एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखक पक्राउको घटनालाई प्राथमिकतासाथ प्रकाशन–प्रसारण
What you should know
काठमाडौँ —
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउको घटनालाई अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले प्राथमिकताका साथ प्रकाशन–प्रसारण गरेका छन् । मुख्यतया जेन–जी आन्दोलन, प्रदर्शनकारीमाथिको बर्बर दमन, मानवअधिकार र विधिको शासनलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गरिएको छ । बेलायती समाचार संस्था ‘द गार्डियन’ ले ‘प्रदर्शनकारीको दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्वप्रधानमन्त्री पक्राउ’ शीर्षकमा समाचार लेखेको छ । ‘द गार्डियन’ ले सत्तामा हुँदा नागरिकको आवाज दबाउन राज्य शक्तिको दुरुपयोग गरेको आरोपमा ओलीमाथि अनुसन्धान सुरु भएको भन्दै समाचार प्रकाशित गरेको छ ।
त्यस्तै अमेरिकी ‘सीएनएन’ र जर्मन ‘डीडब्लू’ ले ओली र लेखक पक्राउ घटनालाई जेन–जी आन्दोलनसँग जोडेका छन् । ‘सीएनएन’ ले आन्दोलनमा राज्यपक्षबाट भएको दमन र युवा पुस्ताको विद्रोहले नेतृत्वलाई कानुनी कठघरामा उभ्यायो भन्ने दाबी गरेको छ । ‘डीडब्लू’ ले पनि ‘विरोध प्रदर्शनमा दमनको आरोपमा पूर्वप्रधानमन्त्री ओली पक्राउ’ भन्दै राज्य र युवाहरूबीच भएको झडपलाई समेटेको छ ।
बीबीसी र रोयटर्सलगायतका अन्तर्राष्ट्रिय समाचार संस्थाले पनि ओलीको गिरफ्तारीलाई जेन–जी आन्दोलनमा भएको दमनसँग जोडेर समाचार लेखेका छन् । कतारस्थित ‘अल जजिरा’ ले भने गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जालमा गरेको टिप्पणीलाई समाचारको विषय बनाएको छ । अल जजिराले लेखेको छ, ‘नेपालका पूर्वप्रधानमन्त्री ओली दमनको आरोपमा हिरासतमा : नयाँ गृहमन्त्री भन्छन्– यो न्यायको सुरुवात हो ।’ ओली र लेखक पक्राउ परेलगत्तै मन्त्री गुरुङले सामाजिक सञ्जाल फेसबुकमा ‘यो कसैप्रति प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो’ लेखेका थिए । त्यस्तै ‘अल अरेबिया’ ले पनि जेन–जी आन्दोलन दमनमा तत्कालीन सरकारको ‘भूमिका’ लाई लिएर पक्राउ गरिएको जनाएको छ ।
नेपालको राजनीतिलाई नजिकबाट चासो राख्ने भारतीय सञ्चारमाध्यमले घटनालाई राजनीतिक संक्रमण र नयाँ पुस्ताको उदय भएको टिप्प्णी गरेका छन् ।
‘द हिन्दुस्तान टाइम्स’ पत्रिकाले नेपालको राजनीतिक घटनाक्रमलाई रोचक शैलीमा प्रस्तुत गरेको छ । ‘वालेन्द्रको शपथको भोलिपल्टै जेन–जी प्रदर्शनमा भूमिका रहेको आरोपमा नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ,’ पत्रिकाले लेखेको छ । त्यस्तै ‘द हिन्दु’ ले सिधा र प्रस्ट रूपमा ‘जेन–जी प्रदर्शनकारीको हत्या प्रकरणमा पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक पक्राउ’ भन्दै घटनाको गाम्भीर्यतालाई प्राथमिकताका साथ छापेको छ ।
उत्तरी छिमेकी चीनका सञ्चारमाध्यमले भने कुनै विशेषण वा विश्लेषणात्मक टिप्पणी नगरी घटनालाई मात्र समाचार बनाएका छन् । त्यहाँको सरकारी समाचार एजेन्सी ‘सिन्ह्वा’ र टेलिभिजन ‘सीजीटीएन’ दुवैले लगभग एउटै भाषा प्रयोग गर्दै ‘नेपालका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री पक्राउ’ शीर्षकमा संक्षिप्त समाचार सम्प्रेषण गरेका छन् । ती समाचार संस्थाले ‘दमन’ जस्ता शब्दहरू प्रयोग नगरी नयाँ सरकार गठन भएसँगै जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गरेको जनाएका छन् ।
बंगलादेशको अंग्रेजी दैनिक ‘डेली स्टार’ ले घटनालाई समेट्दै ओलीको राजनीतिक जीवनको विश्लेषणात्मक चित्र प्रस्तुत गरेको छ । ‘नेपालका शक्तिशाली नेता केपी शर्मा ओलीको उदय र पतन’ शीर्षकमा कुनै समय नेपालको राजनीतिमा एकछत्र राज गरेका ओली युवाहरूको आन्दोलनलाई सम्बोधन गर्न नसक्दा कसरी राजनीतिको किनारामा पुगे र पक्राउ परे भन्ने समीक्षात्मक लेख छापेको छ । त्यस्तै जापानी सञ्चारमाध्यम ‘द जापनिज टाइम्स्’ ले पनि ‘नेपालका पूर्वप्रधानमन्त्री दमनको आरोपमा पक्राउ’ शीर्षकमा समाचार प्रस्तुत गरेको छ ।
