सरकारले भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ ।
काठमाडौँ — सरकारले भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ ।शुक्रबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले स्वीकृत गरेको १०० कार्यसूचीको बुँदा नम्बर ७ मा छानबिन समितिको व्यवस्था उल्लेख छ ।
उक्त समितिलाई घटनासम्बन्धी सम्पूर्ण विवरण संकलन, विश्लेषण तथा जिम्मेवार पक्ष पहिचान गरी निश्चित समयसीमाभित्र प्रतिवेदन पेस गर्न कार्यदेश दिने तथा समितिको सिफारिसका आधारमा आवश्यक थप कारबाही प्रक्रिया अघि बढाइने भएको छ ।
यसअघि २३ र २४ भदौको घटना छानबिन गर्न गठन भएको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले आफ्नो प्रतिवेदनमा २४ गतेको अलग्गै संयन्त्र निर्माण गरी छानबिन गर्न सिफारिस गरेको थियो ।उक्त सिफारिसलाई आधार बनाउँदै वालेन्द्र शाह नेतृत्वको सरकारले यस्तो निर्णय गरेको हो ।
सरकारले २३ भदौको दमनमा मात्र अनुसन्धान अघि बढाएको भनी आलोचना भइरहँदा समिति बनाउने कार्ययोजना अघि सारिएको हो ।
