पूर्वप्रधानमन्त्री ओलीलाई पक्राउ गर्न प्रहरी पुग्यो गुण्डु

जिल्ला प्रहरी परिसर, भक्तपुर, उपत्यका प्रहरी कार्यालयको टोली अहिले गुण्डुमा परिचालित छ । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् ।

चैत्र १४, २०८२

गौरव पोखरेल

Police arrive to arrest former Prime Minister Oli

काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गर्न प्रहरी गुण्डुमा पुगेको छ । प्रहरी उच्च स्रोतका अनुसार, गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदनका कार्यान्वयनका लागि उनलाई पक्राउ गर्न लागिएको हो । 

जिल्ला प्रहरी परिसर, भक्तपुर, उपत्यका प्रहरी कार्यालयको टोली अहिले गुण्डुमा परिचालित छ । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परिसकेका छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक पक्राउका लागि गृह मन्त्रालय जाहेरीकर्ता बनेर पत्र पाएपछि प्रहरीले जेन जी आन्दोलन दमन आरोपमा ज्यानसम्बन्धी मुद्दामा अनुसन्धान सुरु गरेको छ ।

प्रहरीले पक्राउका लागि लिखित आदेश मागेपछि राती नै गृहसचिव राजकुमार श्रेष्ठ कानुन सचिव परासर ढुंगानालाई लिएर प्रहरी प्रधान कार्यालय पुगेका थिए ।

यो बीचमा उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । शुक्रबार मध्यरातिसम्म पक्राउ गर्ने विषयमा गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरुसँग छलफल गरेका थिए । 

कार्की आयोगले प्रधानमन्त्री रहेका केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा कारबाही गर्न सिफारिस गरिएको थियो । 

उनीहरूलाई दफा १८१ र १८२ बमोजिम कारबाही सिफारिस गरिएको थियो । मुलुकी फौजदारी संहिताको दफा १८१ मा ‘कसैले लापरबाहीपूर्ण काम गरेर कसैको ज्यान मार्न नहुने’ कसुर छ । त्यस्तो कसुर गर्ने व्यक्तिलाई ३ देखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाखसम्म जरिवाना हुन सक्ने व्यवस्था छ । 

दफा १८२ मा ‘हेलचक्र्याइँपूर्ण कुनै काम गरी कसैको ज्यान मार्न नहुने’ भनिएको छ । यसमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने भनिएको छ । 

यस्तो छ पक्राउ पूर्जी

Police arrive to arrest former Prime Minister Oli

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully