माइतीघर मण्डलामा अनसनरत बलात्कारपीडित महिलामाथि हातपात

आइतबार एमालेका केही कार्यकर्ता पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोध प्रदर्शनका क्रममा माइतीघर पुगेकाे र ब्यानर च्यात्ने प्रयास गरेपछि प्रश्न गर्दा आफूमाथि आक्रमण भएको पीडितले बताइन् ।

चैत्र १५, २०८२

कान्तिपुर संवाददाता

Rape victim assaulted while on hunger strike in Maitighar Mandala

What you should know

काठमाडौँ — माइतीघर मण्डलमा एक हप्तादेखि अनसनरत कालिकोटकी २९ वर्षीया बलात्कारपीडित महिलामाथि आइतबार हातपात भएको छ । अनसनस्थलमा टाँगिएको ब्यानरमा आरोपित कर्णबहादुर मल्लका दुई फोटो र एमालेको सूर्य चिह्न अंकित लोगो राखिएको भन्दै प्रदर्शनकारीले महिलामाथि हातपात गरेका हुन् ।

महिलाले आरोपित मल्लमाथि कारबाही र न्यायको माग गर्दै अनसन सुरु गरेकी थिइन् । आइतबार एमालेका केही कार्यकर्ता पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोध प्रदर्शनका क्रममा त्यहाँ पुगेकाे र ब्यानर च्यात्ने प्रयास गरेपछि प्रश्न गर्दा आफूमाथि आक्रमण भएको उनले बताएकी छन् । 

पीडित महिलाका अनुसार 'ब्यानर किन हटाइएको ?' भनेर प्रश्न गर्दा एक महिलाले एक्कासि आक्रमण गरिन् । उनले भनिन्, ‘उनी को हुन्, के हुन् मलाई थाहा छैन, मसँग कुनै कुराकानी नै नभई एक्कासि आक्रमण गरिन् । कपाल तान्दै लछारपछार गरिन् ।’ महिलाकाे अक्रमणबाट सामान्य चोटपटक लागेको उनले बताइन् । प्रहरीले केही बेरमा स्थिति नियन्त्रणमा लिएको थियो ।

पीडित महिलाले अन्यायमा परेको भन्दै यसअघि नै महिला आयोग, प्रहरी कार्यालय तथा एमाले पार्टी कार्यालयसम्म पुगे पनि सुनुवाइ नभएको गुनासो गरेकी छन् । उनले भनिन्, ‘न्यायका लागि धेरै ठाउँ धाएँ, कसैले मेरो कुरा सुनेनन् । बाध्य भएर अनसन बस्नुपर्‍यो । यहाँ पनि हातपात भयो । ’

उनका अनुसार मुगुका कर्णबहादुर मल्ल ललितपुरमा एक सेक्युरिटी कम्पनी सञ्चालन गर्दै आएका थिए । आफू लाइभ देउडा गायिका बताउने उनले गीत गाएर जीविकोपार्जन गर्दै आएको बताइन् । एक साथीमार्फत २ वर्ष अगाडि उनी मल्लको सम्पर्कमा पुगेकी थिइन् । मल्लले आफ्नाे श्रीमतीको मृत्यु भइसकेको भन्दै झुक्याएर सम्बन्ध राखेको र गर्भपतन समेत गराउन लगाएर अलपत्र छाडेको उनकाे दाबी छ । यसपछि मल्लले अस्पतालको बेडबाट निकालेर सडकमा पुर्‍याएको उनको भनाइ छ ।

पीडित महिलाले मल्लविरुद्ध प्रहरीमा भ्रूण हत्या र जबर्जस्ती करणीसम्बन्धी उजुरी पनि दिएकी छन् । जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रका अनुसार पीडितको उजुरीका आधारमा ५ फागुनमा मल्लविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको थियो ।

मुगु धैनकोट स्थायी घर भएका थानकोट बस्दै आएका आरोपित मल्लविरुद्ध पक्राउ पुर्जी जारी गरी १४ चैतमा पक्राउ गरिएको र हिरासतमा राखेर अनुसन्धान भइरहेको उनले बताए ।

मिश्रका अनुसार मुद्दाको अनुसन्धान २५ दिनभित्र सम्पन्न गरी प्रतिवेदनसहित सरकारी वकिल कार्यालयमा पेस गरिने तयारी छ ।  पीडितले आरोपितमाथि कानुनी कारबाही र आफूलाई न्याय दिलाउन माग गर्दै दिएकाे उजुरी दर्ता गरेको उनले बताए ।  

एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले आफूले सामाजिक सञ्जालमा हेरेर उक्त घटनाबारे थाहा पाएको बताए । त्यो घटना कसले गर्‍यो मान्छे नचिनेको जानकारी उनले दिए । उनले भने, ‘आफूमा घटेका घटनामा विरोध गर्ने अधिकार हामीलाई जति छ अरूलाई त्यति नै छ । जे भयो त्यो दुःखद् भयो । पार्टीको तर्फबाट भएको हो कि होइन भन्ने खोजी भइरहेको छ ।’

जिल्ला प्रहरी परिसर काठमाडौं प्रवक्ता पवन भट्टराईका अनुसार प्रर्दशनको क्रममा २ महिलासहित १२ जनालाई पक्राउ गरिएको छ । तर, अनसनरत महिलामाथि हातपात र कुटपिटमा संलग्न को थिए भन्ने पुष्टि नभएको उनको भनाइ छ । 

कान्तिपुर

Link copied successfully