ओली लेखकलाई कम्तीमा १० दिन हिरासतमा राख्न म्याद माग्ने तयारी 

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई कम्तीमा १० दिन हिरासतमा राख्न अदालतमा अनुमति माग्ने तयारी प्रहरीले गरेको छ ।

चैत्र १५, २०८२

कान्तिपुर संवाददाता

Preparations to seek remand for at least 10 days for Oli writer

काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई कम्तीमा १० दिन हिरासतमा राख्न अदालतमा अनुमति माग्ने तयारी प्रहरीले गरेको छ । 

जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसन्धान अधिकारीहरुले सरकारी वकिलसँग समन्वय गरेर ओली र लेखक दुवैलाई कम्तीमा १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग्ने तयारी गरेका हुन् । 

लेखकलाई प्रहरीले सरकारी वकिलको कार्यालय पुर्‍याइसकेको छ भने ओलीलाई भर्चुअल माध्यमबाट ‘भिडियो कल’मा इजलाससमक्ष उपस्थित गराइएकाे छ । काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापा भन्छन्, ‘हिजो पक्राउ गरेपछि थप कानुनी प्रक्रिया अघि बढाएका छौं ।’ अदालतबाट म्याद लिएपछि विस्तृत अनुसन्धान सुरु हुने उनले बताए । 

२३ र २४ भदौमा भएको घटनाबारे जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको आयोगले दिएको प्रतिवेदनको कार्यान्वयन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो । त्यसलाई तत्काल अघि बढाउन गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको थियो । त्यसपछि ओली, लेखक पक्राउ परेका हुन् ।

ओलीलाई स्वास्थ्यको कारण त्रिवि शिक्षण अस्पतालमै निगरानीमा राखिएको छ । उनको पक्राउविरुद्ध एमालेले प्रदर्शनसमेत गरिरहेको छ ।

कान्तिपुर

Link copied successfully