स्वास्थ्यका कारण ओली अस्पतालमै रहने

गुण्डुबाट पक्राउ परेका ओलीको प्रारम्भिक स्वास्थ्य परीक्षणमा समस्या देखिएपछि थप उपचारका लागि अस्पतालमै निगरानीमा राखिएको अधिकारीहरूले बताएका छन्।

चैत्र १४, २०८२

कान्तिपुर संवाददाता

Oli to remain in hospital due to health reasons

काठमाडौँ — पूर्वप्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमै रहने भएका छन्।

प्रहरीले शनिबार बिहान गुण्डुबाट पक्राउ गरेर ल्याएपछि उनलाई स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल लगेको थियो। चिकित्सकहरूले प्रारम्भिक जाँचपछि ओलीलाई निगरानीमै राखेर उपचार गर्नुपर्ने बताएका हुन्।

त्यसपछि अस्पताल भर्ना गरिएको काठमाडौं प्रहरीका प्रवक्ता पवन भट्टराईले कान्तिपुरलाई बताए। चिकित्सकहरूले मुटु र मिर्गौलासम्बन्धी समस्याका कारण अस्पतालमै राख्नुपर्ने बताएका हुन्।

प्रहरीले उनलाई अब अस्पतालमै निगरानीमा राख्नेछ भने थप कानुनी प्रक्रिया अघि बढ्छ। आइतबार ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई समेत अदालतमा हाजिर गराएर थप अनुसन्धानका लागि म्याद लिइनेछ।

सुरक्षा अधिकृतहरूका अनुसार, ज्यानसम्बन्धी कसुरको अनुसन्धानमा पूर्वप्रधानमन्त्री तहका व्यक्तिलाई पक्राउ गरिएको यो पहिलो घटना हो।

गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयपछि गृहमन्त्री सुधन गुरुङले शुक्रबार मध्यरातिसम्म सुरक्षा प्रमुखसँग छलफल गरेका थिए। त्यसपछि यो गिरफ्तारी भएको हो।

कान्तिपुर

Link copied successfully