प्रदेश सभा सचिवालयले जारी गर्यो पक्राउको सूचना ।
What you should know
बुटवल — प्रहरीले लुम्बिनी प्रदेशसभा सदस्य रेखाकुमारी शर्मालाई पक्राउ गरिएको जानकारी गराएको छ । प्रदेश सभा सचिवालयले सोमबार सूचना प्रकाशित गर्दै शर्मा पक्राउ परेको औपचारिक सूचना जारी गरेको हो ।
प्रदेश सभा सचिवालयले जिल्ला प्रहरी परिसर काठमाडौंको पत्रका आधारमा बालबालिकासम्बन्धी कसुरमा वादी नेपाल सरकार र प्रतिवादी प्रदेश सभा सदस्य शर्मा रहेको उल्लेख गर्दै पक्राउ परेको जनाएको हो । प्रदेश सभा सचिवालयका अनुसार शर्मा २०८२ चैत १५ गते राति ११ बजे पक्राउ परेकी हुन् । पक्राउसम्बन्धी जानकारी प्राप्त भएपछि सभामुखको आदेशानुसार लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २१६ को उपनियम (२) बमोजिम सूचना प्रकाशित गरिएको प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले बताए ।
प्रदेश सभा नियमावली अनुसार उपनियम ३ मा पक्राउ परेपछि सांसदका रुपमा काम गर्न नपाउने र उपनियम ४ मा ३ वर्ष वा सोभन्दा बढी कैद सजाय हुने फौजदारी कसुर वा नैतिक पतन हुने कसुरमा अभियोग पत्र दायर भएमा सभामुखले प्रदेश सभा सदस्यबाट निलम्बन गर्ने व्यवस्था छ । ‘अहिले उपनियम २ र ३ अनुसार पक्राउ परेको जानकारी र सांसदका रुपमा काम गर्न नसक्ने भन्ने सूचना हो,’ उनले भने, ‘अहिले निलम्बन गर्नुपर्ने अवस्था छैन ।’ शर्मा नेकपा एमालेबाट समानुपातिक प्रदेश सभा सदस्यमा निर्वाचित भएकी थिइन् ।
उनीमाथि नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर बालबालिकाविरुद्धको कसुर गरेको आरोप छ ।
काठमाडौं महानगरपालिकाले २०८१ जेठ १४ गते बालिकामाथि दुर्व्यवहार भएको आरोपमा छापा मारेर उनको घरबाट एक बालिकालाई उद्धार गरेको थियो । त्यसपछि प्रदेश सभा सदस्य शर्माले बालिकालाई उनका बाबुआमाको स्वीकृतिमा संरक्षणका लागि राखेको र काठमाडौंकै विद्यालयमा अध्यापन गराइरहेको दाबी गरेकी थिइन् । त्यसपछि २०८१ जेठ ३० गते जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो । तर, लामो समय पेण्डिङमै रहेको जाहेरीमा २०८१ माघमा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचल्ने निर्णय गरेको थियो । त्यसपछि काठमाडौं महानगरपालिका तत्कालीन मेयर बालेन्द्र शाहले २०८१ माघ २९ मा सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै ‘सरी नानु ! तिम्रा पीडकका विरुद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनू । समय आउनेछ’ भनेर लेखेका थिए । उनले ‘यस्तै विभेद, अपराध मास्न अनि ती कुकर्म गर्नेहरूलाई तह लगाउन तिमी र तिमीजस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्नुपर्छ’ भन्ने पनि उल्लेख गरेका थिए ।
