‘रातभरि आमा खोज्दै एकोहोरो रोइरही,’ सृजनाकी हजुरआमा भविसरा बुढाले भनिन्, ‘सानी बालखाले आमा किन नखोजोस्, पापीहरूले नातिनीलाई टुहुरो बनाइदिए ।’
What you should know
नेपालगन्ज — नेपालगन्जस्थित कोरियनपुरमा शनिबार राति जलेको अवस्थामा फेला परेकी २२ वर्षीया सृजना (गीता) बुढामगरकी फुपूको घर पुग्दा सोमबार सर्वसाधरणको बाक्लो भीड थियो । त्यही भीड छिचोलेर सृजनाकी तीन वर्षीया छोरी यताउता गरिरहेकी थिइन् । कहिले दौडिँदै सडकमा पुग्थिन् त कहिले घरभित्र । आफन्तका अनुसार आमाको खोजीमा बालिका रातभर रोएकी थिइन् ।
घरमा सन्नाटा र रुवावासी चलिरहेका बेला सृजनाको शव पोस्टमार्टमका लागि भेरी अस्पतालमा राखिएको छ । सोमबार साँझ अबेरसम्म पोस्टमार्टम भएको थिएन । ‘रातभरि आमा खोज्दै एकोहोरो रोइरही,’ सृजनाकी हजुरआमा भविसरा बुढाले भनिन्, ‘सानी बालखाले आमा किन नखोजोस्, पापीहरूले नातिनीलाई टुहुरो बनाइदिए ।’ हजुरआमा पनि भीडमा निःशब्द थिइन् । घरमा आएका सबैलाई हेरिरहन्थिन्, बोल्न खोज्थिन्, सक्दिनथिन् ।
भविसराका अनुसार सृजना घरकी एक्ली छोरी थिइन् । सानै उमेरमा आमाबाट टाढा भएकी थिइन् । सृजना दुई वर्षकी छँदै आमाले छोडेर गएकी थिइन् । सृजनाका बाबु सुन्दैनन्, धेरै बोल्दैनन् । उनको एउटा हात पनि चल्दैन । सृजनाका बाबु आफ्नी आमासँगै बस्छन् । सृजनाको माइती र फुपूको घर आमने-सामने छ । दुई वर्षको उमेरबाटै फुपूको घरमै बसेर हुर्किइन । सृजनाले कक्षा १२ सम्म अध्ययन गरेकी थिइन् । तर, एक विषयमा अनुत्तीर्ण भएपछि पुनः परीक्षा दिइनन् । त्यसलगत्तै आफ्नै रोजाइमा विवाह गरिन् । तर, उनको र श्रीमान्को सम्बन्ध धेरै वर्ष टिक्न सकेन । छोरी जन्मिएपछि पनि श्रीमान् सम्पर्कमा आएनन । उनले एक्लै छोरी हुर्काइरहेकी थिइन् ।
‘मैले भनेको मानेको भए न बिहे हुन्थ्यो, न त आज यो अवस्था नै आउथ्यो,’ फुपू गोमा लामाले भनिन्,‘ मसँग टाढा भएपछि आरिफ ढपालीसँग सम्बन्ध बढ्यो, केटाको आपराधिक क्रियाकलापबारे जानकारी पाएपछि सिर्जनालाई जलाएर मारिदिए ।’
प्रेमी भनिने मोहम्मद आरिफ ढपालीको परिवार अपराधिक क्रियाकलापमा संलग्न रहेको सृजनाका परिवारको आरोप छ ।
प्रहरीका अनुसार सृजना र आरिफ २ वर्षदेखि ‘लिभिङ टुगेदर’ मा थिए । उनीहरू नेपालगन्ज–८, रानीतालमा कोठा भाडामा लिएर बस्दै आएका थिए । तर, उनीहरूबीच सम्बन्ध सौहार्द थिएन । दुईबीच झगडा बढ्दै जाँदा सृजना कहिले वडा त कहिले प्रहरी कार्यालय पुगिरहन्थिन् । अनुसन्धानका क्रममा प्रहरीले आरिफ, उनकी आमा र बहिनीलाई नियन्त्रणमा लिएको छ । अनुसन्धानका लागि अदालतबाट ५ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घटनाको राति पनि सृजना युवकको घरमा पुगेकी थिइन् । फोनले देखाएको ‘लोकेसन’ अनुसार राति ११ बजेर २१ मिनेटमा उनी युवकको घर पुगेको देखिएको छ । सृजनालाई औषधि खुवाएर हत्या गरिएको, त्यसपछि शव जलाइएको र घाँटीमा कालो दुपट्टाले बाँधिएको अवस्थामा फेला परेको परिवारको आरोप छ । घटनास्थलमा अन्य शंकास्पद क्रियाकलाप पनि देखिएको परिवारको दाबी छ ।
प्रहरीका अनुसार शनिबार राति करिब ११ बजेर ३५ मिनेटमा कोरियनपुरस्थित सडकमा एक महिलाले आगो लगाएर जलेको भन्ने सूचना प्राप्त भएपछि तत्काल प्रहरी टोली घटनास्थल पुगेको थियो । गम्भीर रूपमा जलेको अवस्थामा फेला पारिएको थियो । तत्काल उद्धार गरी भेरी अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा आइतबार बिहान ९ बजेर २० मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रारम्भिक अनुसन्धानमा जलेर मृत्यु भएको देखिए पनि कारण खुल्न सकेको छैन । घटनाको प्रकृति शंकास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धानलाई तीव्र पारेको जनाएको छ । चैत १३ गते सिर्जनाले आफूलाई कुटपिट गरेको भन्दै प्रहरीमा खबर गरेकी थिइन् । त्यसैदिन राति आरिफलाई पक्राउ गरिएको थियो । पक्राउ परेका आरिफलाई जिल्ला प्रहरीको हिरासतमा राखिएको थियो । चैत १४ मिलेर बस्ने सहमति गराई सिर्जनाकै आग्रहमा आरिफलाई छोडिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तर, भोलिपल्ट नै सृजना जलेको अवस्थामा भेटिएको प्रहरीले जनायो ।
सृज नाका परिवार र आफन्तले उनका प्रेमीले जिउँदै आगो लगाएर सडकमा फालेको आरोप लगाएका छन् । परिवारले अहिले शव बुझ्न मानिरहेका छैनन् । दोषीलाई कारबाही नगरेसम्म शव नउठाउने अडान लिएका छन् । आरोपित आरिफकै घर नजिक उक्त घटना भएको हो । सिर्जना जलेको अवस्थामा भेटिएको स्थानबाट ५० मिटरको दूरीमा आरिफको घर रहेको छ । आरिफका दाइ र बुवा भने घटनालगत्तै फरार भएका थिए ।
उक्त घटनाका दोषीलाई कडा भन्दा कडा सजायको माग गर्दै सोमबार मृतकका आफन्त र स्थानीयले जिल्ला प्रहरी अगाडि सडकमा चक्काजाम गर्दै नाराबाजी गरेका थिए । घटना कसरी भयो भन्ने विषयमा गहन रूपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक अंगुर जिसीले बताए । ‘कुनै दबाब प्रभावमा नरहेर घटनाको निष्पक्ष छानबिन गरिरहेका छौँ,’ उनले भने, ‘मृत्युको कारण थाहा भइसकेको छैन, पोस्टमार्टमको रिपोर्ट आएपछि सबै करा प्रस्ट हुँदै जान्छ ।’
