‘गाजले भुँइरविन’ चरा र चराविद् क्लाइब बायर्सको त्यो अनौठो संयोग

नेपालमा पहिलो पटक ४३ वर्षअघि चरा देख्ने व्यक्तिको मृत्यु भएको २४ दिनपछि दोस्रो पटक देखिएको अभिलेख ।

चैत्र १५, २०८२

मनोज पौडेल

'Gazelle Ground Irvine' bird seen in Nepal after 43 years

What you should know

लुम्बिनी — ४३ वर्षअघि नेपालमा पहिलो पटक बटुवा चरा गाजले भुँइरविन देख्ने बेलायती प्रख्यात् चराविद् क्लाइब बायर्स हुन् । उनीसँगै आएका अर्का बेलायती चराविद् आलन आदम्सले पनि उक्त चरा पहिलो पटक देखेका थिए । तर, संयोग दुवै जनाको मृत्यु भएपछि दोस्रो पटक उक्त चरा नेपालमा देखिएको छ । 

नेपालमा उक्त चरा चैत १४ (मार्च २८) मा पूर्वी नवलपरासीको अमलटारीस्थित नारायणी नदी छेउमा शनिबार देखिएको हो । चरा अवलोकन गर्ने क्रममा नेचर गाइडहरू मान चौधरी, मनीष महतो, अमृत महतो, दिनेश महतो र कञ्चन महतोले उक्त चरा देखेका थिए । मान चौधरी र मनीष महतोले तस्बिर पनि खिचेका थिए । 

तर, उक्त चरा नेपालमा पहिलो पटक अभिलेख गर्ने चराविद् तथा लेखक क्लाइब बायर्सको ६८ वर्षको उमेरमा मार्च ४ (फागुन २०) मा मृत्यु भएको कुरा बेलायती अनलाइन द गार्जिनमा उनका साथी स्टिफन मोसले अविच्युरी लेखेका छन् ।

बायर्सको मृत्यु भएको २४ दिनपछि लगभग एउटै क्षेत्रमा गाजले भुँइरविन देखिनु अच्चमको संयोग भएको वरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । ‘नेपालमा दैनिकजसो चरा हेर्न र फोटो खिच्न जंगल, वनपाखा, खोलानाला धेरै गइरहन्छन्,’ उनले भने, ‘चार दशकसम्म नदेखिएको चरा अहिले एक्कासि देखिएको हो ।’ 

क्लाइब बायर्स र आलन आदम्सले उक्त चरा पहिलो पटक सन् १९८३ अप्रिल १ मा चितवन निकुञ्जको मध्यवर्ती क्षेत्र मेघौलीमा देखेका थिए । अहिले चितवन निकुञ्जको मध्यवर्ती क्षेत्र अमलटारीको नारायणी नदीमा देखिएको हो । बायर्स सन् १९८१ मा ग्वाटेमालामा अहिले लोप भइसकेको एटिटलान ग्रीब हेर्ने अन्तिम व्यक्तिमध्ये एक थिए । 

गाजले भुँइरविन पहिलो पटक देख्ने अर्का आलन आदम्स पनि चरा देखेको ४५ दिनपछि नेपालबाटै हराएका थिए । उनी अझै फेला परेका छैनन् । उनी सन् १९८३ को मे १४ मा नेपालकै लाङटाङमा पर्ने थारेपातीमा एक्कासि मौसम परिवर्तन हुँदा बाटो बिराएर उनी हराएका थिए ।

बायर्स र आदम्स सँगसँगै पदयात्रामा हुँदा बायर्स भने सुरक्षित फर्केका थिए । दुवै जना नेपालको चरा ‘एक्सपोजर’ गर्न आएका थिए । त्यसपछि हराइरहेका आदम्सलाई समर्पण गर्दै चराविद्‍द्वय लेखक टिम इन्स्किप र क्यारोल इन्स्किपले सन् १९८५ मा ‘अ गाइड टू द बर्ड्स अफ नेपाल’ पुस्तक प्रकाशन गरेका थिए । सन् १९९१ मा उक्त पुस्तकको दोस्रो संस्करण प्रकाशन भएको थियो । 

आठ वर्षकै उमेरदेखि चरा हेर्ने रुचि भएका बायर्स बेलायतका प्रसिद्ध चराका चित्र बनाउने कलाकारमध्येका एक थिए । उनले बनाएका धेरै चराका चित्र ‘हयाण्डबुक अफ द बर्ड्स अफ द वर्ल्ड’मा समावेश छन् । सानोमा एउटा साथीले चराको स्केच बनाए एक डलर दिने भनेपछि उनले चराको स्केच बनाउन सुरु गरेका थिए । 

भारतमा जाडोका बेला आउने आगन्तुक यो चरा बच्चा कोरल्न आफ्नो थातथलोमा फर्कने क्रममा नेपालतिर आराम गर्न रोकिएको हुन सक्ने वरिष्ठ चराविद् बरालले बताए । यो चरा चीन, मंगोलिया र साइबेरियातिर जाने क्रममा यहाँ रोकिएको उनले बताए । नेपालको बाटो भएर गन्तव्यतिर जाने क्रममा आराम गर्न वा बस्न दुई/चार दिन रोकिने चरालाई बटुवा भनिन्छ । भुँइमा बस्न बढी रुचाउने रविन परिवारको चरा हुँदा यसलाई भुँइरविन नामकरण गरिएको हो । यो खुला मैदान, ढुंगे जमिन र खेतबारीमा आहारविहार गर्न मन पराउँछ ।  

बच्चा कोरल्ने समयमा भालेको भाग निलोफ्रुस्रो, अनुहार पाटा कालो तथा फिक्का सुन्तले छाती देखिने हुन्छ । बच्चा कोरल्ने समयमा पोथीको माथिल्लो भाग फुस्रोदेखि पीतरहित खैरो, कण्ठमा गाढा फुस्रो र पुच्छर सेताम्य भएर आकर्षक देखिने वाईल्डलाइफ फोटोग्राफर सञ्जय श्रेष्ठले बताए । नेपालमा हालसम्म ९ सय ३ चराको अभिलेख भएको रेकर्ड छ । 

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully