अध्यक्ष ओलीको पक्राउपछि बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाडौँ —
भदौ २३-२४ को घटनाको निष्पक्ष र न्यायिक छानबिनका लागि भन्दै सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न एमालेले माग गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउपछि आज बिहान केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकका निर्णयबारे जानकारी दिँदै महासचिव शंकर पोखरेलले पक्राउको विरोधमा आजैदेखि प्रतिवाद सुरु हुने बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र पूर्वगृहमन्त्री रमेश लेखककमाथिको पक्राउलाई उनले प्रतिशोधपूर्ण भनेका छन् । 'यो धरपकड कानुनी शासनविपपरीत हो । तत्काल रिहाइको माग गर्छौं,' उनले भने, 'कार्की आयोगप्रति एमालेको सुरुदेखि नै असहमति र विरोध रहँदै आएको थियो । आयोगको प्रतिवेदन पूर्वाग्रही, प्रतिशोधपूर्ण र अनुसन्धानको न्यायिक सिद्धान्तविपरीत रहको हाम्रो पार्टीको ठहर छ ।
पार्टीले कानुनी तथा राजनीतिक रुपमा प्रतिवाद गर्ने निर्णय गरेको छ । प्रत्येक जिल्ला सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने, भोलि १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने भएको छ । यस्तै, लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलसँग संवाद र सहकार्य तथा नागरिक समाज र आम जनसमुदायसँग सहकार्य गर्ने बैठकले निर्णय गरेको छ ।
केन्द्रीय सचिवालको बैठक उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको थियो ।
जेन–जी आन्दोलनमा प्रदर्शनकारीमाथि दमन गरिएको घटनामा गौरीबहादुर कार्की आयोगले कारबाही सिफारिस गरेअनुसार शनिबार बिहानै ओली गुण्डुबाट पक्राउ परेका छन् । यस्तै, पूर्वगृहमन्त्री रमेश लेखकलाई कटुन्जेबाट प्रहरीले पक्राउ गरेको छ ।
आयोगले उनीहरुलाई लापरबाहीपूर्ण र हेलचेक्र्याइँपूर्ण क्रियाकलाप र व्यवहार गरेका कारण मानवीय क्षति भएको भन्दै आयोगले फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
