भण्डारीले इमेल मार्फत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई राजीनामा पठाएका हुन् ।
काठमाडौँ — हेटौंडा सिमेन्ट उद्योगको सञ्चालक समितिका अध्यक्षबाट नरेन्द्र भण्डारीले आइतबार राजीनामा दिएका छन् । उनी २७ जेठ २०८१ मा तीन वर्षको लागि अध्यक्ष पदमा नियुक्त भएका थिए ।
भण्डारीले इमेल मार्फत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई राजीनामा पठाएका हुन् । ‘वर्तमान परिवर्तित राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै आइतबारदेखि लागू हुने गरी अध्यक्ष पदबाट राजीनामा पेश गर्दछु,’ मन्त्रालयमा बुझाइएको राजीनामा पत्रमा उल्लेख छ ।
हेटौंडा सिमेन्टले हाल क्लिङ्कर उत्पादन कार्य जारी रहेको छ । अध्यक्ष भण्डारीले पुराना मेशिनरी संयन्त्र, प्रविधिगत सीमितता तथा चरम आर्थिक अभावकाबीच पनि उद्योगलाई सञ्चालनमा राख्न निकै चुनौतीपूर्ण रहेको बताए ।
‘जगेडा पुर्जा तथा कच्चा पदार्थको नियमीत आपूर्ति सुनिश्चित गरी उद्योगलाई मूल्य तथा गुणस्तरका दृष्टिले अन्य सिमेन्ट उद्योगहरुसँग प्रतिस्पर्धा वनाउन आवश्यक पुजीगत तथा चालु खर्च ब्यवस्थापनका लागि मन्त्रालयसमक्ष पटक पटक ऋण तथा अनुदानका लागि अनुरोध गरिएको भएपनि ठोस नीति निर्देशन तथा आवश्यक आर्थिक ब्यवस्थापन हुन सकेको छैन,’ उनले भने ।
