प्रधानमन्त्री बालेन्द्रको पुर्ख्याैली गाउँ एकडारा गाउँपालिकाका बासिन्दाले लड्डु बाँडेर खुसी साटे । शुक्रबार दिनभरी स्थानीयले गाउँ भएर जाने यात्रु र सवारी साधनलाई रोकेर लड्डु खुवाए ।
महोत्तरी — राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री बनेपछि उनको पुर्ख्याैली गाउँ एकडारा गाउँपालिकाका बासिन्दाले लड्डु बाँडेर खुसी मनाएका छन् ।
शाह प्रधानमन्त्री नियुक्त भएपछि उत्साहित भएका उनीहरुले शुक्रबार बधाई तथा शुभकामना दिँदै 'अबकी बार जनताके सरकार' को नारा लगाए । शाहको जन्मथालोमा शुक्रबार दिनभरी स्थानीयले गाउँ भएर जाने यात्रु र सवारी साधनलाई रोकेर लड्डु खुवाएको स्थानीय नवल पासमानले बताए ।
उनले भने,‘मधेशीया छौरा प्रधानमन्त्री बइनगेलै त सब खुसी है । (मधेशीको छोरा प्रधानमन्त्री बनेेकाेमा सबै खुसी छाैं) ।’ स्थानीय युवाहरुले रकम संकलन गरेर बिहानैदेखि लड्डु बनाउन लगाएको र सपथपछि खुसीयालीमा वितरण गरिएको साहले बताए ।
एकडाराका स्थानीय बद्रीनारायण साहले बालेन्द्र प्रधानमन्त्री बनेपछि उत्साहित भएको बताए । 'देशमा बढेको भ्रष्टाचार बालेन्द्रले अन्त गर्ने हाम्रो विश्वास छ, अब नेपालमा काखापाखा हुँदैन भन्ने विश्वास छ,’ उनले भने ।
रामनवमीको दिनमा शाह प्रधानमन्त्री बनेको खुसियालीमा साँझ महादेव मन्दिरमा दीप प्रज्वलन गरिएको स्थानीय शंकर पासमानले बताए । स्थानीय विशेश्वर साहले बालेन्द्र प्रधानमन्त्री बनेपछि एकअर्कालाई अबीर लगाउनुको साथै पटका पड्काएर युवाहरुले खुसी साटेको बताए ।
एकडारासँगै महोत्तरीका अन्य क्षेत्रमा पनि स्थानीयले खुसीयाली मनाएका छन् । लामो समयदेखि भ्रष्टाचार, कुशासन र बेरोजगारीजस्ता समस्याले थलिएको मुलुकलाई अब नयाँ दिशामा लैजान सकिने विश्वास बढ्दै गएको स्थानीय युवाहरुले बताइरहेका छन् ।
