एसईई बिहीबारदेखि, ५ लाख १२ हजार परीक्षार्थी

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।

चैत्र १५, २०८२

कान्तिपुर संवाददाता

SEE from Thursday, 512,000 candidates to take the exam

What you should know

काठमाडौं — देशभर माध्यमिक शिक्षा परीक्षा एसईई आगामी बिहीबारबाट सञ्चालन हुँदैछ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का अनुसार ५ लाख १२ हजार ४ सय २१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् ।

२ लाख ५७ हजार ६ सय १३ छात्रा, २ लाख ५४ हजार ८ सय १ छात्र र ७ जना अन्य विद्यार्थी परीक्षामा सहभागी हुने परीक्षा नियन्त्रक टुकाराज अधिकारीले जनाए ।

जापानको ऐभरेष्ट स्कुलसहित १ हजार ९ सय ६६ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुनेछ । एभरेष्ट स्कुल जापानबाट २३ जना सहभागी हुँदैछन् ।

केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहयोगी र सुरक्षाकर्मी गरी परीक्षामा साढे ७३ हजार जनशक्ति परिचालन हुने अधिकारीले बताए । ‘सबै जिल्लाका सदरमुकाममा प्रश्नपत्रलगायत परीक्षा सामग्री पुगिसकेको छ । प्रदेश तहबाट परीक्षा व्यवस्थापनको काम हुन्छ,’ उनले भने ।

चैत १९ देखि सुरु हुने परीक्षा २९ मा सकिने समयतालिका छ । गत माघ ७ मा राष्ट्रिय परीक्षा बोर्डले समय तालिका सार्वजनिक गरेको थियो । 

परीक्षा बिहान ८ बजेदेखि ११ बजे सम्म सञ्चालन हुनेछ । समय तालिकाअनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन हुनेछ । दोस्रो दिन चैत २० मा अनिवार्य नेपाली, २२ गते अनिवार्य गणित, २३ गते विज्ञान तथा प्रविधि, २४ गते सामाजिक अध्ययन, २५ गते ऐच्छिक प्रथम खण्डका सबै विषय, २६ गते ऐच्छिक द्वितीय खण्डका सबै विषय र चैत २७, २८ र २९ गते प्राविधिक धारका बाँकी विषयहरूको परीक्षा सञ्चालन हुनेछ ।

नियमित तथा ग्रेडवृद्धि दुवै समूहतर्फको परीक्षा सोही समयतालिकाअनुसार हुने कार्यालयले जनाएको छ । परीक्षा हलमा मोबाइल, स्मार्ट घडी जस्ता व्लुटुथ चिप्स प्रयोग हुने विद्युतीय उपकरण प्रयोग गर्न रोक लगाईएको छ । अपांगता भएका, सुत्केरी र किरियापुत्री परीक्षार्थीको सहजताका लागि केन्द्राध्यक्षले सहजीकरण गर्नसक्ने व्यवस्था छ ।

कान्तिपुर

Link copied successfully