हत्यामा संलग्न रहेको आशंकामा मृतकका श्रीमान् २९ वर्षीय काशीराम बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले बताए ।
काठमाडौँ — नरहरिनाथ–३ पाल्ती गाउँमा एक महिलाको घरमै हत्या भएको छ । सोमबार बिहान स्थानीय २७ वर्षीया मानपुरा बुढाको हत्या भएको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न रहेको आशंकामा मृतकका श्रीमान् २९ वर्षीय काशीराम बुढालाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी हिमबहादुर खत्रीले बताए । मृतकको टाउकोमा गहिरो घाउ रहेकाले कुटपिटबाट हत्या भएको हुनसक्ने उनले बताए ।
जिल्ला प्रहरीबाट प्रहरी निरीक्षक बरमा यादवको नेतृत्वको टोली कुमालगाउँ पुगेर मृतकका छिमेकीसँग सोधपुछ गरिरहेको डीएसपी खत्रीले बताए ।
सोमबार बिहान सवा ४ बजेतिर काशीराम आफै कुमालगाउँ इलाका प्रहरीका कार्यालयमा आएर ४ जना अपरिचित व्यक्ति आएर आफ्नी श्रीमतीलाई कुटपिट गरी हत्या गरेको जानकारी गरेका थिए ।
लगत्तै प्रहरी नायब निरिक्षक (सई) रकवीर केसीको नेतृत्वमा ६ जनाको टोली घटनास्थल गएर प्रारम्भिक अनुसन्धान गरेको छ । मृतकका माइती पक्ष घटनास्थल गइरहेका छन् । मृतकका हजुरबुवा नाता पर्ने डबल अधिकारीले कुटपिटबाट हत्या गरिएको सुनिएको बताए । उनका अनुसार मृतकका ३ सन्तान छन् । डेढ वर्ष, ४ वर्षको छोरा र ७ वर्षकी छोरी छन् ।
