२२ दिनसम्म उठेन इनिशा विकको शव, न्याय माग्दै अदालतअगाडि धर्ना

धर्नामा सहभागीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।

चैत्र १५, २०८२

ज्योति कटुवाल

Inisha BK's body not raised for 22 days, protest in front of court demanding justice

What you should know

सुर्खेत — १६ वर्षीया इनिशा विकको शव २२ दिनसम्म पनि उठ्न सकेको छैन । मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै आफन्त तथा स्थानीयले आइतबार जिल्ला अदालत अगाडि धर्ना दिएका छन्।

धर्नामा सहभागीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। उनीहरूले अनुसन्धानप्रति अविश्वास जनाउँदै निष्पक्ष र पारदर्शी प्रक्रिया अघि बढाउन दबाब दिएका छन्।

गत फागुन २३ मा भएको इनिशाको मृत्यु प्रकरणमा परिवारले सुरुदेखिनै शंका व्यक्त गर्दै आएको छ। पोस्टमार्टम रिपोर्टप्रति समेत असन्तुष्टि जनाउँदै घरपरिवारले  पुनः अनुसन्धानको माग गरिरहेका छन्। इनिशाको शव अझै प्रदेश अस्पतालको शवगृहमा राखिएको छ।

पीडित परिवारले पोस्टमार्टम रिपोर्टप्रति नै असन्तुष्टि जनाएको छ । ‘मलाई सुरुबाटै शंका लागेको छ, छोरीलाई त्यस्तो अवस्थामा फेला पारेकी मलाई पोस्टमार्टम रिपोर्टप्रति शंका छ,’ इनिशाकी आमा तिलाले भनिन्, ‘यो रिपोर्ट मात्र होइन, अरू रिपोर्ट पनि यस्तै आयो भने हामी आन्दोलनमा उत्रिन्छौं ।’

छोरीको मृत्युको खबरपछि नेपाल आएका बुबा ईन्द्रबहादुरले कम्पनीबाट पाएको बिदा सकिन थालेको बताए । ‘छोरीको मृत्यु भएको आज २२ दिन भइसक्यो,' उनले भने, ‘छोरीले न्याय पाउनेमा शंका हुन थालेको छ ।’ 

प्रहरीले अहिलेसम्म घटनाका बारेमा खुलेर जानकारी नगराएको परिवारको भनाइ छ । ‘घटना झनै रहस्यमय बन्दै जाने हो कि जस्तो लागेको छ,’ ईन्द्रबहादुरले भने, ‘रिपोर्ट पनि सामान्य देखाएका छन्, के–के विषयमा अनुसन्धान गरिएको हो, अत्तोपत्तो छैन । छोरीले न्याय पाउँदिन कि भन्ने लाग्न थालेको छ ।’ घटनाबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)सहित नेपाल प्रहरीका चार टोलीले अनुसन्धान गरिसकेको छ । 

सम्बन्धित समाचारहरु: 

इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष

प्रहरीले बुझायो इनिशा मृत्यु प्रकरणको अनुसन्धान प्रतिवेदन

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Link copied successfully