शपथ लिएकै दिन ओली लेखकलाई पक्राउ गर्न चाहन्थे गृहमन्त्री सुधन, भन्छन्ः न्यायको सुरुवात् भएको छ

त्यसका लागि उनले शुक्रबार अपराह्न मन्त्रालयमा कार्यभार सम्हालेलगत्तै नेपाल प्रहरी प्रमुख आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख राजु अर्यालसँग छलफल थालेका थिए ।

चैत्र १४, २०८२

गौरव पोखरेल

Home Minister Sudhan wanted to arrest Oli writer on the day of his swearing-in, says: Justice has begun

काठमाडौँ — गृहमन्त्री सुधन गुरुङले जेन–जी आन्दोलनमा भएको मृत्युलाई लिएर फौजदारी कसुरमा कारबाही सिफारिस गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई शपथ लिएकै दिन पक्राउ गर्ने तयारी गरेको खुलेको छ । 

त्यसका लागि उनले शुक्रबार अपराह्न मन्त्रालयमा कार्यभार सम्हालेलगत्तै नेपाल प्रहरी प्रमुख आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी प्रमुख राजु अर्यालसँग छलफल थालेका थिए । तर, सुरक्षा प्रमुखहरुले कानुनी प्रक्रिया पूरा गरेर मात्र अघि बढ्नुपर्ने सुझाव सुरुवातमा दिएको उच्च सुरक्षा स्रोतले कान्तिपुरसँग बताएको छ । 

तर, गुरुङले २३ र २४ भदौमा भएको घटनाबारे छानबिन गर्न गठित उच्चस्तरीय आयोगको सिफारिस कार्यान्वयन गर्ने निर्णय भइसकेको भन्दै तत्काल पक्राउ गर्नुपर्ने अडान राखेका थिए । मध्यरातिसम्म सुरक्षा प्रमुखहरुबीच यसबारे छलफल चलेको थियो । राति गृहमन्त्री गुरुङ स्वयम् प्रहरी प्रधान कार्यालय, नक्साल पुगेको थिए र उच्च सुरक्षा अधिकृतहरुसँग थप छलफल थालेका थिए । 

ओली र लेखकलाई पक्राउ गर्न आइपर्नसक्ने सुरक्षा चुनौतीबारे छलफल गर्न उनले आईजीपीद्वयसँगै उपत्यका प्रहरी प्रमुख एआईजी ईश्वर कार्की र सशस्त्र प्रहरीको अपरेशन विभाग प्रमुख एआईजी गणेश ठाडालाई बोलाएका थिए । प्रहरी प्रधान कार्यालयमा उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्कासमेत पुगेका थिए । 

त्यसपछि दुवै सुरक्षा निकायले आफ्ना सबै सुरक्षाकर्मीलाई बर्दीमा शनिबार बिहानैदेखि हाजिर हाजिर हुन सर्कुलर जारी गरेको थियो । 

राति नै कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगानालाई पनि छलफलमा बोलाइएको थियो । त्यसपछि जाहेरी लिएर मात्र पक्राउ गर्ने प्रक्रिया अघि बढाउने निष्कर्ष निकालिएको थियो । त्यसअनुसार प्रहरीले गृह मन्त्रालयबाटै जाहेरी लिएर ओली र लेखकलाई पक्राउ गर्ने प्रक्रिया अघि बढाएको थियो ।

कानुनी विकल्पबारे सुझाएपछि सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै शनिबार बिहान पक्राउ गर्न उपयुक्त हुने सुझाव सुरक्षा प्रमुखहरुले दिएका थिए । त्यसकै कार्यान्वयनका लागि शनिबार बिहानै प्रहरी ओलीको निवास गुण्डु पुगेको थियो । र, पक्राउ पूर्जी दिएर उनलाई पक्राउ गरेको छ । 

गृहमन्त्री लेखक पनि पक्राउ परिसकेका छन् । पक्राउ गरिसकेपछि गृहमन्त्री गुरुङले कानुनभन्दा माथि कोही नहुने भन्दै न्यायको सुरुवात् भएको बताएका छन् । सुशीला कार्कीको नेतृत्वमा सरकार बनेका बेला समेत उनले ओली र लेखकलाई पक्राउ गर्न दबाब दिएका थिए । प्रहरीमा जाहेरी दिने बेलासमेत उनी स्वयम् पुगेको थिए । तर, तत्कालीन सुरक्षा प्रमुसखहरुले संयमित कदम चाल्नुपर्ने सुझाव दिएपछि पक्राउ गर्ने प्रक्रिया रोकिएको थियो ।

गौरव पोखरेल राष्ट्रिय सुरक्षा मामिला, सुशासन र समसामयिक विषयमा कान्तिपुरका लागि रिपोर्टिङ गर्छन् ।

Link copied successfully