौतहटमा ७ हजार बढीको उजुरी परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पछिल्लो समय गाउँका मिटरब्याज (अनुचित लेनदेन) पीडितहरु न्यायका लागि भौतारिइरहेका छन् । प्रहरी, प्रशासन र अदालतबाटै असहयोग भएको गुनासो पीडितहरुको छ ।
जिल्लामा मिटरब्याजीहरुको जालो निकै गहिरो गरी फैलिएको छ । छोरीको विवाह, बिरामीको उपचार वा वैदेशिक रोजगारीका लागि थोरै रकम ऋण लिएका स्थानीय अहिले करोडौंको तमसुकका कारण घरबारविहीन हुने अवस्थामा पुगेको मिटरब्याजबिरुद्ध किसान मजदुर आन्दोलन भोजपुरा कमाण्डका ईन्चार्ज शिवशंकर महतोले बताए । ‘हामी पीडितलाई न प्रहरीले सहयोग गरेको छ । न अदालतले सहयोग गर्छ,’ उनले भने,‘सबैले साहु महाजनकै कुरा सुन्छन् । हामी न्यायका लागि कहाँ जाउँ ।’ ईन्चार्ज महतोका अनुसार मिटरब्याजीले लिएको रकमभन्दा तेब्बर, चौबर बढीको कपाली तमसुक बनाउने, चेक बाउन्सको मुद्दा हालेर थुनाउने धम्की दिने, ऋण चुक्ता गर्दा पनि तमसुक फिर्ता नगरी उल्टै मुद्दा दायर गर्ने जस्ता समस्या बढी देखिएको छ ।
सरकारले मिटरब्याजलाई अपराध ठहर गर्दै कानुन संशोधन गरे पनि जिल्ला प्रशासन कार्यालय र प्रहरीमा उजुरी दिएका पीडितहरुले अपेक्षाकृत न्याय पाउन नसकेको गुनासो गरेका छन् । पीडितहरु उजुरी लिएर जाँदा प्रशासनले मिलापत्र गर्न दबाब दिने गरेको पीडितहरु बताउँछन् । प्रशासनिक निकायमा पहुँच भएका मिटरब्याजीहरुले राजनीतिक संरक्षण पाउने र कर्मचारीहरुलाई आर्थिक प्रलोभनमा पार्ने गरेका कारण वास्तविक पीडितहरु सधैं छायामा पर्ने गरेको ईन्चार्ज महतोको आरोप छ । कतिपय अवस्थामा अदालतबाट आउने फैसलाले पीडितलाई थप मर्माहत बनाएको उनीहरुको भनाई छ ।
मिटरब्याजीहरुले पहिल्यै मिलाएर बनाएको कागजपत्र (तमसुक) लाई नै मुख्य आधार मानेर फैसला गर्दा पीडितहरुले आफ्नो पुर्ख्यौली सम्पत्ति गुमाउनु परिरहेको मिटरब्याज पीडितको भनाई छ । न्यायको सबै ढोका बन्द देखेपछि मिटरब्याज पीडितहरु पटक–पटक काठमाडौंसम्म पैदल यात्रा र धर्ना गर्न समेत बाध्य भएका थिए ।
